आज मकर संक्रान्ति, माईमेलामा सुरक्षा ब्यवस्था कडा

0
1743

झापा ।

पवित्र नदी एवम् त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवम् खिचडी खाएर माघे (मकर) संक्रान्ति पर्व आज देशभर मनाइँदैछ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैले आजको दिन झापाको कनकाई लगायत देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेंणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गरेको छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञयज्ञादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण पनि उत्तम हुन्छ– उनले भने । उत्तरायणका पनि माघ र वैशाख महिना उत्तम मानिएको धर्मशास्त्रविद् गौतमले बताए । कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ, प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुखशान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वास समेत छ । आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्ति अनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ । सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलन देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शैय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।

मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरिन् । सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गरेकी छिन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

यसैबीच झापाको कोटीहोमस्थित कनकाई नदीको किनारमा माईवेनी मेला शुरु भएको छ ।
पूर्व क्षेत्रमै बढी भक्तजन मकर स्नान गर्न सहभागी हुने यस मेलामा नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारत, भुटान र बंगलादेशबाट समेत हजारौको सङ्ख्यामा भक्तजनहरु आउने गर्दछन् ।

माघे मेलाको मुख्य दिन माघ १ गते भक्तजनको सुरक्षालाई ध्यान राखेर नेपाल प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । माघे मेलाको सुरक्षाका लागि आवश्यक जनपद, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको साथमा तालिम प्राप्त स्वयम्सेवकहरुको व्यवस्थापन गरेर भक्तजनको सुरक्षाको प्रबन्ध मिलाइसकेको प्रहरीले जनाएको छ ।

यसैबीच १ नं. प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा १ नं. प्रदेशमा सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले सूचना प्रकाशन गरी माघ १ गते १ नं. प्रदेशमा सार्वजनिक बिदा भएको जानकारी दिएको छ । प्रदेशवासी सबैको सहजताका लागि सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here