दशगजामा सुपारीको धन्दा, वास्तविक तस्कर को ?

२४ पुष २०७६, बिहीबार मा प्रकाशित

नरेन्द्र ढकाल / झापा ।

आफैंले जन्माएको कुन सन्तानको जन्ममिति बिर्सेलान् र आमा–बुबाले ? तर, पुस १७ गते जन्मेकी एक परिवारकी कान्छी छोरीको जन्मदिन आमाबाबुले नै बिर्सिएका छन् । आफ्नो जन्मदिन आमा–बाबुले बिर्सिएपछि उनी रुन्छिन् ।
गरिबीको चपेटामा परेको परिवारलाई ऋण तिर्न र परिवार पाल्न धौ–धौ परिरहेको छ । घरको मुख्य मान्छे नै रक्सीको तालमा हिँडेपछि त्यो परिवारको अवस्था कस्तो होला एकपटक सोच्न बाध्य बनाउँछ । अनि समाजका गन्नेमान्नेहरुले नै चलाएको धन्दामा मजदुरी गर्नेहरु तस्करको संज्ञा पाउँछन् । उनीहरु जीवनभर तस्करी नै गर्न बाध्य हुन्छन् । सीमा क्षेत्र दशजामा नेपालीले भोग्नु परेको पीडा र व्यथालाई पत्रकार पर्वत पोर्तेलले नाटक मार्फत जीवन्त बनाएका छन् ।

ठूला घुसखोरी, ठूला तस्करहरु, कमिशन खोरहरु र राज्यको ठूला स्थानमा पहुँच जमाएर दलाली गर्नेहरुलाई कसैले केही गर्न नसक्ने, तर दिनरात मजदुरी गर्ने मजदुरहरुलाई तस्करको संज्ञा दिँदै उनीहरु माथि हुने दुव्र्यवहार, उनीहरुले भोग्नु परेको पीडालाई पत्रकार पोर्तेलले टपकै टिपेका छन् । सु–सु–पारी भन्ने वाक्य बोल्दै मजदुरहरुलाई सुपारीका बोराले गिज्याउँदा पूर्वीनाका काँकरभिट्टा लगायतका स्थानबाट हुने सुपारी तस्करीलाई उदाङ्गो बनाई दिएको छ नाटकले । आखिर भन्सार र प्रहरीले तीनै मजदुरहरुलाई तस्करको संज्ञा दिने र ठूला तस्करहरुको विषयमा मौन रहनुले यसको वास्तविकता भने अझ रहस्यमय बनाई दिएको छ ।

काँकरभिट्टास्थित परिवर्तन थिएटरमा पत्रकार पोर्तेलद्वारा लिखित नाटक ‘दशगजा–एक यथार्थ’को मञ्चन भइरहेको छ । पोर्तेलले नाटकमार्फत सीमा क्षेत्रमा हुने वारिपारि धन्धामा मजदुरी गर्ने सर्वसाधारण र कारोवारको नेपथ्यमा रहने मालिक मध्ये ‘को चाहिँ तस्कर हुन्’ भन्ने गम्भीर प्रश्नमा समाजलाई घोत्लिन बाध्य बनाएका छन् । नाटकको निर्देशन सिल्पी थिएटरका घिमिरे युवराजले गरेका छन् भने कविता नेपाल, लीला बिष्ट, बिमला चिमरिया, अभिषेक गर्तौला, एञ्जल खड्का, पूजा आचार्य, प्रतिक्षा आचार्य, राहुल ठाकुर, नवराज पाठक, मदन चिमरिया र कविता पौडेलले अभिनय गरेका छन् । अभियनमा अब्बल रुपमा एन्जलको प्रस्तुति देख्न सकिन्छन् ।

