यान्त्रिकमा ट्राफिक प्रहरी, एक करोड ८६ लाखको भवन

0
1551

बिर्तामोड।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालयको बिर्तामोडस्थित यान्त्रिक कार्यालय रहेको ठाउँमा ६ कठ्ठा जमिन भवन निर्माणका लागि ट्राफिक प्रहरीलाई प्रदान गरिएसँगै ट्राफिक प्रहरीको भवन निर्माण शुरु भएको हो । भवन निर्माणको जिम्मा काठमाडौंस्थित श्रृङ्खला निर्माण सेवाका सरोज श्रेष्ठले लिएका छन् ।

यस अघि बिर्तामोड नगरपालिकाले बिर्ता बजार उत्तर प्रदान गरेको जमिनमा नगरपालिका आफैंले ग्यारेज निर्माण गरेपछि ट्राफिक प्रहरीको भवन निर्माण अन्यौलमा परेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत वर्ष फागुन ३० गते बिर्तामोडमा ट्राफिक प्रहरी भवनको शिलान्यास गरेका थिए ।

दुर्घटना न्यूनीकरण महाअभियानका लागि झापा आएका महानिरीक्षक खनालले डिजिटल प्रविधिबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनको शिलान्यास गरेका थिए । १ नम्बर प्रदेश सरकारको दुई करोड ५५ लाख रुपैयाँमा सेमीनार हलसहितको कार्यालय भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड–३मा रहेको जमिनमा टेन्डर लगाइसकेको थियो । तर, शिलान्यास भएको पाँच महिनापछि सो स्थानमा भवन नबन्ने पक्का भएपछि ट्राफिक प्रहरीलाई जमिन जुटाउन हम्मे–हम्मे परेको थियो ।

ट्राफिकलाई दिएको जग्गामा बिर्तामोड नगरपालिकाले आफ्नै सवारीसाधन राख्ने ग्यारेज निर्माण गरेपछि ट्राफिक प्रहरी कार्यालयका लागि जमिन आवश्यक परेको र भवन निर्माणका लागि छुट्टिएको रकम फ्रिज हुने भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी, तत्कालीन प्रहरी उपरीक्षक दीनेशराज मैनालीसहितको टोलीले सडक डिभिजन कार्यालयको जमिन ट्राफिक प्रहरीलाई प्रदान गरिनुपर्ने माग गर्दै मन्त्रालयसम्म पुगेका थिए । मन्त्रालयले ट्राफिक प्रहरीका लागि जमिन प्रदान गर्ने मन्त्रीपरिषद्को निर्णय गराएर जमिन प्रदान गरेसंगै भवन निर्माण शुरु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रहरी निरीक्षकको रुपमा रहँदा बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जमिन दिने निर्णय गरेको थियो । तर, पछि नगरपालिकाले ग्यारेज पछाडिको दुई कठ्ठा पाँच धुर मात्र ट्राफिक भवनका लागि जमिन छुुट्याएपछि ट्राफिक प्रहरी भवन जमिन अभावसँगै बजेट नै फ्रिजको अवस्थामा पुगेको थियो ।

बिर्तामोड–५स्थित यान्त्रिक कार्यालय रहेको ठाउँमा अहिले अढाई तले सुविधासम्पन्न ट्राफिक भवन निर्माण शुरु भएको छ । यान्त्रिक कार्यालय मर्ज भएर इटहरीस्थित सडक डिभिजन कार्यालयमा गएपछि कित्ता नम्बर १०९ र २७ को साढे १२ कठ्ठा जमिन केही महिनायता खाली छ । खाली जमिनबाट ट्राफिक प्रहरीले ६ कट्ठा जमिन पाएको हो । एक करोड ८६ लाख रुपैयाँ अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको हो ।

कवाडीमा परिणत यान्त्रिकका उपकरण

यस्तो समय थियो जतिबेला यान्त्रिक कार्यालयलाई काम गर्न भ्याइ–नभ्याइ हुन्थ्यो । सडक निर्माणदेखि अन्य ठूला विकास आयोजनाका सबै काम यान्त्रिक कार्यालयले नै गथ्र्याे । तर, निजी कम्पनीले प्रतिष्पर्धा गर्दै सडक निर्माणदेखि सबैखाले ठेक्का सिधै आफंैले पार्न शुरु गरेपछि यान्त्रिक कार्यालय कामविहीन मात्र भएन त्यहाँ भएका सबै उपकरण नै कवाडीमा परिणत भए । अझ बिर्तामोडमा रहेको यान्त्रिक कार्यालय २०७४ सालमा आगजनी भएपछि कागजपत्र जलेर खरानी भए भने उपकरण र भवन काम नै नदिने गरी नष्ट भए ।

कामविहीन बनेको यान्त्रिक कार्यालयमा आगजनी भएपछि केही समय रुखको फेदमा बसेर कर्मचारीले काम चलाए पनि सडक विभागसँग मर्ज भएपछि अहिले सबै काम इटहरीबाट हुने गरेको छ । मात्रै केही कर्मचारी बिर्तामोडमा रहेका कवाडी र आगजनीले क्षतिग्रस्त सामान रुँगेर बसेका छन् ।

अर्जुनधारा नगरपालिका–११का ११ वर्षीया बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर बिर्तामोडमा भएको प्रदर्शनका क्रममा २०७४ कात्तिक १० गते प्रदर्शनकारीले कार्यालय भवनमा आगजनी गरेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमणको प्रयास गर्दा निशानामा परेको थियो– यान्त्रिक कार्यालय । आगजनीका कारण यान्त्रिक कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

जसका कारण यान्त्रिक कार्यालयका करोडौँ मूल्यका सवारी तथा यान्त्रिक उपकरणमा क्षति पुगेको थियो । अहिले आगजनी भएका यान्त्रिक उपकरणमध्ये केही उपकरण कवाडीमा समेत नजाने अवस्थामा छन् । कार्यालय भवनका चार कोठामा आगजनी हुँदा त्यहाँ रहेका तीन थान कम्प्युटर, एक थान प्रिन्टर, दुई थान दराज र १२ थान कुर्सीसहित सम्पूर्ण अभिलेख जलेर खरानी भएका थिए ।

कार्यालय परिसरमा पार्किङ गरेर राखिएका को१ग नम्बरको बिटुमिन डोजर, आरडी ०७०÷३२ नं को नयाँ जेसिभी डोजर, बा१झ ९००७ नम्बरको निशान पिकअप भ्यान, मे१झ ६२ नम्बरको मित्सुविसी पिकअप भ्यान, को१ग ६८ नं को पानी ट्यांकर र मे१द १२ नम्बरको ट्यांकर जलेका थिए । आन्दोलनकारीले यान्त्रिक कार्यालयभित्र पस्नका लागि ६५ मि लामो पक्की पर्खाल ठेलेर भत्काएका थिए ।

आगजनी हुन थालेपछि कार्यालयका चौकीदार ज्यान जोगाउन भागेका थिए । यान्त्रिक कार्यालयले दुई महिनाअघि मात्र खरिद गरेको जेसिभी डोजर पनि जलेको थियो । त्यस्तै निशान पिकअप, पानी ट्यांकर, समेत जलेको थियो । कार्यालयमा रहेको बिटुमिन डोजर पूर्वमै एक मात्र उपकरण रहेको र सो समेत जलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here