आजका नेपाली कम्युनिष्टहरुको कार्यभार

२८ पुष २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

वैज्ञानिक समाजवादका प्रतिपादकहरु कार्ल माक्र्स र फ्रेडेरिक एंगेल्सले सन् १८४८ मा ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ लेख्दा कम्युनिष्टको त्रासले सम्पूर्ण युरोप संत्रस्त छ भनेर लेखेका थिए । ‘कम्युनिष्ट भूत’ले सम्भ्रान्त, पुँजीपति र नोकरशाहहरुको निदहराम भएको उनीहरुले उल्लेख गरेका थिए । आज पनि विश्व राजनीतिमा ‘कम्युनिष्ट त्रास’ व्याप्त छ । मेहेनतकश वर्गको पक्षधरता रहेसम्म कम्युनिष्ट दर्शन अजेय रहन्छ, तर यसमा भुत्ते प्रवृत्ति हावी भएमा सामन्त र दलाल पुँजीपतिहरुको सेवामा रुपान्तरित हुन्छ । माक्र्सवाद समकालीन विश्वको सबैभन्दा प्रभावशाली दर्शन हो । माक्र्सवाद प्राज्ञिक क्षेत्रको जिउँदोजाग्दो विश्व दृष्टिकोण हो । माक्र्सवाद सबैभन्दा वैज्ञानिक दर्शन हो । नारीवादीदेखि समलिंगी अध्ययनसम्म, उत्तर आधुनिकतादेखि उत्तर माक्र्सवादसम्म– यस विचारधाराको उपस्थिति छ । माक्र्सवाद समकालीन संसारमा सबैभन्दा आदर र समर्थन गरिएको र सबैभन्दा बढी विरोध गरिएको दर्शन हो ।

माक्र्स बीसौं शताब्दीका सबैभन्दा प्रभावशाली दार्शनिक हुन् । अहिले हामी सूचना र ज्ञानमा आधारित समाजमा बाँचिरहेका छौं र माक्र्सको उपादेयता अझै सकिएको छैन । माक्र्सवाद वैश्विक सार्वभौमिकतासहितको दर्शन हो, तर यो कुनै धर्मशास्त्र होइन । धर्मशास्त्रमा केही थप गरेमा मान्य हुँदैन, तर माक्र्सवादमा ठोस परिस्थितिको ठोस विश्लेषण गरी नविनतासहित केही थप ग¥यो भने यसको आत्मा बाँच्दछ । विश्वमा नै विश्वविद्यालयमा मानविकी, अर्थशास्त्र र समाजशास्त्र संकायमा माक्र्सवाद अनि यसको बौद्धिक आयामको बारेमा अध्ययन अध्यापन गराइन्छ । उत्तर आधुनिकतावादले ‘माक्र्सवादको मृत्यु’ को घोषणा गरे पनि बुद्धिजीवी नोम चोम्स्कीदेखि रकस्टार स्लाभोज जिजेकसम्म अहिले पनि आफूलाई माक्र्सवादी ठान्छन् । विगत पाँच दशकदेखि अमेरिकी सत्ता र शक्तिको विरोध गर्दै आएका साम्राज्यवादविरोधी चोम्स्की अझै पनि वैकल्पिक विश्व सम्भव भएको बताउँछन् ।

कम्युनिष्ट पार्टीको लक्ष्य पूर्ण स्वतन्त्रता सहितको लोकतान्त्रिक व्यवस्था स्थापना गर्नु हो । तर, आज नेपालका कम्युनिष्टहरु पूर्ण लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि काम गरिरहेका छन् ? जनवादी केन्द्रीयता र अधिनायकत्व प्रतिको बेबुझाइ र अल्प बुझाइ वा पार्टीगत, गुटगत वा व्यक्तिगत स्वार्थका लागि माक्र्सवादी दर्शन र आजसम्म इतिहासमा प्राप्त उपलब्धिलाई पार्टीभित्रको लालफित्ते नोकरशाहीतन्त्रको आडमा संकुचन गर्ने प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनले आज विश्वव्यापीरुपमा धक्का खानु परेको हो ।

