अन्त्य :
यस आलेखमा पंक्तिकारले नयाँ लेखन शैलीको प्रयोग गरेर प्रारम्भमै अन्त्यको प्रसंग उल्लेख गरेको छ । अर्थात् हिजो आजको धरातलीय यथार्थ (न्चयगलम च्भबष्तिथ) भनेको इतिहासमै पहिलो पटक लोकतान्त्रिक भनाउँदो नेपाली कांग्रेसमा वैचारिक खडेरी लागेर शीर्षतहदेखि जिल्ला तहका नेताहरुसम्म वैयक्तिक स्वार्थमा रुमल्लिएका छन् । उनीहरुको आँखामा पट्टि बाँधिएको छ कालो बाक्लो टालोले ।
उनीहरु यस अवस्थालाई बुझ्न सकिरहेका छैनन् । उनीहरुले आफूले गल्ती नै नगरेको ठान्छन् । एकअर्कालाई दोषी देख्छन् । आफ्नो दोष देख्दैनन् । एक ठाउँमा बसेर आपसमा विचारको मन्थन गर्नु त कता हो कता बोलीचाली नै बन्द गरेर सार्वजनिक स्थलमा एकअर्काविरुद्ध विषबमन गरिरहेका छन् ।
जनताको सर्वोत्तम हित नै दलका नेताहरुमा हुनुपर्छ । सत्तामा पुग्न, प्रधानमन्त्री वा मन्त्री हुनमात्र राजनीति गर्नुहुन्न । जनतालाई समृद्ध र सुखी बनाउन राजनीति गर्नुपर्छ भन्ने कांग्रेसका आदर्श पुरुष वीपी कोइरालाको विचारलाई आत्मसात गरेर अघि बढ्नुको बदला मेरो पद गुम्ने भयो, मेरो जिमीदारी खत्तम हुने भयो भनेर कंस कुटनीति अँगाल्नु कांग्रेसको सिद्धान्त र विचार होइन । तर, केही बर्षदेखि हुन थालेको छ यस्तै ।
शीर्ष नेताहरुबीचको यो तिक्ततालाई मेटेर अगाडि बढ्न केही चिन्तन भएका उनीहरुका आसेपासे नेताहरुले पहल गर्नुपर्ने हो तर, उनीहरु पनि त्यतातिर ध्यान दिइरहेका छैनन् । यस्तो हुनु भने कै कुनै पनि दलमा चिन्तनको खडेरी हो । विश्लेषण र व्याख्या गर्नेहरुमा पनि आएको विचलन हो । त्यसैले यसअघिको हप्तामा पंक्तिकारले कांग्रेसको होइन कांग्रेसीहरुमा रडाको भनेर एक आलेख लेखेको थियो । कांग्रेसभित्र यस दुरावस्थाको अन्त्य जरुरी छ र हुन्छ । आशा गरौं ।
सैद्धान्तिक विश्लेषण :
कांग्रेसले २०१२ सालको महाधिवेशनपछि समाजवादी सिद्धान्त बोकेको हो । त्यसपछि नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद भयो । एउटा प्रजातान्त्रिक दलले समजवादी धार ग्रहण गर्यो । त्यसबेला संसारमा साम्यवादी धारले आफ्नो पखेटा फिंजाउन थालेको थियो ।
रुसमा साम्यवादको प्रयोग चरमोत्कर्षमा पुगेको थियो । चीनमा माओत्सेतुङले समाजवादीहरुलाई लखेटेर साम्यवादी शासन व्यवस्था शुरु गरेर त्यो पनि वयस्क हुनतिर लागेको थियो । उत्तर कोरियामा अहिलेका सर्वोच्च नेता र प्रशाशकका हजुरबाबु किम इल सुङले साम्यवादी शासन व्यवस्था स्थापना गरेर जुछे विचारधाराको प्रयोग गरिरहेका थिए । पूर्वी युरोपका धेरै देशमा साम्यवादी शासन व्यवस्था स्थापना गर्न र त्यसलाई टिकाउन रुसले सम्पूर्ण शक्ति लगाएको थियो ।
