बनियानीमा साढे ६ करोडको स्वास्थ्य केन्द्र

0
1240

भद्रपुर।

भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकाभित्र स्वास्थ्य भवन स्थापना हुन थालेको छ ।

अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थापना भएपछि अन्यत्र उपचार गराउन जाने गाउँवासीको दीर्घकालीन समस्या टरेको छ । गाउँपालिका–६स्थित बनियानीमा साढे ६ करोडको प्राथमिक स्वास्थ्य केन्द्र र घेरावारीमा साढे एक करोडको स्वास्थ्य चौकी सञ्चालनमा आउँदैछ । यसैक्रममा बनियानीमा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्र बिहीबार एक कार्यक्रमकाबीच कचनकवल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय भद्रपुरका इञ्जिनियर बिनोद सिंहले सो भवन गाउँपालिका अध्यक्ष अञ्जार आलमलाई हस्तान्तरण गरेका हुन् । सो प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाउन स्थानीय सरकार लागीपरेको थियो । दक्षिणी भेगमा सुविधासम्पन्न अस्पताल र स्वास्थ्य केन्द्र नहुँदा त्यहाँका बिरामीहरू उपचार गराउन भद्रपुरमा रहेको मेची अस्पतालसहित अन्य अस्पतालसम्म धाउनुपर्ने बाध्यता थियो ।

त्यही बाध्यतालाई ख्याल गर्दै गाउँपालिकामै सुविधायुक्त अस्पताल बनाउने उद्देश्यले स्थानीय समाजसेवी चिन्तामणि खरेलले निःशुल्क एक बिगाह १७ कट्ठा जमिन उपलब्ध गराएपछि प्राथमिक स्वास्थ्य केन्द्र बनेको हो । शहरी विकास तथा भवन निर्माण कार्यालय भद्रपुरले ६ करोड ६६ लाख ९६ हजार ८ सय ४८ रुपैयाँको लगानीमा सो प्राथमिक स्वास्थ्य केन्द्र बनाएको हो । सो भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो ।

अहिले बनियानी चोकमा सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र केही दिनभित्रै नयाँ भवन सर्ने जनाइएको छ । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद राजेन्द्र लिङ्देनले पिछडिएको दक्षिणी गाउँपालिकालाई स्वास्थ्य हब बनाउने स्थानीय सरकारको योजना रहेको बताए । ‘गाउँपालिकामा अहिलेसम्म यस्तो स्वास्थ्य भवन बनेको थिएन’– सांसद लिङ्देनले भने– ‘यस्तो भवन नबन्दा स्वास्थ्य क्षेत्र ओझेलमा थियो, अब सबै समस्याको अन्त्य हुन्छ र यहाँका बिरामीले गाउँपालिकामै सेवा पाउँछन् ।’ नवनिर्मित स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाउने योजना रहेको बताउँदै सांसद लिङ्देनले भने– ‘अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि थपिनेछ, अब कसैले अकालमा ज्यान गुमाउनु पर्दैन ।’

गाउँपालिका अध्यक्ष आलमको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी, जग्गा दाता चिन्तामणि खरेल, शहरी विकास तथा भवन निर्माण कार्यालय भद्रपुरका ईञ्जिनियर बिनोद सिंह लगायतले शुभकामना मन्तव्य राखेको थिए ।

कार्यक्रमको औचित्य तथा स्वागत मेडिकल अधिकृत विशुद्ध भट्टराईले तथा सञ्चालन विकास घिमिरेले गरेका थिए । यता शुक्रवार शहरी विकास तथा भवन निर्माण कार्यालयले घेरावारीमा नवनिर्मित स्वास्थ्य चौकी गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here