मौलिकताको अनुशरण गरौं

३ माघ २०७६, शुक्रबार मा प्रकाशित

सम्पादकीय

नेपाल बहुजातीय संस्कृतिको केन्द्र हो । त्यही सांस्कृतिक सम्पन्नताले नेपाली विश्व समुदायकाबीच परिचित छ । त्यस्तो परिचय नेपालीको क्षेत्रगत, भूगोलगत भाषा र भुषागत विशिष्टताले झन उजिल्याएको छ । सानो भू–खण्ड भएर पनि फरक–फरक पहिचान बनाएका सयभन्दा बढी जात–जातिका बीच पूर्वी नेपालको तराईमा बस्ने राजवंशी, धिमाल, गनगाँई, ताजपुरिया जातिको बेग्लै परिचय छ । कोच आदिवासी राजवंशी समुदायले गाउँदेखि शहर जोड्ने साझा कार्यक्रमका रुपमा पुस २९ गतेलाई भाक्का दिवसका रुपमा मनाए । झापाको बिर्तामोडमा कोचिला गाभुर फ्रन्टको आयोजनामा भएको कार्यक्रममा उनीहरुको सांस्कृतिक पहिचानको प्रस्तुतिसहित चामलको पीठोबाट बनाइने भाक्का निःशुल्क खुवाइएको थियो ।

सरकारले भ्रमण वर्षको अभियान सञ्चालन गरिरहेको समय राजवंशी समुदायको खाद्य परिकार भाक्काको प्रवद्र्धन गर्न यो दिवसले सहयोग नै गर्नेछ । भ्रमण वर्षको सन्दर्भमा नेपाल घुम्न आउने पर्यटकलाई कोच राजवंशी समुदायको संस्कार र संस्कृति देखाउन सकिए मनोरञ्जनात्मक मात्रहोइन नवीनता पनि दिन सकिने थियो । आदिवासी जातिको भाषा मात्र होइन पहिरन, चाडपर्व, रीतिरिवाज, गीत, नृत्य, घरको ढाँचा, घरमा रहने कलात्मकता, जीवनपद्धति सर्वथा छुट्टै पहिचानका छन् । यद्यपि जीवनपद्धतिसँग जोडिएका त्यस्ता विशिष्टता विलुप्त हुँदैछन् । ‘वन साङ्गालाले घर साङ्गाला’लाई खाए जस्तै आयातित संस्कार र संस्कृतिको चेपुवामा पर्दै विस्थापनको मार्गमा उन्मुख छ ।

नेपाल भ्रमण वर्षको सन्दर्भमा यो वर्ष १ नम्बर प्रदेश सरकारले भाक्का दिवसको प्रवद्र्धनमा सहयोग गरेको जनाइएको छ । त्यहीकारण हुनसक्छ भाक्का निःशुल्क वितरण गरियो र पहिचान झल्किने संस्कृतिको समेत प्रवद्र्धन गरिएको थियो कार्यक्रममा । भारतको पश्चिम बंगाल, आसाम, मेघालय र विहारमा बसोबास गर्ने कोच समुदायको समेत उपस्थिति गराएर आयोजकहरुले जातीय एकता बलियो बनाउन खोजेका छन् । एकताले समृद्धि ल्याउन समेत मद्दत गर्ने भएकाले प्रत्येक जातजातिले आ–आफ्ना विशेषताहरुको संरक्षण गर्नु पर्दछ । जन्मदेखि मृत्युपर्यन्तका संस्कार र संस्कृतिमा सम्पन्न राजवंशी जातिले भाक्का मात्र होइन परम्परागत मौलिक पहिचानको संरक्षणमा समेत ध्यान दिनु पर्दछ ।

आज धेरै जातजातिमा जातीय पहिचानको संकट उत्पन्न हुन थालेको छ । प्रतिक्षण, प्रतिकर्म र प्रतिदिन आफ्ना पहिचानलाई त्याग्दै जान थालेको यो समय सबैमा चेतना जागृत हुनै पर्छ । सबैले आफ्नो भाषा, संस्कृति, भेषभुषा, संस्कार, रहनसहन र जीवन पद्धतिभित्रको मौलिकता प्रति प्रेम गर्न र त्यसको रक्षा गर्न अघि सर्नु पर्दछ । वर्षमा एकदिन भाक्का खुवाएर मात्रै कोच जातिको अस्तित्वको रक्षा हुन सक्दैन । यसआधारमा सबै जातिले आ–आफ्नो पहिचानको महत्वलाई बोध गर्न त्यसको अनुशरण गरेर जातीय गौरव, पूर्वजप्रति सम्मान गर्न समेत यस्ता कार्यक्रमले प्रेरणा दिनुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here