खोटो मुद्रा देखाई ठग्ने पक्राउ

0
440

काठमाडौं।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटो मुद्रा देखाई ठगी गरेको अभियोगमा चार जनालाई काठमाडौं गोगंबूबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका–७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने ३२ वर्षीय बलबहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका–३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यन खड्का र धनकुटा छत्र जोरपाटी गाउँपालिका–३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्रबहादुर लिम्बू रहेका छन् ।

पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा पु¥याउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बू जाली नोट बजारमा पु¥याउन सहयोग गर्ने भूमिकामा रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा १ हजार रुपैयाँ दरको नोटको ए फोर साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको पेपर ३५ थान, रंगीन फोटोकपी मेसिन १ थान र सीपीयू १ थान प्रहरीले बरामद गरेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटो मुद्रा देखाई ठगी गरेको बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खोटो मुद्रा र अन्य सामानसहित पक्राउ गरी मुद्रा सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here