माघे संक्रान्तिको विशिष्टता

0
666

सम्पादकीय

आज माघे संक्रान्ति । आजैका दिनदेखि सूर्य मकर राशिमा प्रवेश गर्छ । सूर्य मकर राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिएको हो । मकर राशिमा प्रवेश गरेसँगै सूर्य उत्तरतिर ढल्किँदै जान्छ। त्यही कारण आजबाट लामो रात क्रमशः छोटिँदै जान्छ । सूर्य मकर राशिमा प्रवेश गरेको दिनलाई हिन्दू धर्मावलम्वीहरुले ठूलो र महत्वपूर्ण पर्वका रुपमा लिएका छन् । माघे संक्रान्ति पनि भनिने यस दिनको सांस्कृतिक तथा सभ्यताका दृष्टिले समेत महत्व रहेको छ । त्यसैले सनातन हिन्दूधर्मका अनुचर बाहेकका नेपालीले पनि यस दिनलाई विशेषरुपले मनाउने गरेका छन् । माघे संक्रान्तिका दिन हिन्दू परम्परा पवित्र नदी तथा जलाशयमा बिहानै नुहाउने गरिन्छ । यो दिन ननुहाउने मानिस जीवनभर रोगी रहन्छ भन्ने मान्यता रहेको छ । यसकारण पनि माघे संक्रान्तिको लौकिक महत्व समेत रहेको छ ।

पवित्र नदी, तलाउ, पोखरी वा जलाशयमा नुहाउने विशेष दिनका रुपमा मानिने यो दिन नुहाएपछि तिलको झिक्रा बालेर आगो ताप्ने चलन छ । यो नभए धुनी बालेर तापेर नुहाउँदा भएको चिसोजन्य रोगबाट मुक्त हुने जनविश्वास छ । यसरी आगो तापेर न्यानो हुने र वर्षभरि आफूबाट जानी–नजानी भएका पाप कर्मबाट मोक्ष मिल्ने मान्यता रहेको छ । तिलको झिक्रा बालेर शरीरलाई तातो पार्ने र तिल नै दान गर्ने परम्परा रहेको यो दिन जसले तिल, घिउ, चाकु, तरुल, लड्डु लगायतका खाद्य परिकार खाँदैन ऊ जीवनभर अस्वस्थ रहन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । शास्त्रीय तथा लौकिक परम्परामा अत्यन्त महत्वपूर्ण मानिने माघे संक्रान्तिलाई कतै माघी भनेर पनि मनाइन्छ ।

जहाँ जसरी मनाइए पनि हाम्रा सबै पर्वहरुको विशिष्ट महत्व छ । मानव शरीर पञ्चतत्वले बनिएको छ । तिनलाई चलायमान राख्नका लागि फरक–फरक खाद्यवस्तु आवश्यक हुन्छ । माघे संक्रान्तिमा विशेष परिकारका रुपमा खाइने घिउलाई ठीक ढंगले प्रयोग गर्दा शरीरमा ऊर्जा प्राप्त हुन्छ । जाडोको समयमा बढी ऊर्जा चाहिने भएकाले घिउको प्रयोग गर्नुपर्दछ । त्यस्तै चाकुबाट ग्लुकोजसँगै कार्बोहाइड्रेड र आइरन पनि पाइन्छ । त्यस्तै कन्दमुल तरुल, सखरखण्ड लगायतका खाद्य वस्तुबाट प्रोटिन प्राप्त हुन्छ । खाद्य वस्तुबाट प्राप्त हुने फाइबर पनि स्वस्थ रहन आवश्यक हुने स्वास्थ्य विज्ञानको मान्यता छ ।

हाम्रा पूर्वजहरुले मान्दै र चलाउँदै ल्याएको परम्पराभित्रको विशिष्ट चरित्र भएको यस दिन खाइने तिलको लड्डुले शरीरमा शक्ति प्रदान गर्छ । तेलहरुमध्ये उत्कृष्ट मानिएको तिलको तेलमा मल्टीभिटामिनसँगै आइरन र प्रोटिनको मात्रा पनि पाइन्छ । धार्मिक दृष्टिले पवित्र मानिएको तिलको प्रयोग जाडोको समय अत्यन्त फलदायी हुन्छ । विज्ञानले समेत माघे संक्रान्तिमा खाइने विभिन्न परिकारहरु र त्यसबाट प्राप्त हुने परिणामलाई सकारात्मक मात्रै होइन, अनिवार्य मानेको छ । यसदिनमा खाइने विभिन्न प्रकारका परिकारहरुले भिटामिन, आइरन, प्रोटिन, कार्बोहाइड्रेड दिने भएकाले शरीरमा ताप उत्पन्न हुने र बाहिरी चिसोबाट शरीरलाई रक्षा गर्ने विज्ञानको पनि मत रहेको छ । हिन्दू संस्कृतिमा रहेका यस्ता चाडपर्वहरुलाई चाडपर्वकै विशेषतासँग जोडेर मनाउने गरिए यसले धर्मको मात्रै रक्षा गर्दैन आफ्नो स्वास्थ्यको पनि सुरक्षा गर्छ । पुस १५, असार १५, दशैंतिहार जस्तै बेग्लै विशेषता बोकेको माघे संक्रान्तिको अवसरमा सबैमा मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here