‘You’ को भावतिक्रमण बिरुद्ध गौंथलीको बाऊ पनि बम्के

0
728

व्यंग्यनारान पाँडे,

“हन हओ पाँडे भाइ, तपइँ त मेरा सङ्गतले गर्दाखेरिन् निक्कै सुध्रेउ होला, निकै जेन्टिल भएउ होला, अब्ब चइँने गनतन्त्र खेल्ने पारा निक्कै ल्याएउ होला पो भन्ठान्या त, थुक्क ! उस्ताको उस्तै— ज्यूँका त्यूँ पो रछउ त हँ ? यो के तडिका हो हँ ?”— मेरो बरण्डामा उक्लिना साथ थुक उछिट्याउँदै यसरी बम्के गौंथलीको बाऊ !
मैले हावभाव राम्ररी हेरें र भनें— “के भो र दाइ ?”

उनले खल्तीबाट झापाकै एउटा बजारमा छापिने र त्यही बजारमा चाहिँ बितरकले तीन–चार दिनपछिसम्म बाँड्ने गरेको आक्लझुक्कल भेटिने ‘राष्ट्रिय’ पत्रिका निकाले । त्यही पत्रिका दुई–तीन दिनदेखि यतातिर पनि फाट्टफुट्ट देखिन थालेको थियो र त्यसमा दुई–तीन दिन नै फ्रन्ट पेजभरि ड्याम्मै झापाको नामूद ‘छोइनसक्नु’ व्यापारीले खोलेको ‘मालामाल सटर’ सम्बन्धी विज्ञापन देखेको थिएँ मैले । र, उनले मेरा अघिल्तिल फैलाउँदै भने— “लु हेर याँ तपइँले मेरा तरफबड लेखिदिया र मैले यो पत्रिकामा आफ्फै पुगेर ठ्याँसेको खबरको न्यूच ! मेरा आँखामा ल्याप्पै कचेरा लागेर धमिइइइला हुन्छन् र मेरा हात काँपेर अछेर राम्रा हुँदैनन् भन्र तपइँलाई लेखिमाग्या जाबो एउडो न्यूच पनि लेख्ता बिगार्दिने हो त ? कत्रो बिसबासघाती तपइँ हँ ? तपइँ त पिछाडिबड छुरा पो हान्दा राछौ त, एत्तेरी !”

केही दिन अघि झापा–खजुरगाछीमा पर्ने चिल्लारामा गौंथलीको बाऊ राम–नाम बाजे नामले चिनिने स्थानीय नामी पियक्कड लबरधुङ–पेशाले टपरटुइँया पुरतेगिरी गरिहिंड्ने— मौकामौकामा गाईगोरु तस्करलाई ‘माल’ बोडरपार गर्न गाह«ो पर्दा गेरु बस्त्र र चन्दले सिँगारिएर प्रहरी–सशस्त्रलाई ‘दाने गाई–बस्तु हुन्, खोलापारितिर चराउन लग्या’ भनेर ढाँटी गोटागन्तीका हिसाबले काम गर्ने मान्छे, भद्रपुर–भानुनगरको अलिक उताबाट पश्चिमपट्टि अभेकमा ‘जय सिद्धबाबा’ नामको छाप्रे चिया–नास्ता दोकान (जसलाई गौंथलीको बाऊ सँधै ‘कैलुको भट्टी हुटेल’ भन्ने गर्छन्)– को प्रोप्राइटर कैलु जादौ, उसको देशबाट बेला–बेला आउने र गौंथलीको बाऊसँग ‘लिभिङ टुगेदर’ गर्दै मान्छेका साँढेहरुसँग खुलेआम चलखेल गर्ने रामदुलारी समेत मिलेर पुराण लगाएको समाचार गौंथलीको बाऊले मलाई लेख्न लगाएका थिए । त्यो समाचार छापिएको रहेछ त्यस पत्रिकामा । मैले सररर पढेपछि भनें— “ठीकै छ त । तपाईंले भने अनुसार नै मैले लेखिदिएको…..”

