मृगौला रोगीको पीडा कसले बुझ्ने ?

0
904

अमृतलाल श्रेष्ठ,

अचेल दुबै मृगौला खराब भएर अस्पतालमा बाँचुञ्जेल डायलाइसिस गर्ने रोगीहरुले आर्थिकरुपमा पीडा र व्यथा पनि भोग्नु पर्दोरहेछ । मेरो जीनवमा पनि अहिले त्यस्तै स्थिति भोग्नु परिरहेको छ । न मेरो खेतीपाती, न व्यापार न त जागीर नै छ । आयस्रोत समेत केही छैन । राससमा २८÷२९ वर्ष काम गरेर पाएको उपदान रकम पनि उपचारमा नै सकिसक्यो । अहिले भने उपचार कसरी भन्ने समस्याले पिरोलिइरहेको छ ।

२०७३ साल असोज ४ गते राति अकस्मात शरीरमा पीडा भएर छट्पटाएँ । रातभरि नसुतेपछि मलाई राति नै रेडक्रस धुलाबारीको एम्बुलेन्स मगाएर बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलमा पु¥याएर भर्ना गरियो । त्यसपछि डाक्टरले जाँच गर्दा मेरो दुबै मृगौला खराब भएर त्यसले यस्तो भएको हो, अब डायलाइसिस गर्नुपर्छ भने । मलाई लाग्यो–एकचोटी डायलाइसिस गर्दा निको हुन्छ भने गर्नुहोस् भनेँ । तर, होइन रहेछ । शुरुमा तिघ्राको चेपमा अभिजित साह भन्ने स्वास्थ्यकर्मीले डायलाइसिस गरे । त्यसपछि डा. अनिलकुमार बस्नेतले भने– तपाई काठमाडौं गएर निदान हस्पिटलमा फिस्टोला गरेर आउनु । उनले मेरै अगाडि निदान हस्पिटलका डा.अनिल बराललाई मोबाइलबाट सम्पर्क गरे । डाक्टर अनिलले हुन्छ पठाइदिनुहोस् भने । त्यसपछि हामी प्लेनको टिकट काटेर रातारात काठमाडौंको पुल्चोक पुग्यौं र परिवारले मलाई निदान हस्पिटलमा भर्ना गरे ।

अचेत अवस्थामा काठमाडौं पुगेपछि चारजना डाक्टरहरु मिलेर मेरो हातखुट्टा समातेर डायलाइसिस गरे । दुई दिनपछि होसमा आएर हेर्दा म निदान हस्पिटलको काठमा नचपटाओस् भनेर मेरो हातखुट्टामा बाँधेर राखेको मैले पाएँ । त्यसपछि पुनः डायलाइसिस गरियो । हप्तामा दुईतीन पटक डायलाइसिस गरेपछि मलाई मात्र लगेर अपरेशन कक्षमा अरु नौ जना स्वाथ्यकर्मीहरु मिलेर डा. अनिल बरालले स्वर सम्राट नारायण गोपालको गीत गाउँदै देब्रेपट्टिको हातमा फिस्टोला गर्ने काम सम्पन्न गरे । त्यसपछि सो हस्पिटलमा ८०÷९० हजार रुपैयाँ सकेपछि १५ दिनमा घाँटीमा डायलाइसिस गरियो । डेढ महिनासम्म घाँटीमा डायलाइसिस गरे पश्चात हातको पट्टि खोलेर फिस्टोला गरेको हातबाट डायलाइसिस गर्नु भनेर डाक्टरले हामीलाई विदा गरे ।

दशैंको मुखमा घर आइपुगियो । धुलाबारीमा सम्पन्न नेपाल जेसीजको महाधिवेशन हेर्न समेत पाइएन । दशैं सकिएपछि पुनः पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटल बिर्तामोडमा निदान हस्पिटलले दिएको सम्पूर्ण विवरण रेकर्ड जिम्मा दिइयो । शुरुमा उक्त हस्पिटलमा एकपटक डायलाइसिस गरेको दुई हजार रुपैयाँ मात्र थियो । पछि बढाएर दुई हजार पाँच सय पुर्याइयो ।