यी सबै अवस्थाबाट जनताले खान त पाउँथे होलान् । तर, उनीहरुलाई राजनीतिक स्वतन्त्रता थिएन र हुँदैनथ्यो ।
मान्छेलाई पशुवस्तु सरह खान लाउन दिएर काममा जोताउनु नै सबैथोक भन्ने शासन सञ्चालन गर्ने कम्युनिष्ट नेताहरुको सोच थियो । कम्युनिष्टका केन्द्रदेखि तल्लो तहसम्मका नेताहरुको जालोले आम जनतालाई भेडा, बाख्रा सरह काममा जोताउने गरेका थिए । उनीहरुलाई बोल्ने, लेख्ने, आफू खुशी घुमफिर गर्ने, खाने, रमाउने, सुत्ने स्वतन्त्रता थिएन ।
अर्कोतिर अमेरिका र बेलायतको जस्तो पुँजीवादी शासन व्यवस्था पनि हाराहारीमा चलिरहेको थियो । धनी मान्छे अझ धनी हुँदै जाने, गरीब अझ गरिब हुँदै जाने । केही सीमित व्यक्तिको हातमा देशको जग्गा जमिनदेखि अन्य सम्पत्ति थुप्रिने । उनीहरु विलासी जीवन बिताउने । अरु खान नपाएर भोकभोकै मर्ने । बोल्न पाएर पनि धनीहरुको जालो भत्काउन नसक्ने कानूनी र शासन व्यवस्थाको प्रारुप थियो । केही धनीहरुले आम जनतालाई पशुवत् व्यवहार गर्न पाउने प्रणाली नै स्थापित थियो । वर्ग भेद थियो । जाति भेद थियो । लिंग भेद थियो ।
यी दुबै शासन व्यवस्थाले राजनीतिक चिन्तन बोकेका केही नेताहरुलाई पिरोलिरहेको थियो । उनीहरुमा कुन शासन प्रणाली भएको राजनीतिक सिद्धान्तका आधारमा स्थापित शासन व्यवस्थाले आमजनता नै मालिक हुन्छन् र उनीहरु स्वतन्त्र पनि हुन्छन् र खान लाउने दुःखबाट पनि मुक्त भएर सुखी जीवन बिताउन सक्छन् भन्ने चिन्ताले सतायो । उनीहरुले अध्ययन गरे । साम्यवाद र पुँजीवाद दुबैको तोड भएको राजनीतिक सिद्धान्त कुन हुन्छ भनेर घोत्लिन थाले । पुँजीवादको व्यापक प्रभाव भएको तर साम्यवादको सोच आइनसकेको अवस्थाबीचमा केही चिन्तकहरुले सुधारवादी कुराहरु ल्याएका थिए । पछि त्यसैलाई समाजवादको शुरुवात पनि मानिन्छ ।
तर, ती समाजवादीहरुले वर्गीय अध्ययन र विश्लेषण गरिरहेका थिएनन् । माक्र्स र एंगेल्सले समाजको अध्ययन गरेर सन् १८४८ मै कम्युनिष्ट मेनिफेस्टो निकालिसके पनि त्यसको व्याख्या र विश्लेषण राम्ररी भएको थिएन । पँुजीवादमा सुधार हुनुपर्छ, मजदुरमाथिको शोषण अन्त्य हुनुपर्छ । कामको आधारमा ज्याला पाउनुपर्छ भनेर आवाज भने उठिरहेको थियो । संसारभरि नै राजाशाही थियो । उनीहरुको शोषणले पराकाष्ठा नाघेको थियो । एकाध राजाहरु उदारवादी भए पनि अधिकांश राजाहरु शोषणमै विश्वास राख्थे । राजतन्त्रविरुद्ध र शोषणविरुद्धको आवाजकैबीच सुधारवादी धारको चिन्तन शुरु भएको थियो १९औं शताब्दिमै ।