मेरो कुरो नसकिंदै उछिनेर भने उनले— “भुत्रो चइँ ठीक च ? मो सोएम रामनाम बाजे, कैलु अनि मेरी टिम्पोरी उजाति तो रामदुलारीलाई ‘तिमी’ बुजिने सभ्द पारेर धङ्स छैन त्याँ ? अरु छोडेर मो जस्तो पर्खर मिस्कट मासाबिद र मेरा नाताले सोतह भासाबिद्नी भकी रामदुलारी समेत ‘तिमी’–मा पर्नेगरी किन लेख्यौ ? हामेरु तपइँका ‘तिमी’ हम् कि ‘तपइँ’–‘हजुर’ हम् हँ ? यो समचारको न्यूच लेखिमाङ्दै तपइँले ‘मो जान्दिन’ भन्या भा अ‍ैले चन्द्रडीका अड्डाहुँदी भ्याङखर उक्किल काम गरेर नाम र मुठामुठै दाम कमाइराख्या—बनजाँचे सिपाइबड भूतपूर्वक भएसि पिल्सिङ खाइराख्या मेरै नातोका भान्दाइ छइँथे, उनैलाई खेस्रा गरा’र एउडा कपुटरखानाको सइभारमा लगेर ट्याकट्याक टाएप गरा’र च्याँक गराइहाल्थेँ अनि त्याइँको इन्टरन्याँटबड डाइरेक पत्रिकाको फेसुकमा ठ्याँसी हाल्थेँ मो ।”

मैले फरि समाचार पढें र भनें— “यो समाचारमा तपईहरु कसैलाई पनि ‘तिमी’ भनिएको छैन त ?”
उनले मेरो हातबाट ख्यास्स पत्रिका खोसे र आँखा तन्काएर पढेपछि मतिर आएर देखाउँदै भने— “इ यो फलानो–फलानोले पुरान आयोजना ‘गरेका थिए’– ले के बुजाउँछ ? तपइँ–हजुर बुजाउँछ ? इ याँनिर ‘भनेर पुरानका अदच्छे हरिकान्तनारानले बताए’ छ–छैन ? हरिकान्त भन्या मेरो नाम होइन ? यस ठाममा ‘बताउनु भो’ भन्ने अछेर पार्नु पथ्र्यो कि पर्थेन हँ ?’…इ फेरि ए एस ठाममा ‘पुरानका धार्मिक हर्ताकर्ता हरिराम पँडित थिए’ लेख्नु भासाका दिस्टिले नइतिक के जाति हो भने हो भन । फेरि आर्का ठाम इ याँ ‘पुरानको खलोफलोको हिसाप एकाउनट्यान रामदुलारीले गरेकी थिन्’ भन्र अ‍ैले समाभेसी अइन् अन्सार पुरुस सरहेमा उक्लेकी मैलालाई हेप्न पाइँछ ? हरिराम पँडित भनिसकेसि ‘हुनुहुन्थे’ र रामदुलारी मेरा नाताले भासाबिद्नी भइसकेकी पर्तिस्टित मैलाले केइ गरेको कुरो लेख्नुपर्दा ‘गर्नुभएकी थिन्’ भन्ने सभ्द पार्नुपथ्र्यो कि पर्थेन ? गमेर भन त तपइँ नै ।”

म के भन्नलाई ‘होइन ए दाइ’ मात्र भन्दैथेँ, उनैले सिकारु ड्राइभरले जबरजस्ती ओभरटेक गर्नु ठूलो बहादुरी ठान्ने गरे झैं ओभरटेक गर्दै भने— “लु भइगो, तपइँको कु पस्टिकर्ण मलाई चाइया भा त थुक्क ! तपइँ पनि काटमाडुँको फलैँचे अक्बार ‘क्रान्तिपुरी’–ले पनि तेस्तै लेख्च र फल्नो टिबीले पनि तेस्सै भन्छ भन्लाउ । काटमाडुँका मेडियामा लेख्ने–बोल्नेहेरु टाउके–टाउके जति सप्पैलाई इङलिसको अङरेजी अछेर वाइ–ओ–इउले बन्ने इउ सभ्दको क्यान्सर रोगले जफत परिरच क्या, डल्लर र सिलिङ–प्यान्सको इउ । इङलिसको अङरेजी बोलीमा वाइ–ओ–इउले बन्ने इउ भनेसि औल–टोट्टल खलास ।”…

