हात्ती आतंक रोक्न तारवार लगाऊ

२८ पुष २०७६, सोमबार मा प्रकाशित

सम्पादकीय

झापाबासीका लागि हात्तीको उपद्रो नियमितता जस्तै हो । खासगरी भारतसँग सीमा जोडिएको तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका बासिन्दा हात्तीको उपद्रोबाट हैरान थिए । भारततर्फबाट आउने जंगली हात्तीले त्यस क्षेत्रमा प्रत्येक वर्ष जन–धनको क्षति गरेको थियो । दुई–चार वर्षपछि हात्तीको उपद्रो बुधबारे, शनिश्चरे, अर्जुनधारा हुँदै बिर्तामोड क्षेत्रमा समेत थपियो । बिर्तामोडबासीले दिउँसै जंगली हात्तीको दर्शन गर्न समेत पाएका थिए । अहिले संघीयताका कारण उपद्रो केही घटेको छ । अर्थात् स्थान विशेषमा सहनु परेको हात्तीकै पीडा अब मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोड र बुद्धशान्तिबासीले खप्दै आउनु परेको छ । त्यसबाहेक कचनकबल, हल्दिबारी, बाह्रदशी गाउँपालिकामा विशेष योजना अनुरुप सौर्य तारबार लगाएर जंगली हात्तीलाई स्थानीय सामुदायिक वन क्षेत्रमै रोकेर स्थानीयबासीको पीडा कम गर्दैछन् ।

जंगली हात्तीको मात्र होइन सम्पूर्ण प्राणीहरु एउटा निश्चित प्रणालीबाट चल्छन् । चराचुरुंगीहरु हुन् वा सरिसृप अथवा जलचर सबैको फरक–फरक जीवन पद्धति हुन्छ । त्यसै अनुसार जंगलमा स्वतन्त्र विचरण गर्ने ठूलो प्राणी हात्ती बिना कुनै भौगोलिक भेद नेपालका जंगलमा आइपुग्छन् । त्यहाँ आवश्यक खाद्यवस्तु नभेटिँदा मानवबस्तीतर्फ पसेर मानवीय, भौतिक संरचना र कृषिवस्तु नष्ट गरेर, खाएर क्षति पु¥याउँछन् । यसलाई रोक्न, नियन्त्रण गर्न जनधनको रक्षा गर्न सबैको अभिभावक र संरक्षक भनिने सरकारले नै अघि सर्नु पर्छ । त्यहीक्रममा अनेक उपाय गरेर पनि हात्तीको उपद्रोलाई नियन्त्रण गर्न नसकेको अवस्थामा विभिन्न देशका अनुभवहरु समेटेर सौर्य तारवार लगाउन थालिएको छ । यसले हल्दिबारी, कचनकवल, बाह्रदशीका बासिन्दाले अलि ढुक्क भएर बस्न, सुत्न व्यवहार गर्न पाएका छन् ।

झापाका जंगल हात्तीको स्वतन्त्र विचारण गर्ने प्रमुख थलो हो । भारतको आसाम राज्यबाट नियमितजसो आवागमन गरिरहने ती हात्तीले पुरानो जंगल क्षेत्र नपाउँदा खानेकुराको खोजीमा मानवबस्ती पस्ने गर्छन् । यसक्रममा भेटिएका मानिसलाई आक्रमण गर्ने गरेका छन्, जसकाकारण झापामा धेरैले ज्यान गुमाइसकेका छन् । त्यस्तै किसानले लगाएका अन्नबाली नष्ट गर्नुका साथै घरमा थन्क्याएको अन्न खोज्ने क्रममा हात्तीले घर नै क्षतिग्रस्त पार्ने गरेको छ । यही पीडाबाट पीडित वन क्षेत्र भएका दक्षिणी गाउँपालिकाहरु कचनकवल, हल्दिबारी र बाह्रदशीमा संघीय सांसद राजेन्द्र लिङ्देन, संघीय सरकार, डिभिजन वन कार्यालय झापा र स्थानीय सरकारको पहलमा सौर्य तारवार गरिएको छ । यसले मानवीय दुर्घटनाको जोखिम हटाउनुका साथै आतंक कम बताएको छ ।

जनघनत्व बढेसँगै वन क्षेत्र अतिक्रमणमा परेर कतिपय चराचुरुंगी एवम् वन्यजन्तुको अस्तित्व नै संकटमा पर्दै गएको छ । यसले पारिस्थितिक प्रणालीमा पर्ने असरको हिसाब वातावरणविद्ले राखेको हुनुपर्छ । तर, दुई दशकभन्दा अघिदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले भोगेको पीडा पीडित परिवारले मात्रै अनुभूत गरेका छन् । सौर्य तारवार नलगाएको बिर्तामोड नगरपालिकाको वडा नं. ६ र सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नं. १, २ बाहेकका बासिन्दामा त्रास बढेको छ । यसलाई रोक्न जंगलसँग जोडिएका क्षेत्रहरुमा तारबार लगाउन स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने भएको छ । अन्यथा यी क्षेत्रहरुमा जंगली हात्ती केन्द्रीत हुनेछन् । जसका कारण जनधनको क्षति हुने अवस्थाबाट उत्पन्न त्रास र आतंकको मात्रा बढ्ने निश्चित छ । त्यसैले समयमै सजग भई प्रतिरक्षाका लागि सम्बद्ध सबै पक्षले सामुहिक अग्रसरता देखाउनु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here