खुदुनावारीमा वेदी भूजेल बचाउ अभियानसँगै सार्की परिवारलाई सहयोग गर्न अपिल

0
594

अमित खम्बू / अर्जुनधारा ।

पाठेघरमा भएको क्यानसरका कारण हाल भक्तपुर क्यानसर अस्पतालमा उपचाररत् झापाको अर्जुनधारा–३ खुदुनवारी निवासी ४० वर्षीया वेदी भूजेल “कुमारी”को सहयोगको लागि बचाउ अभियान सञ्चालन गरिने भएको छ ।

गत पुस २२ गते डम्बरकुमारी अधिकारी “इन्दिरा”को संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहलमा सो अभियान सञ्चालन गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

छ महिना अघि पाठेघरबाट अत्याधिक रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणकोे लागि भद्रपुरस्थित मेची अस्पतालमा पुगेकी उनलाई अस्पतालले क्यानसरको शंका गरि थप परीक्षण गर्न भरतपुर क्यानसर अस्पतालमा पठाएको आफन्त रामबहादुर खवासले बताए । सो अस्पतालमा भएको परीक्षणबाट तेस्रो अवस्थाको क्यानसर पत्ता लागेपछी तीन महिनासम्म सोही अस्पतालमा उपचार गराएकी उनको हाल भक्तपुर क्यानसर अस्पतालमा उपचार भइरहेको आफन्त खवासले बताए ।

सामान्य आर्थिक अवस्थाकी भूजेलको उपचारमा हालसम्म १० लाख खर्च भइसकेको र थप उपचारको लागि अनुमानित १५–२० लाख लाग्ने समितिकी संयोजक अधिकारीले जानकारी दिइन् । “उपचारको क्रममा दुई कठ्ठा जमिन सकिएको र अब घरभिटामात्र बाँकी रहेको छ,‘सहयोग नजुटाउने हो भने घरभिटा पनि बेच्नुपर्ने अवस्था आउने सम्भावना रहेको छ”–उनले भनिन् ।

हाल बिरामीको अवस्थामा केही सुधार भएको आश्वासन चिकित्सकबाट पाएको उनको श्रीमान वेदप्रसादलाई उद्धरीत गर्दै समितिका सचिव यामबहादुर मगरले बताए । अभियान अन्र्तगत हालसम्म २८ हजार संकलन भएको र आवश्यक सहयोगको लागि समितिले सम्बन्धित निकाय, विभिन्न संघ–संस्था र दाताहरुसँग समन्वय गर्ने सचिव मगरले जानकारी दिए ।

कार्यक्रमका सहभागी अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनाल र नगर कार्यपालिका सदस्य खीनमान दासले वेदी भूजेलको सहयोगको लागि नगरपालिकामा छलफल गर्ने, आवश्यक सिफारिससँगै माथिल्लोस्तरका सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्ने संयुक्तरुपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई सन्तान १९ वर्षीया छोरी एलिसा र १७ वर्षीय छोरा निकेशका अभिभावक उनलाई सहयोग गर्न चाहने संघ–संस्था तथा महानुभावले ग्लोबल आईएमई बैंकको खाता नम्बर ५८०७०१०००६७०७मा सहयोग रकम जम्मा गर्नसक्ने तथा सम्पर्क नम्बर ९८१५९६६१६२, ९८१३६०१८६३ र ९८४२६६६३२१मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ ।

सार्की परिवारलाई सहयोग गर्न अपिल :

परिवारको मुल खम्बाकोरुपमा रहेको सदस्यनै क्यानसर रोगग्रस्त भई अस्पतालले उपचार सम्भव नहुने भनी घर फर्काएको अवस्थामा झापा अर्जुनधारा–३का वीरबहादुर सार्कीको परिवार हाल पीडामा रहेको छ ।

प्यारालाइसीस भएपछि दैनिक औषधीको भरमा रहेकी ६६ वर्षीया आमा नरमाया, ३४ वर्षीया बेरोजगार श्रीमती सुनिता, १६ र ७ वर्षीया छोरी र ३ वर्षको छोराको एक मात्र सहारा वीरबहादुर ओछ्यानमा थलिएपछि सार्की परिवारलाई विहान र बेलुकाको छाक टार्न मुस्किल भएको छिमेकी कमलप्रसाद दाहालले बताए ।

तिहार अघिसम्म काठमाण्डौंमा निर्माण मजदुरकारुपमा काम गरि परिवार धान्दै आएको उनी तिहारको विदामा घर आएपछि रोगको लक्षण देखापरेको श्रीमती सुनिताले बताइन् । सुरुमा नाकबाट रगत देखापरेको र पछी ऐंजेरु पलाएको अवस्थामा उनको उपचारको लागि सार्की परिवार बिर्तामोडको तारा होमियोहुँदै विराटनगरको नोवेल अस्पतालसम्म पुगेका थिए ।

नोवेल अस्पतालबाट क्यानसरको शंका भई स्वास्थ्य परीक्षणको लागि भरतपुर क्यानसर अस्पताल जान सुझाएको वीरबहादुरलाई भरतपुर क्यानसर अस्पतालले बिरामीलाई घरै लान भनेपछी एक हप्ता अघि घरमा ल्याइएको श्रीमती सुनिताले बताइन् ।

छिमेकी कमलप्रसाद दाहालका अनुसार उनको उपचारको लागि नोबेल पठाउने क्रममा पनि छिमेकीहरुको नेतृत्वमा विभिन्न संघ–संस्थासँग समन्वय गरि उपचार खर्च जुटाएर पठाइएको थियो । वीरबहादुरको उपचारमा हालसम्म डेढ लाख खर्च भएको बताइएको छ ।

सम्पत्तीको नाममा दुई कठ्ठा ऐलानी जमिन र सामान्य घर मात्र रहेको सार्की परिवारलाई उपचार गर्दा लागेको ऋणका कारण उठीबास हुने चिन्ता भएको भवानीप्रसाद अधिकारीले बताए । सोमबार सार्की परिवारको घरमा पुगेको सञ्चारकर्मीहरुसँग सम्बन्धित निकायले उनको वेरोजगार श्रीमतीको लागि रोजगारसँगै छोराछोरीको लागि उच्च शिक्षा प्रदान गर्ने वातावरण तयार गरिदिन छिमेकीहरुले माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here