धार्मिक पर्यटकीय स्थलको पहिचान बनाउँदै जलकन्यादेवी मन्दिर

0
897

वरिपरी सुन्दर गाँउ, उत्तर दिशामा अवस्थित आनन्द पोखरीको जरुवाबाट निरन्तर बग्ने हिले खोलाको किनार, किनारसँगै मूल मन्दिरको शिरानमा पाँच कठ्ठा क्षेत्रफलमा रहेकोे जलाशय, स्वागतद्धारझैं लाग्ने लहरे प्रजातीको दुर्लभ वृक्षहरुबाट घेरिएको देवीको मूल मन्दिर, मन्दिर दक्षिण दिशामा यज्ञशाला, मन्दिरको उत्तर–पूर्व दिशामा विभिन्न देवीदेवताहरुको मूर्तीसँगै शिलाहरुका कारण धार्मिक पर्यटकीय स्थलकोरुपमा रहेको उक्त स्थलले सबैलाई मोहित बनाउन सक्दछ ।

माथि गरिएको वर्णन झापाको अर्जुनधारा नगरपालिकाको केन्द्र शनिश्चरे बजार चोकदेखि अनुमानित पाँच किलोमिटर पूर्व अर्जुनधारा नगरपालिका–१०स्थित चुथाईमा रहेको धार्मिक स्थल जलकन्यादेवी मन्दिर र मन्दिर क्षेत्रको हो ।

मानिसहरुको बसोबास सुरु भएसँगै कुमाल समुदायहरुको सघन बसोबास रहेको त्यस क्षेत्रमा कहिलेकाँही दिव्य ज्योती देखिने सो स्थललाई देवीस्थानकोरुपमा उनीहरुले ढुंगा र त्रिशुल राखेर पूजा गर्ने गरेको मन्दिरको पृष्ठभूमि रहेको छ । वरिपरी जरुवा पानीको मुहानसँगै जलैजलमा मन्दिर भएको कारणबाट जलकन्यादेवी नामाकरण गरिएको उक्त ढुंगा र त्रिशुल रहेको स्थलमानै २०३० सालमा साधारण मन्दिर स्थापन गरि जलकन्यादेवीको प्रतिस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए ।

२०३७ सालसम्म कुखुरा, हाँस र बोकाको बलि दिई पुजा गरिएको मन्दिरमा ०३८÷०३९ सालदेखि भने बलि प्रथा अन्त्य गरिएको थियो । २०५८ सालमा पहिलोपटक धार्मिक कार्यक्रम भएको उक्त मन्दिरमा पहिलो धार्मिक अनुष्ठानकोरुपमा २०६५ सालमा सतचण्डी महायज्ञ र दोस्रो अनुष्ठानकोरुपमा २०६९ सालमा श्रीमद् देवीभागवत महापुराण सम्पन्न भएको समितिका सचिव भट्टराईले बताए ।

तत्कालिन अनुष्ठानको क्रममा सम्बन्धित निकायसँगै विभिन्न दाताहरुले नगद मन्दिरको स्तरोन्नती र विकासको लागि सहयोग रकम उपलब्ध गराएका थिए । जसअनुसार धनमाया भट्टराईबाट दुई लाख, सिक्किम निवासी रीता गौतमबाट ५१ हजार, एकराज उप्रेतीबाट ५० हजार, राजिप सिंहबाट ३१ हजार, युवराज प्रसाईंबाट ३० हजार भूमीदान कार्यक्रममार्फत् प्राप्त भएको थियो ।

हाल १२ कठ्ठा क्षेत्रफल रहेको मन्दिर परिसरमा जीर्णोदार गर्नुपर्ने अवस्थामा रहेको मूल मन्दिरसँगै सामुदायिक भवन, जलकन्यादेवी जलाशय, दाता टेकेन्द्र शिवाकोटीको सहयोगमा निर्माण भएको यज्ञशाला, दाता प्रदीपकुमार पुरी परिवारको सहयोगमा निर्माण भएको शिवलिङ्गलगायत रहेको छ ।

समितिले गर्नुपर्ने भावी कार्यक्रमहरुमा मूल मन्दिर भएको स्थलमा सुन्दर मन्दिर निर्माण गर्ने, त्यहाँ रहेको दुर्लभ प्रजातीको वृक्षहरुको संरक्षण गर्ने, सामुदायिक भवन विस्तार गर्ने, खोला किनारमा व्यवस्थित तटबन्धन गर्ने, भक्तजनहरुको लागि स्नान स्थल निर्माण गर्ने, जलाशय वरीपरी वृक्षारोपण गर्नेलगायत रहेको सचिव भट्टराईले बताए ।

चालु आर्थिक वर्षमा उक्त स्थललाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्न संघीय सांसद् पवित्रा निरौलाको समन्वयमा पर्यटन मन्त्रालयबाट २० लाख विनियोजन भएको स्थानीय कुमार सापकोटाले बताए ।

यसैबिच सम्पूर्ण प्राणी जगतको कल्याणको कामनासँगै भ्रमण वर्ष २०२०लाई लक्षित गरि शनिबार(भोली)देखि शुरु हुने तेस्रो धार्मिक अनुष्ठानकोरुपमा संगीतमय शिव महापुराणको सम्पूर्ण तयारी पूरा भएको स्वमंसेवक परिचालन उपसमितिका संयोजक यज्ञलाल श्रेष्ठले बताए । महापुराणको उद्घाटन प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुतीः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here