हप्तामा दुईपटक डायलाइसिस गर्दा मात्र पाँच हजार, महिनामा २० हजार रुपैयाँ लाग्ने भयो । डाक्टरले चेकजाँच गरेको, लेखेको औषधि किनेर खानुपर्ने, रगतको कमी हुँदा रेडक्रसबाट किनेर ल्याइ चढाउनुपर्ने गर्दा महिनामा ३०–४० हजार रुपैयाँ लाग्ने भयो । त्यसो गर्न म जस्तो आयस्रोत नहुनेलाई भ्याउन गाह्रो भयो । मैले २०७३ साल चैत महिनामा बिर्तासिटी हस्पिटलका कार्यकारी अध्यक्ष गोपालकुमार बस्नेतलाई तीन–चार पटक फोन गरेर अनुरोध गरेँ, स्वास्थ्यमन्त्री गगन थापा हुँदा डायलाइसिस गर्दा निःशुल्क गर्ने भनेर निर्णय गरेको र भाषण गरेकोले स्वास्थ्य मन्त्रालयमा प्रक्रिया चलाउनु होस् भनेँ । बस्नेतले पनि चैत महिनाको अन्तिममा हामी डायलाइसिस गर्ने ३० जना बिरामीको नाम लेखेर स्वास्थ्य मन्त्रालयमा पठाएको जानकारी दिए । नभन्दै २०७४ साल जेठ महिनामा हाम्रो नाम स्वीकृति भएर स्वास्थ्य मन्त्रालयबाट आएको जानकारी पाएँ ।

यसपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापा भद्रपुरमा कान्छा छोरा अनिकेष श्रेष्ठलाई पठाएँ । त्यस कार्यालयका शाखा अधिकृत देवराज कार्कीलाई फोन गरेँ, उनले फर्म भरेर पठाउनु भनी फर्म दिएर पठाए । मैले पनि उक्त फर्म भरेर सही गरेर सोही कार्यालयमा पठाइ दिएँ । २०७४ साल असार ८ गते सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्लास्तरीय सिफारिस समितिले विपन्न वर्गका नागरिकलाई उपचार सेवावापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी मैले पाएँ । त्यसपछि मैले त्यसको प्रतिलिपि एकप्रति डायलाइसिस गर्ने पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलमा बुझाइ दिएँ । बिर्तासिटी हस्पिटलले असारदेखि २०७४ असोजसम्म डायलाइसिस गरेको शुल्क लिएन । २०७४ साल कात्तिकदेखि बिरामीलाई चिया बिस्कुट खुवाउने सर्भिस चार्जवापत डायलाइसिस गरेको प्रत्येक पटक दुई सय रुपैयाँ लिने हस्पिटलले निर्णय ग¥यो ।

अहिलेसम्म करिब चार वर्षको अवधिमा बिर्तासिटी हस्पिटलमा तीन पटक आईसीयु कक्ष, एक पटक एसडियु कक्ष र चार पटक जनरल वार्डमा भर्ना भइयो । कहिले खुट्टा नचल्ने, कहिले सास फेर्न साह्रो हुने कहिले के हुने । डाक्टरले भने अनुसार औषधि किनेर खानुपर्ने, कहिले स्वास्थ्य र रगतको विभिन्न प्रकारको परीक्षण गर्नुपर्ने रकहिले रातको कमी हुँदा रेडक्रस चारपानेबाट रगत किनेर लगाउनुपर्ने । अहिलेसम्म उपचारका लागि १५–२० लाख रुपैयाँ खर्च भयो होला । हुनेको जग्गा–जमिन बेचेर उपचारमा खर्च गर्छन्, नहुने म जस्तो विपन्न नागरिकले अरुसँग सहयोग मागेर जीवन चलाउनुपर्छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि मृगौला रोगबाट पीडित छन् । उनको १२ वर्षअघि फेरेको मृगौलाले काम गर्न छोडेको छ । प्रधानमन्त्रीको उपचार खर्च त सरकारले गर्छ । तर, हामी जस्तो विपन्न नागरिकको उपचार खर्च आफै गर्नुपर्छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम कार्यकालमा मृगौला रोगीहरुका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस निर्णयलाई स्वीकार्न सकेनन् । कमसेकम मासिक पाँच हजार भत्ता पाउँदा औषधि किनेर खान पुग्थ्यो । तर, त्यो रोगीको मर्म र पीडा बुझेन केपी शर्मा ओलीको सरकारले ।

अहिले बिर्तासिटी हस्पिटलले ३४ जना नियमित र आठ जना इमरजेन्सी मृगौला रोगीको चारवटा मेसिनबाट डायलाइसिस सेवा पु¥याइरहेको छ । नियमित रोगीमा हप्तामा दुई पटकभन्दा बढी डायलाइसिस गर्नेलाई एक पटक डायलाइसिस गरेको तीन हजार पाँच सय शुल्क लिने गरेको छ हस्पिटलले । जबकी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को शेयर भएको भनिएको बीएण्डसी हस्पिटलले एकपटक डायलाइसिस गरेको सात हजारसम्म लिने गरेको पाइन्छ ।