आज नेपालमा दुई तिहाइ हाराहारीमा संसदमा उपस्थितिसहितको कम्युनिष्टहरुको सरकार छ । माक्र्सवाद र साँचो अर्थमा साम्यवादी दर्शनले हालको शासन प्रणालीलाई मात्र आफ्नो अभिष्ट ठान्दैन । तर, यही शासन व्यवस्था नै कम्युनिष्टले स्थापना गर्ने भनिएको शासन व्यवस्थाको पर्याय जस्तो भएको छ । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा १५ हजार नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको शहादत, ६ हजार बढीको बेपत्ता र लाखौं नेपाली जनताको त्याग तपस्या सहितको जनयुद्ध र त्यसको आडमा भएको १९ दिने जनान्दोलनको परिणामस्वरुप संविधानसभाबाट संघीयतासहितको संविधान निर्माण गरिएको छ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरिए पनि न यसले पूर्णता नै पाएको छ, न कम्युनिष्टको रणनीति अनुरुप मुलुक अघि बढिरहेको छ । जातिगत, भाषिक एवम् भौगोलिक विविधताले खण्डित गरेको हाम्रो देशलाई विविधतालाई अभिशापको रुपमा नलिएर वरदानमा बदली विखण्डनबाट जोगाउने महत्वपूर्ण लोकतान्त्रिक विधिका रुपमा संघीय राज्य प्रणालीले भूमिका खेल्न सक्छ ।

केन्द्रीकृत सामन्ती शासन प्रणालीबाट सृजित जातीय, भाषिक, धार्मिक, क्षेत्रीय, लैङ्गिक, वर्गीय आदि विभेदका सांग्लाहरु चुँडाली पहिचान र पहुँचको आकांक्षालाई समेटी स्वतन्त्र, सम्पन्न र अखण्डित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल निर्माण गर्ने आम नेपालीको अहिलेको चाहना हो । सदियौंदेखि बहिष्करणमा पारिएका र परेका आदिवासी, जनजाति, मुस्लिम, महिला, मधेसी, दलित र क्षेत्रीय रुपमा वञ्चितिमा परेका उत्पीडित वर्ग–समुदायलाई सशक्तिकरण गरी उनीहरुको प्रतिनिधित्व र समावेशिताको ग्यारेण्टी गर्ने उपयुक्त अवसरको रुपमा संविधानले दिशानिर्देश गरेको छ । सन्तुलन र नियन्त्रण नहुने हो भने शासकहरु आफूलाई दिग्विजयी ठान्छन् र शक्तिले मातेर जुगजुगसम्म सत्तामा रहिरहने भ्रम पाल्छन् । शक्ति र सत्ताले मानिसलाई अन्धो बनाउँछ र भ्रष्टतातर्फ उन्मुख गराउँछ । हो यहींनेर कम्युनिष्ट हुनु, एकात्मवादी हुनु , अराजकतावादी हुनु र जातीवादी हुनुको अर्थ हुन्छ ।

दशौं वर्षसम्म सञ्चालन भएको जनयुद्ध, पटक–पटकका जनान्दोलनहरु, विभिन्न समयमा भएका उत्पीडित जनसमुदायका आन्दोलनहरु र मधेसमा भएका विप्लव र विद्रोहहरुको संश्लेषित सार भनेको दबाइएका जनताहरुलाई सशक्तिकरण गरी उनीहरुको पहुँच राज्यका स्रोतसाधनसम्म पु¥याउने उद्देश्यका साथ आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गरिएको हो । माक्र्सवादको सार भनेको ‘संसार बुझ्नु मात्र होइन, बदल्नु हो ।’ वर्गीय समाजलाई समतामूलक मानव समाजमा बदल्ने बाटो समाजवादी र साम्यवादी क्रान्तिकारी बाटो हो । सोभियत संघ विखण्डनपछि कम्युनिस्ट आन्दोलन रक्षात्मक भयो र यसको असर विश्व कम्युनिस्ट आन्दोलनमा पनि प¥यो । माक्र्सवाद मरेको र इतिहासको अन्त्य भएको पुँजीवादी विचारकहरुको निष्कर्ष रहे पनि पुँजीवादले विश्व आर्थिक व्यवस्थामा सृजित समस्यालाई हल गर्न सकेन ।

यसबाट कम्युनिस्ट आन्दोलनको औचित्य झन् स्थापना भएको छ र यो विचारले विश्व बदल्न सहयोग पु¥याउँछ भन्ने पुनर्पुष्टि भएको छ । तीन सय वर्षको इतिहासमा पुँजीवादले पटकपटक हारको सामना गर्नुपरेको छ भने माक्र्सवादले पनि अप्रत्याशित र अनिवार्य धक्का खानुपरेको छ । यसका पछि धेरै ऐतिहासिक र नीतिगत कारणहरु रहेका छन् । माक्र्सवादलाई जडसूत्रका रुपमा बुझ्दा, संकीर्णताका रुपमा ग्रहण गर्दा र पुँजीवादकै सेवकका रुपमा आत्मसात गर्दा समाजवादी व्यवस्थाले धक्का खानुपरेको हो । सारमा भन्नुपर्दा जनतासँग अलगथलग भएपछि समाजवादी भनिएका राज्यव्यवस्था धराशयी भएका हुन् ।

