कृष्णप्रसाद ढकाल,
संक्रान्ति शब्दले महिनाको पहिलो दिनलाई दर्शाउँछ । माघ १ गतेलाई संक्रान्ति र महिनाको अन्तिम दिनलाई मसान्त भन्ने चलन छ । ज्योतिष विद्याका अनुसार सौर्य गतिविधिमा आधारित भनेर जनाएको माघे सक्रान्ति एउटा महत्वपूर्ण पर्वका रुपमा नेपालका बिभिन्न स्थानमा मनाउने गरिन्छ ।
माघे सक्रान्ति (माघ १ गते) कै दिनबाट सूर्य मकर राशिमा प्रवेश हुने र दक्षिणायन (दक्षिण दिशा)बाट उत्तरायण (उत्तर दिशा)तर्पm लाग्ने कारणले जाडो क्रमशः कम हुँदै जाने र दिन लामो अनि रात छोटो हुन थाल्छन् । यसै माघे सक्रान्ति वा मकर सक्रान्तिको छ महिनापछि आउने साउने सक्रान्ति (श्रावण १ गते)लाई कर्कट सक्रान्ति भन्ने चलन छ । यस दिनबाट सूर्य पुनः मकर राशिबाट कर्कट राशिमा प्रवेश गर्ने हुनाले फेरि उत्तरायणबाट दक्षिणायनतर्पm भई त्यसबेला फेरि गर्मी कम हुँदै रात लामा र दिन छोटा हुन थाल्छन् ।
सक्रान्तिका चाडहरु सनातनदेखि चलिआएका सौर्य महोत्सव अन्तर्गतका पर्वहरु मानिएको छ । मानिसहरु आ–आफ्ना घर–आँगन लिपपोत गरेर सफासुग्घर पारी आनन्दपूर्वक यो चाड मनाउने गर्छन् । माघे सक्रान्तिका दिन जतिसुकै जाडो भए पनि त्यसको पर्वाह नगरी नजिकको सहज हुने नदीमा गई नुहाउने चलन छ । पूर्वी भेगमा बसोबास गर्दै आएका मानिसहरुको कन्काईमाई नदीलाई माता इश्वरीले बास गरेको, पवित्र नदीका रुपमा मानेर त्यहाँ गई नुहाएमा शुद्धता, आरोग्यता र रोगब्याधबाट मुक्ति पाइने विश्वासले प्राचीनकालदेखि नुहाउने परम्परा छ । आ–आफ्नो चलन अनुसार नुहाइ सकेर कोही मन्दिरमा पाठपूजा गर्ने र कोही घरमै कुलदेवता, इष्टदेवताहरुका पूजा गर्ने चलन रहिआएको छ ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्ला अन्तर्गतका थारुजातीहरु माघे संक्रान्तिलाई माघी पर्वका रुपमा धुमधामसँग मनाउने गर्छन् । यी चाडहरु मनाउने बिषयमा क्षेत्रीय र जातीय प्रचलन अनुसार अनेक प्रकार भेदहरु भए पनि प्रायः चन्द्रमासमा बढी चाडपर्व, व्रत–उत्सव, मेलाजात्राहरु मनाइने परम्परा छ । चाडहरुलाई व्यवहारिक रुपमा मनाउन नेपालीहरु धार्मिक र सास्ंकृतिक परम्परा अनुसार जनजीवनमा राम्रो र सुब्येफाब्ये होस् भनेर ज्योतिषिबाट साइत हेराउँदै के गर्दा अझ असल हुने र के गर्दा हानी हुने भनी भविष्यको लेखाजोखा र भौगोलिक ज्ञानका बिषयमा छलफल गर्ने चलन पनि छ ।
हिजोआज माघे सक्रान्तिमा नदी किनारमा गई नुहाउनै पर्ने प्रचलनका कारण मेची, महाकाली, कन्काईमाई, सप्तकोशी, सप्तगण्डकी आदि नदीका किनारमा रहेका देवस्थलहरु, घाटहरु, दोभानहरु र त्रिवेणीहरुमा मकरस्नानका उद्देश्यले उपस्थित धर्मप्रेमी यात्रुहरुको कारण ठूलो घुइँचो हुने भएकाले साना–ठूला मेलाहरु लाग्दछन् । काठमाडौं उपत्यका ललितपुरमा शंखमोल (वाग्मती र मनोहराको दोभान)मा पनि निकै ठूलो मेला लाग्दछ । रातो मच्छिन्द्रनाथको मन्दिरका साथै अहोरात्र यज्ञको आगो बलिरहने अग्निमठहरुमा पनि धार्मिक प्रेरणाले आकर्षित दर्शनार्थीहरुको बाक्लो उपस्थिति हुनेकारणले मेलाहरु लाग्दछन् । यसबारे एउटा लोककथन पनि छ–
