बिर्तामोड ।
बिर्तामोडमा रहेको सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एक कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।
संस्थामा विगत आठ वर्षदेखि लेखापालको रुपमा कार्यरत् बिर्तामोड ८ मेथीवारी निवासी पदम मिश्रलाई आर्थिक सहयोग गरिएको हो ।
ठूलो आन्द्राको क्यान्सर भएर उपचाररत् रहेका लेखापाल मिश्रको गत पुस २६ गते बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
आफ्ना कर्मचारीको निधन भएपछि संस्था सञ्चालक समितिका अध्यक्ष गंगाराम ओडारीको नेतृत्वमा संस्था सञ्चालक समितिका पदाधिकारीहरु र कर्मचारीहरुको टोलीले स्व.मिश्रको घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।
संस्थाले काजकिरिया खर्चवापत ५० हजार रुपैयाँ स्व.मिश्रका परिवारलाई प्रदान गरेको संस्था सञ्चालक समितिका सचिव तथा व्यवस्थापक कमल पराजुलीले जानकारी दिए ।
स्व.मिश्रको घरमा आयोजित श्रद्धाञ्जलि सभामा संस्था सञ्चालक समितिका अध्यक्ष गंगाराम ओडारीले काजकिरिया खर्चवापतको ५० हजार रुपैयाँ र समवेदना पत्र स्व.मिश्रका दाजु दुर्गाप्रसाद मिश्रलाई हस्तान्तरण गरेका थिए ।
लेखापाल स्व.मिश्रलाई यसअघि उपचाररत् रहेको समयमा उपचार खर्चवापत दुई लाख ३६ हजार रुपैयाँ प्रदान गरिएको संस्था सञ्चालक समितिका अध्यक्ष गंगाराम ओडारीले जानकारी दिए ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो कार्य गरेको बताउँदै उनले संस्थाका कर्मचारी भनेको संस्थाको मेरुदण्ड भएकाले कर्मचारीहरुको सुख दुःखमा सदैव साथ दिने बताए ।
श्रद्धाञ्जलि सभामा सहभागी अरनिको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोहितकुमार भट्टराई, गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाई लगायतले सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले गरेको कार्यको प्रसंसा गरेका थिए ।
संस्थाले विभिन्न दुर्घटनामा परेर मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा शेयर सदस्यलाई एक लाखदेखि १० लाख रुपैयाँसम्मको निः शुल्क दुर्घटना बिमा सुविधाको रकम प्रदान गर्न शुरु गरेको बताइएको छ ।































