दृष्टिको ‘कान सेवा’ भद्रपुरमा

0
400

भद्रपुर।

झापाको भद्रपुरस्थित दृष्टि आँखा अस्पताल सेवा केन्द्रले बिहीबारदेखि थप उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

कानका बिरामीलाई लक्षित गर्दै बिर्तामोडबाट सञ्चालित दृिष्ट आँखा अस्पताल अन्तर्गतको सेवा केन्द्रले भद्रपुर–५ स्थित नेपाल बैंक नजिकै कानको उपचार सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालले प्रदान गर्ने सेवाको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन पश्चात चिकित्सकले नगर प्रमुख श्रेष्ठ र रोटरी क्लव भद्रपुरका अध्यक्ष टीकाराज ढकालको कान चेकजाँच गरी सेवा शुरु गरेका थिए । २०७१ साल माघबाट दृष्टि आँखा अस्पतालले भद्रपुरमा सेवा केन्द्र स्थापना गरेको छ ।

भद्रपुरसहित दक्षिण झापाबासी र भारतका बिरामीहरुलाई समेत मध्यनजर गरी भद्रपुरमा पहिलोपटक आँखाको उपचार सेवा पश्चात कानको उपचार सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष रामकुमार उप्रेतीले बताए ।

मेची पुल सञ्चालनमा आइसकेपछि आँखासँगै कानका विरामीको समेत चाप बढेकोले कानको उपचार सेवा थपिएको उनको भनाइ छ । आँखा जस्तै महत्वपूर्ण कान पनि भएको र उल्लेख्य मात्रामा कानका बिरामी आएर फर्किनु परेको अवस्थाले गर्दा यो सेवा शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर शेषकान्त अर्यालले बताए । कानमा हुने सबै खाले रोगको उपचार गर्ने उद्देश्य लिएर थप सेवा शुरु गरिएको उनले जनाए ।

कानको रोगलाई रोग नमान्ने धारणाले मानिसको मृत्यु हुने गरेको कान विभागका चिकित्सक रवीन्द्र भक्त प्रधानाङ्गले बताए । दुईवटै कान नसुन्ने रोगीलाई कानको महत्व थाहा हुने भएकोले सवै मानिसले अन्य अङ्गसँगै आँखा र कान पनि बेला बखत चेकजाँच गर्न उनले सुझाव दिएका छन् ।

कार्यक्रममा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार रञ्जित प्रसाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here