सँधै ब्यापार चलाउँदै आएको एक ब्यापारीको माघेसक्रान्तिका दिन व्यापारमा एउटा अनौठो घटना घट्यो । बजारमा ब्यापारका लागि आवश्यक सामग्रीसँगै ब्यापारीले तिल पनि बेच्दै थियो । तर, जति बेचे पनि घरबाट बजार आउँदा बोकेर ल्याएको परिमाणको तिल घटेन रहिरहेकोले यो अनौठो कसरी भएको होला ? भनेर असमञ्जसमा परेर तिलको बोरा यताउता पल्टाउँदै बोराभित्र हात घुसाएर हेर्दा तिलको राशिमुनि नारायणको मूर्ति फेला प¥यो । बजारमा यो बिषय चर्चामा गइसकेको थियो । जति बिक्री गरे पनि तिल नसकिएर रहिरहनुमा ईश्वरीय शक्तिको महिमालाई हृदयङ्गम गरी सबैको सहयोगबाट भक्तपुरको त्यहीँ टौमढीटोलमा तिलमाधव नारायणको सुन्दर मन्दिरको निर्माण गरियो । माघेसक्रान्तिका दिन हिजोआज पनि दर्शनार्थीहरु, श्रद्धालु भक्तजनहरु त्यहाँ उपस्थित भई बिहान नुहाएर तिलमाधव नारायणलाई यथाशक्य रुपमा घरबाट आपैंmले बनाएर लिएर आएका पञ्चामृत, घिउ, चाकू र विशेषगरी तिलका लड्डुहरु चढाउँदै प्रसादको रुपमा आफूले पनि ग्रहण गर्दछन् । धेरै मानिसहरु उपस्थित भई बाक्लो घुइँचो हुने कारणले तिलमाधव नारायणस्थानमा ठूलो मेला लाग्ने प्रचलन रहिआएको छ ।
धेरै श्रद्धालु भक्तजनहरु माघेसक्रान्तिका दिन मकर नुहाउने, मेला हेर्ने र मेला भर्ने उद्देश्यले रिडी, देवघाट, त्रिवेणी, बराहक्षेत्र, काशी, प्रयाग, हरिद्धार र गंगासागरम्म पनि पुग्ने गर्छन् । माघेसक्रान्तिका दिन पवित्र मानिएको नदीमा गई नुहाउनै पर्ने प्रचलन भएको कारणले गर्दा जहाँ–जहाँ नुहाउने श्रद्धालु भक्तजनहरुको बढी उपस्थिति हुन्छन् त्यहाँ बढी भिडभाड भई मेलाबजारहरु लाग्ने गर्दछन् । त्यहाँ रमिताको प्रबन्धका रुपमा पिङ, जादु, नाटक लगायतका मन भुल्याउने सामग्रीहरु पनि राखिएकाले हेर्नेहरुको ठूलै घुइँचो हुन्छ । मानिसहरु अनेक प्रकारका खेल खेल्ने, नाचगान गर्ने र दोहोरी गीत गाउँदै खुब रमाइलो गर्ने गर्दछन् ।
प्रायः त्यसदिन आफ्ना छोराछोरीहरुको शिरमा आरोग्य लाभ होस् भनेर तेल लगाइ दिने र कान सफा गरी तेल हाली दिने चलन पनि रहिआएको छ । बिहानै जाडोमा मकर नुहाउने मानिसहरु पारिलो घाममा बसेर घाम ताप्दै तोरीको तेल जीउमा घसेर शरीरको चिसोसँग लड्नसक्ने क्षमतामा बृद्धि गराउने कार्यमा पनि रहेका देखिन्छन् ।
प्रायः गरी यस मकर सक्रान्ति पर्वमा खिचडी, तस्मै, खीर, घ्यू, चाकु, तिलका लड्डु आदि चीजबीजहरु बनाएर वा पकाएर देवदेवीहरुलाई चढाउने र चढाइसकेपछि उपस्थित सबैले प्रसादको रुपमा बाँडेर खाने चलन छ । हिन्दूसस्ंकृति अन्तर्गतको माघे सक्रान्ति वा मकर संक्रान्तिमा नुहाउनु अनिवार्य भनिएको बिषयलाई शरीर सफा राख्ने तथा स्वास्थ्य राम्रो राख्ने भन्ने महत्वपूर्ण कार्यमा ध्यान पु¥याउन यस पर्वले सबैमा सन्देश गराएको छ ।

























