विराटनगर,
विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० वटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ ।
दिनप्रतिदिन मानिसहरुको चाप बढ्न थालेपछि सार्वजनिक शौचालयको अभाव देखिएको विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो ।
उहाँले एउटा शौचालय निर्माण गर्न रु १५ लाखदेखि २० लाखसम्म खर्च हुने र अहिले महानगरपालिकाले शौचालयका लागि रु ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
सार्वजनिक शौचालय निर्माण गर्दा लाग्ने खर्च अपुग हुने देखिएकाले अन्य सङ्घसंस्थासँग साझेदारी गरेर भए पनि सम्भवतः चालू आर्थिक वर्षमै निर्माण गरिने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।































