झापा।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गरेका वुद्धशान्ति गाउँपालिका–३ निवासी इन्द्रप्रसाद दंगालको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई विमा वापतको रकम प्रदान गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विमा बापत एक करोड तीन लाख १५ हजार रुपैयाँ दंगालकी श्रीमती सुस्मिता थपलियालाई प्रदान गरिएको हो ।
कम्पनीले मंगलवार बिर्तामोडमा मृत्यु दावी भुक्तानी कार्यक्रमको आयोजना गर्दै मृतकको परिवारलाई विमा वापतको रकम प्रदान गरेको हो । दंगालको गत कात्तिक ४ गते शिवसताक्षी नगरपालिकाको दूधेमा सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
मृतकले गत असार ३१ गते ५० लाख रुपैयाँ बराबरको अमृत बर्षा विमा योजना खाता खोलेका थिए । उनले पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाएका थिए ।
१६ बर्षको सो विमा अवधि रहेको र मृत्युपछि उनकी श्रीमती सुस्मिताले मृत्यु दावीको कागजपत्र बिमा कम्पनीमा पेश गरेकी थिइन् । उक्त रकम कम्पनीले सम्पूर्ण प्रक्रिया पु¥याएर मृतकको परिवारलाई चेक हस्तान्तरण गरेको नेशनल लाइफ इन्स्योरेनस कम्पनी बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकीले जानकारी दिए ।
बिर्तामोड शाखा प्रमुख बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश नं. १ प्रमुख नरेन्द्र राई, मृतकका भिनाजु नयनप्रसाद ओली, अभिकर्ता अनन्तराम ओली लगायतले बोलेका थिए । कम्पनीका दिनेश पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिनियर विजनेस मेनेजर राजेशकुमार आचार्यले गरेका थिए ।





