भद्रपुरस्थित मेची अञ्चल अस्पतालले चारवटा मेसिनबाट निःशुल्क डायलाइसिस सेवा दिइरहेको छ भने ओम साई पाथीभरा हस्पिटलले पाँच वटा मेसिनबाट डायलाइसिस सेवा पु¥याउने गरेको छ । हामी जस्तो सधैँ यातायात सुविधा नहुनेलाई भद्रपुर जान–आउन कठिन पर्छ । स्वास्थ्य मन्त्रालयले डायलाइसिस निःशुल्क गर्ने हस्पिटललाई अनुदान रकम प्रत्येक तीन–तीन महिनामा पठाए पनि बिर्तासिटी हस्पिटलले प्रत्येक तीन महिनामा रगतको विभिन्न परीक्षण गर्दा चार हजार पाँच सयसम्म शुल्क लिने गरेको छ । जुन परीक्षण प्रतिवेदन विवरण फायलमा थन्क्याउनु सिवाय कुनै अर्थ लाग्दैन भने चिया बिस्कुट बिरामीलाई खुवाएको एक सय रुपैयाँसम्म सर्भिस चार्ज लिनुपर्नेमा दुई सय रुपैयाँ लिने गरेको छ । जसले गर्दा निःशुल्क डायलाइसिस गरे पनि वर्षमा १८ हजार र १९ हजार गरी कूल ३७ हजार रुपैयाँ खर्च व्यहोर्नु परेको छ ।

नेपालमा अहिले मृगौला रोगीहरुको दिनानुदिन बृद्धि भइरहेको अवस्थामा नेपाल सरकारले देशको प्रत्येक प्राथमिक स्वास्थ्य सेवाकेन्द्रहरुमा कम्तीमा पाँचवटा मेसिन परिचालन गरेर डायलाइसिस सेवा निःशुल्क गर्नुपर्ने, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नुपर्ने, फिस्टोला गर्ने व्यवस्था गर्नुपर्ने, डायलाइसिस गर्ने मेसिन बिग्रेमा मर्मत गर्ने प्राविधिक हुनुपर्ने, निःशुल्कमा मृगौला रोगीले औषधि पाउनुपर्ने र फिल्टर गरेको पानीको व्यवस्था हुनुपर्ने हो । यो नेपाल सरकारले मात्र सकेन भने विश्व स्वास्थ्य संगठनसँग सहयोग माग्नुपर्ने हो ।

अहिलेसम्म मलाई प्रधानमन्त्री कल्याण कोषबाट पाँच लाख, नेपाल प्रज्ञा प्रतिष्ठानबाट दुई पटक २५ हजार, नेपाल पत्रकार महासंघ झापाका तत्कालीन सचिव एकराज गिरीको सहयोगमा संकलित ५९ हजार, मेचीनगर नगरपालिकाबाट ४० हजार, बिर्तामोड र दमक नगरपालिकाबाट २०–२० हजार, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ प्रादेशिक समितिबाट र नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिबाट २०–२० हजार, तेजकुमार श्रेष्ठबाट २५ हजार, कन्काई प्रतिभा प्रतिष्ठान सुरुङ्गा र एलिजा श्रेष्ठबाट १०–१० हजार, प्रा.डा. गोविन्दराज भट्टराई, नसुह प्रसाई, विमल आचार्य, अनिल भेटवाल, अनिशा श्रेष्ठबाट जनही पाँच हजार, कृष्ण धरावासीबाट भारु तीन हजार, रवीन कोइरालाबाट तीन हजार, कन्काई नगरपालिकाबाट १५ हजार, भद्रपुर नगरपालिकाबाट १० हजार, जेसीज पूर्व अध्यक्ष समाज झापाबाट १५ हजार, ओमकुमार श्रेष्ठबाट पाँच हजार, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. बाट २५ हजार, गणेश श्रेष्ठबाट दुई हजार र विक्रम श्रेष्ठबाट एक हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

तर, नेपाल जेसीजका तत्कालीन केन्द्रीय अध्यक्ष महेश पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द अधिकारी, स्वास्थ्य मन्त्रालय र अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीलाई पत्राचार गरे पनि अहिलेसम्म कुनै आर्थिक सहयोग प्राप्त भएको छैन भने मेचीनगर नगरपालिका, प्रदेश नं. १ का कानूनमन्त्री हिक्मत कार्की र जेसीज पूर्व अध्यक्ष समाज झापाका वर्तमान अध्यक्ष विनोद बस्नेतसँग पनि आर्थिक सहयोग मात्र गरिएको छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here