यसै आधारमा केही चिन्तकले सोचेको समाजवादी धार र केही चिन्तकले सोचेको साम्यवादी धारको द्वन्द्व चल्न थालेको थियो । त्यही बीचमा रुसमा जारशाही खत्तम भयो । सुधारवादीहरुको नेतृत्वमा शासन शुरु भयो । त्यसले खासै सुधार गर्न तिरभन्दा परम्परागत ढंगमै अघि बढ्न थालेको अवस्थामा रुसमा लेनिनको नेतृत्वमा सुधार चाहने नेताहरुलाई पाखा लगाएर अधिनायकवादी शासन शुरु भयो ।
यो अवस्था देखेका र सुनेका त्यसबेलाका विश्वका राजनीतिक नेताहरुले कुन राजनीतिक सिद्धान्त अनुसारको शासन व्यवस्थाले मान्छेले खान लाउन पनि पाउँछ र बोल्न लेख्न पनि पाउँछ । उसले चिन्तन गर्न पनि पाउँछ । देशमा गरिबी घटेर जान्छ । लगभग आर्थिक समानता आउँछ । त्यो केही व्यक्तिको निर्देशनमा मात्र चल्दैन । शासन व्यवस्थामा मालिक र नोकरको जस्तो व्यवहार हुँदैन । आवधिक निर्वाचन पनि हुन्छ । जनताले आफूले चाहेको प्रतिनिधि छानेर शासन गर्न पठाउन सक्छन् ।
उसले राम्रो काम नगरे अर्को निर्वाचनमा अर्कोलाई छान्न पाउने अधिकार राख्छन् । राजनीतिक स्वतन्त्रतासहितको आर्थिक समानता हुन्छ अर्थात् गरीब र धनीबीचको खाडल अत्यन्त कम हुन्छ, मान्छे मान्छेबीच भेदभाव हुँदैन, उँचनीच हुँदैन । छुवाछुत हुँदैन । लिंगभेद हुँदैन । जाति भेद हुँदैन भन्ने चिन्तन कै बीच प्रजातान्त्रिक समाजवादको सूत्रपात भयो ।
त्यही प्रजातान्त्रिक समाजवाद, नेपालको राजनीतिक विकासको अवस्था, राजतन्त्र भएको मुलुक, विविध जातजाति, धर्म, संस्कार र संस्कृति, विविध भाषा, सामाजिक बनौट, भौगौलिक अवस्था आदि भएको मुलुक नेपालको लागि उपयुक्त हुन्छ भन्ने ठानेर नेपाली कांग्रेसका संस्थापक मध्येका एक नेता र विचारक वीपी कोइरालाले आफ्नो दलको राजनीतिक सिद्धान्त बनाउन प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव २०१२ सालको महाधिवेशनबाट सर्वसम्मतिले पारित भयो । त्यहींबाट कांग्रेस प्रजातान्त्रिक समाजवादी राजनीतिक दल भयो ।
यस सिद्धान्तलाई शासन व्यवस्था र समाजमा रुपान्तरण गर्न यसका आर्थिक सामाजिक पाटा छन्, बाटा छन् । शैली र कार्यान्वयनका कुरा छन् । औद्योगिक नीति, भूमि व्यवस्थापन नीति, उत्पादन र वितरण नीति, शैक्षिक, सामाजिक, सांस्कृतिक नीतिहरु छन् । समयानुकूल सुधारका कुरा पनि सँगसँगै लाने नीति पनि छन् । यसतर्पm अब कांग्रेसका विचारक नेताहरु, समाजवादी विचारकहरु, बुद्धिजीवीहरु, बौद्धिक व्यक्तित्वहरुले चिन्ता लिएर चिन्तन गर्ने बेला आइसकेको छ । अब ढिलो नगरौं । आज यत्ति नै फेरि–फेरि पनि बहस हुँदै जानेछ ।


