आजका नेपालका कम्युनिष्टहरुको तात्कालिक कार्यभार सामाजिक न्यायसहितको समाजवादउन्मुख अर्थतन्त्र विकास गर्ने हो, जुन कुरा संविधानमै उल्लेख गरिएको छ । आफूले आफैलाई बदल्ने, संगठन बदल्ने र समाज बदल्ने प्रक्रिया नै क्रान्ति हो । आज नेपालीको मूल नारा ‘समृद्ध नेपाल ः सुखी नेपाली’ हो र यो नै आजको क्रान्तिको अभिभारा हो । यस्तो व्यवस्था सृजना गर्न र नेपाली जनताको जीवनमा खुशयाली ल्याउन संविधानमा ग्यारेन्टी गरिएका विषय तत्कालै कार्यान्वयन हुनुपर्छ, सत्ताका अंगहरु न्यायपालिका, कर्मचारीतन्त्र, सेना–प्रहरी, विद्यालय, विश्वविद्यालय लगायतको व्यापक पुनःसंरचना गरिनुपर्छ ।

आत्मनिर्भर अर्थतन्त्रसहित व्यापक औद्योगिकीकरणद्वारा सामाजिक–आर्थिक रूपान्तरण गर्ने कुरा कम्युनिष्टको मूल अभिभारा हो । परिवर्तनलाई संस्थागत गर्न बाधा उत्पन्न गर्ने यथास्थितिवादी शक्तिलाई कामले जवाफ दिनुपर्छ । युगांैदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रूपान्तरण सहज छैन, तर रूपान्तरण हुन र गर्न नसके नेपालमा कम्युनिष्ट आन्दोलनले धक्का खाने निश्चित छ । नेपाली कम्युनिष्टहरुको आजको राजनीतिक कार्यभार संविधानको रक्षा र कार्यान्वयन गर्नु हो । नभए प्रतिक्रान्ति निश्चित छ । प्रगतिशील शक्ति र प्रतिक्रान्तिकारी शक्तिबीचको द्वन्द्व अहिले विस्तारित र घनीभूत रुपमा छ ।

सामाजिक–राजनीतिक अवस्था, भूराजनीतिक अवस्था, विज्ञान, प्रविधि, सूचना–सञ्चारका क्षेत्रमा भएको तीव्र विकास र त्यसको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थिति, अमेरिका, चीन, भारत, रुस, बेलायत लगायतका विभिन्न शक्तिकेन्द्रको अवस्थाले हाम्रो देशको अर्थनीति, शिक्षानीति र राजनीतिमा प्रत्यक्ष प्रभाव पार्दछ । यी सबै परिस्थिति र अवस्थालाई मध्यनजर गरेर र व्यावहारिक रुपमा सबैको सहयोग र स्वार्थलाई आफ्नो हित अनुकुल उपयोग गर्नुपर्छ । यी सबै काम गरेर मात्र वैज्ञानिक समाजवादी आन्दोलनको आधार तयार गर्न सकिन्छ र यो नै आजका कम्युनिष्टहरूको राजनीतिक कार्यभार हो ।

सामन्ती, नोकरशाही, दलाल पुँजीवादी शोषणका सबै अवशेष तथा परनिर्भरता अन्त्य गर्दै व्यापक औद्योगीकीकरण, पुँजीवादीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै सामाजिक न्याय र न्यायोचित वितरणका आधारमा ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा व्यवहारमा कार्यान्वयन गर्नु आजका कम्युनिस्टहरूको आर्थिक कार्यभार हो । लोकतन्त्रसहितको क्रान्ति आजको आवश्यकता हो । लोकतन्त्र मात्र समातेर क्रान्तिको कुरा नगर्नेहरु र क्रान्तिको कुरा गरेर लोकतन्त्र बिर्सने र अधिनायकवादी सोच जनतामाथि लाद्नेहरु दुवै सफल हुने छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति पूरा गरेर मात्र नेपालको भविष्य उज्ज्वल हुनसक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here