नाटकलाई सशक्त बनाउन उनको भूमिका महत्वपूर्ण देखिएको छ । नाटकले सीमामा खास तस्करी गर्नेहरु सत्ता र शक्तिको आडमा निर्धक्क धन्धामा लिप्त हुने गरेको र जीविकाका लागि ज्यान माया मारेर मजदुरी गर्ने विपन्न व्यक्तिहरुलाई तस्करीको बिल्ला भिराउने गरिएको यथार्थलाई पर्दाफास गरिदिएको छ ।

पुस १७ गतेदेखि शुरु भएको नाटकको मञ्चन हरेक दिन दिउँसो १ बजे र ४ बजे गरी दुईपटक भइरहेको पत्रकार पोर्तेलले जानकारी दिए । एक घण्टा १० मिनेट लामो नाटकमा दर्शकलाई सीमा क्षेत्रमा हुने वास्तविकता हेर्दाहेर्दै नाटक सकिएको पत्तै हुँदैन । नाटकले दशगजा क्षेत्रको भूमिलाई समेटेको छ भने भारतीय प्रहरीले नेपाली चेलीलाई गर्ने दुव्र्यवहार पनि छर्लङ्ग बनाई दिएको छ । नेपाली चेलीको गोप्य अंगमा छँुदा समेत प्रतिकार गर्न नसक्नुले दर्शकको आङ्ग जिरिङ्ग बनाई दिन्छन् ।

भारतको मणिपुरको इम्फालमा आतंकबादीबाट नेपालीले भोग्नुपरेको पीडालाई पनि स्थान दिएको छ । दशगजा क्षेत्रमा बसोबास गर्दै समय अनुसारको काम गर्नुपरेको पीडालाई छर्लङ्ग बनाइएको छ । काँकरभिट्टास्थित बसपार्कबाट शुरु भएको मजदुरीको दैनिकीलाई अन्त्यसम्म साँच्चै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । दशगजा क्षेत्रका मनिचेन्जरको अवस्था, होटलमा माल पाइन्छ भनेर ग्रहाकलाई ढुक्क पारेर ल्याउनुपर्ने अवस्था मात्र होइन चेलीबेटी बेचबिखनको विषय समेत सांकेतिक रुपले उठान गर्न खोजिएको छ ।

पैसाको लोभमा नेपाली सञ्चारमाध्यमले गलत विज्ञापनलाई प्रकाशन तथा प्रशारण गरिरहेको विषयलाई पत्रकार पोर्तेलले नाटक मार्फत उठान गरेका छन् । चार कक्षा चारपटक फेल गरेकी महिला कसरी पानीट्याङ्कीको खालीट्याङ्की मेडिकल हलको डाक्टर भइन् भन्ने प्रश्नले नेपालीहरुको स्वास्थ्यको विषय पनि गहन ढंगले उठान गरेको पाइन्छन् । पायल्स, फिस्टुला लगायतका विभिन्न भ्रामक विज्ञापनको विषयमा नाटकमा पत्रकारिताको विश्वसनीयता माथि नै प्रश्न खडा गरिएको छ ।

विशेषगरी सुपारी तस्करीको विषयलाई प्राथमिकता दिइरहँदा यसको मुख्य व्यक्ति गौण हुनु र मजदुरलाई तस्करको संज्ञा दिँदै उनीहरु माथि शोषण गरिनुले दशगजाको यथार्थको चित्रण गरिएको छ । गरिबी कै कारण कतिपय परिवर फुटको अन्तिम अवस्थामा पुगेको जीवन्त विषय वस्तु उठान गर्दै दर्शकहरुलाई एक पटक सोच्न बाध्य बनाएको छ नाटक दशगजाले ।

यसले सीमा क्षेत्रको पीडा र व्यथालाई उदाङ्गो बनाई दिएको छ । वारि–पारी गर्दै गर्दा पक्राउ पर्नु अनि श्रीमान्ले परिवार सम्हाल्नका केही लचकता देखाएर पारिवारिक मायालाई कायम राख्नुले नाटक साँच्चै मार्मिकरुपमा अन्त्य भएको छ । नाटक आगामी २६ गतेसम्म प्रदर्शन हुने पत्रकार पोर्तेलले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here