मैले भनें— “के भन्या, मैले बुझिन ।”
उनले खिस्ट्याए झैं गर्दै भने— “के बुद्थ्यौ तपइँहेरु अङरेजीको इङलिस पारामा लट्टिएका आफ्नु मात्रिभासालाई मयाँ नगर्न थालेकाले ! इङलीस भासाको अङरेजीमा तँ, तिमी, तपइँ, हजुर सप्पैको एउडै सभ्द ‘इउ’ छ क्या, भिन्नाभिन्नै सभ्दै छैन बिचारा भासा–सभ्दका दलिद्रहेरुसित । तेइ इउ भनेसि तँ, तिमी, तपइँ, हजुरका लागि पर्योग गर्दा भइहाल्छ र तेसो गर्ने प्रम्प्रा चलाए हामेरु पनि बेलएती र अम्रिकाने गोारहर्का मोडन स्टाण्डरमा हाइहाल्छौं भन्ने कउडे र उत्ताउले रोग लागेर काटमाडुँका मेडियाका साहेप खालेहर्लाई क्यान्सर जस्तै भइरच । र, तपइँ तेसै हन्जामा बगाल्लिएछौ । मलाई होल–टोट्टल शङ्खा लागो । मलाई शङ्खा लागो भनेसि लागो–लागो लु, कल्ले के खुत्याउँच खुत्याओस् ।”

मलाई बोल्न दिए न बोल्न पाउनु ! उनै भन्दै गए— “अस्तिइइइ नै, दुई हज्जार छयात्तर साल कात्तिक पान गते माङ्लार नोमी तिथि रोच तीन शुबम्का दिन हामेरको बौमतको सर्खारका सब्से ठूला पर्दानमन्त्री केप्पी ओली मउसुप सर्खारले खबर्दार हामेरको मात्रिभासा बिगारेर मेडियाहर्ले सम्भेताका पर्खालहेरु बाग्मतीमा फालिए ।… इङलीसको अङरेजी इउको बेरामी लागेर हाम्रा सप्पै शिस्टाचारे–मज्र्यादे सभ्दहेरुको धमाधम हत्ते हुँदैछन् भनिबक्सिनु भा’थ्यो कि थेन ? अज्ज ओली मउसुपबड अब पत्रकार गर्ने जतिले आफ्ना बा–हजुरर्बालाई समेत तँ–तिमी भन्न बेर लाउँदैनन् हए भने जस्ता सभ्द पनि मर्जी गरिबक्सनु भा’थ्यो । लु खा त, हामेरको सर्खारले सङगीए सम्सतबड मेडिआबिधेक पनि पास गराइसको । भनेसि अब तो इङलीसको अङरेजी ‘इउ’–को बातो बसाइँदैन होला भन्र ढुक्क हुने ठामै छैन । लु खा त, खुच्चिङताला भइँताला—आठानाको सन्तोला ! अहा !”

उनी थोत्रा दाँत बङ्गारैसम्म देखाएर ताली बजाउन थाले ।
यस मौकामा केही भन्न मैले ‘ए दाइ’मात्र भनिरथेँ, उनले मलाई उछिनेर भने— “इङलीसको अङरेजी बोलीमा बोली बुज्न बल्ल थालेका अङरेजी छाउरा–छाउरी पनि इउ, जुँगाका रेखी बसेकालाई पनि इउ, बाऊ–आमालाई पनि इउ अनि पितृ भका हजुर्बाऊ–हजुर्आमालाई पनि इउ भन्या झैं सम्मान्नीए रास्पतिले केइ गरिबक्सिनु भो भने ‘गरिन्’ भन्ने, सन्मान्नीए पर्दानमन्त्रीबड एस्तोथोक मर्जी भइबक्सिनु भो भने रलेख्ता अथवा टिबी–रेडियाहर्मा खबरको मेडिआ एलाउन्सर गर्दा ‘भने’, ‘गरे’, ‘उन्ले’, ‘तिन्ले’ भन्ने लेखेर अथबा एलाउन्सरे गरेर पत्रकार गरिखाइराखेकाहर्का अब्ब चइँ मेडिआ बिधेकले घुमाई–फिराई चिलिम फर्काउँछ भन्नेमा म हन्डेड पर्सेन सिउरली छु, हेर्लाउ न । हन हामेरको मज्गुत बौमतको सर्खारका हामेरकै रास्पति–पर्दानमन्त्री सन्मान्नीए मउसुपज्यूहर्लाई ‘भनिन्’, ‘भने’, ‘गरिन्’, ‘गरे’ भन्र लेख्ने–बोल्नेहेरु कति ठूला हुन् नि ? र, तेससि चइँ मेरी रामदुलारीले पनि रिसा’र गोस्सा भका ट्याममा ‘एइ कवाडी बूढा, कस्तो मान्छी कि पेजामा तुमी ?’ भन्र गाली गर्न छोड्छे होला र ‘ए हजुर, हजुरबड के मर्जी भइबक्सनु भको’ जस्तो गुल्यो बोली सिक्नुहुन्छिन् होलिन् । आखिर मेरा नाताले उहाँ पनि पत्रकार्नी र समाभेषीका अइन्ले मैला कम्रेटनी नै हुनुहुन्छिन् । होइन्त ?”
मैले भनें— “हो नि, किन होइनथ्यो ।”

