बिर्तामोड।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको काँकरभिट्टादेखि मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रफलभित्र सीसी क्यामेरा जडान गरिने भएको छ ।
झापामा पछिल्लो समय अत्यधिक सवारीको चापसँगै दुर्घटना हुने क्रम बढेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा सीसी क्यामेरा जडान गर्न लागिएको हो । सडकमा सीसी क्यामेरा जडान गर्दा प्रमाणमुखी अनुसन्धानमा समेत सहयोग पुग्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले आइतवार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्था र भावी कार्ययोजनाको विषयमा जानकारी गराएका थिए । उनले स्थानीय निकायसंगको साझेदारीमा पूर्वको काँकरभिट्टादेखि पश्चिमको मावा खोलासम्मको सडकमा सीसी क्यामेरा जडान गर्ने बताए । जसका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
राजमार्गको मुख्यचौक र जनघनत्व वढी हुने क्षेत्र, वन तथा दुर्घटना बढी हुने ठाउँमा सीसी क्यामेरा जडान गर्छाै– प्रहरी उपरीक्षक कोइरालाले भने– ‘काँकरभिट्टाका केही थान, बिर्तामोड, सुरुङ्गा र दमकका केही स्थानमा सीसी क्यामेरा यसअघि नै जडान भएका छन्, अब बाँकी ठाउँमा क्यामेरा जडान गर्छाै ।’
प्रहरीले अहिले ५५ किलोमिटर सडक क्षेत्रको सम्भाव्यता अध्ययन गरिरहेको र ५०देखि ६० ठाउँमा सीसी क्यामेरा जडान गर्दा हुन सक्ने अवस्था छ– प्रहरी उपरीक्षक कोइरालाले भने– ‘केही दिन भित्रबाटै सडकमा सीसी क्यामेरा जडानको काम अघि बढाउँछौं ।’
सीसी क्यामेरा जडानका लागि कनकाई नगरपालिकाले २० लाख रुपैयाँ दिने भएको जानकारी दिँदै प्रहरी उपरीक्षक कोइरालाले भने– ‘चारआली क्षेत्रको सडकखण्डमा सीसी क्यामेरा जडानका लागि मेचीनगरपालिकाले समेत सात लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको छ ।’
इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् रहँदा तत्कालीन प्रहरी नायव उपरीक्षक कोइरालाले पूर्व– पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिकाको बुट्टावारीदेखि कनकाई नगरपालिकाको लक्ष्मीपुर सडकखण्डमा सीसी क्यामेरा जडान गराएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीको कार्यक्षेत्र भित्रको भू–भागमा जडान गरिएको सीसी क्यामेराको प्रभावका कारण सवारी दुर्घटनामा कमी र प्रमाणमुखी अनुसन्धानमा सहज भएपछि सडकमा सीसी क्यामेरा जडान कार्यलाई अघि बढाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
१ नम्वर प्रदेश सरकार, प्रदेश प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका स्थानीय तह, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी,सरोकारवाला संघ–संस्थाको सहयोगमा सडकमा तत्काल सीसी क्यामेरा जडान गरिने बताइएको छ । सडकमा सीसी क्यामेरा जडान गरेपछि आपराधिक क्रियाकलापका घटनामा स्वतः कमी आउने प्रहरीको दावी छ । प्रहरी उपरीक्षक कोइरालाले यसअघि अनारमनीमा डीएसपी भएर काम गर्दा ६४ वटा सीसी क्यामेरा जडान गर्दै बिर्तामोडलाई सुरक्षित राख्न उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
सडकमा सीसी क्यामेरासंगै ठूला तथा साना सवारीमा समेत अगाडिको भागमा अनिवार्य रुपमा डेक्स वोर्ड क्यामेरा जडान गर्न लगाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । जसले गर्दा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने र चालकले लापरवाही गरी सवारी चलाउन नपाउने बताइएको छ । मुख्य राजमार्गमा चल्ने सवारी साधनमा डेक्स वोर्ड जडान गर्ने र राजमार्गमा हुने सवारी दुर्घटनामा दुई पक्षलाई मिलापत्र गराउन सहज हुने बताइएको छ ।
गो–प्रो क्यामेराको प्रयोग
प्रहरीले भीड नियन्त्रणको समयमा तथा अन्य प्रहरी काम कारवाहीका लागि गो–प्रो क्यामेरा प्रयोग गर्ने भएको छ । जसका कारण अनुसन्धानमा सहज पुग्ने बताइएको छ । फिल्डमा खटिने प्रहरी कर्मचारीलाई हामी ग्रो–प्रो क्यामेरा दिएर पठाउँछौं, उनीहरुले दिनभरिको वस्तुगत अवस्था खिचेर ल्याउँछन् ।
त्यसैलाई आधार मान्दै अनुसन्धानलाई थप प्रमाणमुखी बनाउँछौं । विशेष गरी गो–प्रो क्यामेरा भीड नियन्त्रणका लागि प्रभावकारी हुने प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
अब भिडियोबाटै वयान
अनुसन्धानलाई अझ सहज बनाउन प्रहरीले भिडियो कन्फ्रेन्स सो रुमको स्थापना गर्ने भएको छ । इलाका प्रहरी कार्यालय अनारमनी, दमक, काँकरभिट्टा र गौरीगञ्जमा कन्फ्रेन्स हल बनाइन्छ– प्रहरी उपरीक्षक कोइरालाले भने– यसो गर्दा थुनुवाले सोझै इलाकाबाट श्रीमानसँग बयान दिन सक्छन् ।
जसका कारण समयको बचत र अनुसन्धानमा लागत समेत घट्छ । प्रहरी उपरीक्षक कोइरालाले भने– मुद्दा चल्ने इलाकामा कन्फ्रेन्स हल तयार गरेपछि प्रहरीले थुनुवालाई लिएर अदालतसम्म पुग्नुपर्ने बाध्यता हट्छ । जसले गर्दा जाने आउने खर्च, जनशक्ति र समयको समेत बचत हुन्छ ।
लैङ्गि हिंसा न्यूनीकरणलाई प्राथमिकता
प्रहरीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बोक्सी आरोप, जातीय छुवाछूत लगायतका सामाजिक अपराध न्यूनीकरणका लागि विशेष पहल गर्ने भएको छ । जसका लागि समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रहरी उपरीक्षक कोइरालाले बताए ।
स्थानीय तहसंग साझेदार गर्दै लैङ्गिक हिंसा, घरेलु हिंसा, बोक्सीको आरोप, जातीय छुवाछूत तथा भेदभाव लगायतका सामाजिक अपराधहरुको न्यूनीकरणमा सहयोग पुग्ने बताइन्छ ।
दुव्र्यसनी नियन्त्रण गर्न विद्यालय लक्षित कार्यक्रम
पछिल्लो समय झापामा लागूऔषध दुव्र्यसनीका घटना बढेको पाइएको छ । प्रहरीले दिनहँु लागूऔषध प्रयोगकर्ता र कारोवारमा संलग्नलाई पक्राउ गर्दै कानूनी कारवाही अघि बढाए पनि लागूऔषध प्रयोग गर्नेको संख्यामा कमी आएको छैन ।
लागूऔषध दुव्यर्सन कम गर्न विद्यालयस्तरबाटै सचेतना शिक्षा आवश्यक रहेकाले त्यसतर्फ प्रहरीले विशेष अभियान चाल्ने प्रहरी उपरीक्षक कोइरालाले बताए ।
योसँगै प्रहरीले भन्सार चोरी तस्करी, पैठारी तथा निकासीमा नियन्त्रण, फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउ, अवैध मदिरा, सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तुको सेवन हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।





























