भद्रपुर,

अबदेखि हप्ताको दुई दिन भद्रपुर बजारमै १० रुपैयाँमा शुद्ध शाकाहारी खाना पाइने भएको छ ।
स्थानीय व्यवसायी तथा समाजसेवी सुबोध कोठारीको पहलमा भद्रपुर– ५ स्थित प्रेरणा ट्रेडर्स अगाडि १० रुपैयाँमै शुद्ध शाकाहारी खानाको व्यवस्था मिलाइएको हो ।
‘हर हर महादेव, सेवा नै धर्म हो’ भन्दै व्यवसायी कोठारीले हप्ताको दुई दिन बुधवार र शनिवार खाना खुवाउने भएका हुन् । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म खुवाइने खानाको शनिवार उद्घाटन गरिएको छ ।
शनिवार पहिलो दिन एक सयभन्दा बढीले १० रुपैयाँ तिरेर खाना खाएको व्यवसायी काठोरीले जानकारी दिए । ‘निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको भए कोही पनि खाना खान आउँदैन थियो’ –उनले भने– ‘कम्तीमा १० रुपैयाँ तिरेर खाना खाँदा मेरै पैसाले खाएको मान्छेमा पर्छ र खाना खाने मान्छे पनि आउँछन् ।’
मैले खाना खुवाउने योजना पहिला नै सोच बनाएको बताउँदै उनले भने– ‘स्थानीय उद्योगी व्यवसायीले यस अभियानमा सहयोग गर्छु भनेपछि मैले आँट गरेर अभियान थालेको हो ।’
सबैको सहयोग र साथ रहेसम्म यस कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने मेरो लक्ष्य रहेको उनले बताए । यस अभियानमा स्थानीय व्यवसायी दिलिप वंशल, नन्दु सरावगी, ब्रह्मदेव अग्रवाल, विनय गोयल, मनोज श्रेष्ठ, शिवु गुप्ता लगायतले सहयोग गर्दै आइरहेको जनाइएको छ ।