उनले भने— “तेसो भा तपइँले पनि हामेरको सन्नात्तन मात्रभासाको समसकीर्ति र सन्नात्तन समाजिकको सोसाइटिकल कल्चर बुजेर लेख्ने गर्नु क्या पाँडे भाइ । नभादेखुन् तपइँलाई पनि मेडिआ बिधेकले घुमाई–घुमाईकन लाउला हए दनक । एक त तपइँ अकम्रेट पर्यौ । कसो त ? एसखेप पो मो थेँ र कम्रेटहेरु रामनाम बाजे, कैले जादौ, कुप्रे खसिकट्टा माइलो, मेरै अन्डरकन्टोलकी रामदुलारीलाई थाम्थाम्–थुम्थुम् पारेर धरानको हन्मान मन्दिर आसराममा सोइ मन्दिरकी एउडी जमान भक्तिनीलाई आसरामकै सिद्दबाबा किस्नबादुर गिरीले बलत्कार गरेको मुद्दा जस्तै र्याइँमा ठ्याइँ मिलाइरछु त । सँद्दै त मलाई पनि तपइँलाई एस्कुच–मी दिन मिल्दैन क्यारे ।”

उनले आज केही कुरा राम्रै उठाएका थिए र मैले केही भनिन ।
उनले उठेर हिंड्न लाग्दै भने— “हओ पाँडे भाइ, रोटी चिल्ला मीठा–कुरा खस्रा मीठा भन्या झैं कुरा खस्राखस्रै गरियो । याँ बात मार्दामार्दै ट्याम चर्लककै गइगच । म उठेर हिन्ने बेलाँ रामदुलारीले ‘छ्याउछ्याउ लेराउनु हए अ‍ैले बेहानको नस्ता खान’ भनेकी थिई । बेहानको टरम मेची खोलामा पत्रकार गर्न जान पनि आज उत्तिकै भइगो । तपइँसित के नहुनु, रैभा पनि, छन् भने गोडा साठ्ठीएक रुप्पे देऊ–देऊ हउ । म भोलिपर्सि नै खुत्रुक्क तिर्चु, कौनै गेजु नगरी तिर्चु ।”
मैले सोधें— “चाउचाउलाई साठी रुपैयाँ किन चाहियो नि ?”

उनले नधकाइकन भने— “अम्मइँ, मेरी रामदुलारीले दुई पोकामा एक मानो झोल हालेको एक ढिँडी खोर्सानीसँग कपाकप खाएसि मात्तै डकार्छे । डकार आउने नभउन्जेल ऊ अघाकी हुन्न र अघाइन चइँ भने त करा’र कानै खान्चे । तेल्लाई दोडा पोका र मलाई एउडाले तिन्टा भयो । बीस रुप्पेका दर्ले साठ्ठी रुप्पे भइगो नि ।….लु–लु हउ, मेरा भाइ ।”…
म खुरुक्क भित्र पसें र पछाडिको ढोकाबाट निस्केर सडकतिर लागें । वाक्क !…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here