अर्जुनधारामा महाभारतकालीन सभ्यताको प्रतिमा

३ माघ २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड, भगवान श्रीकृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखिएसंगै अर्जुनधारा नगरपालिका भित्र आउने पर्यटकका लागि यो प्रतिमा आर्कषकको केन्द्र बनेको छ ।

अर्जुनधारा नगरपालिकाले २५ लाख रुपैयाँ खर्च गर्दै महाभारतकालीन सम्भता झल्कने चारवटा घोडाको रथ हाँकेको प्रतिमा शनिश्चरे वजारमा राखेसंगै आन्तरिक तथा वाह्रय पर्यटकका लागि आर्कषकको केन्द्र विन्दू बनेको हो । यो संगै जिल्लाकै पुरानो बजार शनिश्चरेलाई पर्यटकीय नगरीका रुपमा बिकास गर्न भौतिक संरचना निर्माणको काम शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाको पहलमा शनिश्चरे बजारको चोकमा अहिले आर्कषक पार्क बनाउन शुरु गरिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताउनुभयो ।


सरकारी स्वामित्वको यो जमिनमा यसअघि निर्माण गरिएका संरचना नगरपालिकाले भत्काएको थियो । खाली भएको जमिनमा धार्मिक तथा ऐतिहासिक सम्पदाको प्रतिमा राख्ने काम शुरु गरिएको नगरप्रमुख राना बताउनुहुन्छ । शनिश्चरे बजारलाई आधुनिक पार्क बनाउन नगरपालिकाले योजना बनाएर बजारलाई स्थानान्तरण गरेको थियो । शनिबार लाग्ने हाटलाई वडा नम्बर ८ मा दुई बिगाहा जमिन किनेर स्थानान्तरण गरिएको नगरपालिकाका प्रमुख रानाले बताउनुभयो । मुख्य सडकभन्दा अन्यत्र हाट लाग्न थालेपछि नगरपालिकाले चोकमा पार्क बनाउन शुरु गरेको हो ।

शनिश्चरे बजार नजिकै अर्जुनधारा जलेश्वर धाम रहेको छ । सोही धामको नामबाट नगरपालिकाको नाम पनि अर्जुनधारा रहन गएको बताइन्छ । धाममा बर्षेनि हजारौं धार्मिक पर्यटक दर्शन तथा अवलोकन र अध्ययनका लागि आउने गरेका छन् । नगरपालिकाले अर्जुनधारा धाममा आउने पर्यटकलाई लक्षित गरेर महाभारतकालीन सभ्यता झल्किने मूर्ति सहितको पार्क निर्माण गरेसंगै नगरकै मुहार फेरिएको हो ।

द्वापर युगमा १२ बर्षको बनवासपछि एक बर्षका लागि गुप्तवास बसेका पाण्डवमध्ये अर्जुनले बिराट राजाको गाई चराउँदै सो स्थानमा आएको धार्मिक किंवदन्ती छ । चराउँदै गरेका गाई तिर्खाएपछि अर्जुनले बाँण हानेर पानी निकालेको तथा आफूले चराएका गाईलाई त्यहाँ पानी खुवाएको भन्ने महाभारतकालीन मान्यता अनुसार त्यस स्थानको नाम अर्जुनधारा रहन गएको बताइन्छ ।

ठेकी वजारका रुपमा जिल्लामै ख्याति कमाएको शनिश्चरे वजारले विस्तारै फड्को मार्दै अहिले पर्यटकीय नगरीका रुपमा विकसित भएको छ । अहिले काठका ठेकी बिस्थापन हुने अवस्थामा छन् । नगरपालिकाले ठेकीको प्रतिमा, केही बर्ष अघिसम्म सामान ढुवानीमा प्रयोग गरिने बयलगाडा(गोरुगाडा),सहितको आकर्षक स्वागतद्वार निर्माण गर्ने योजना अघि सारेको छ ।

यो संगै अर्जुनधारा नगरपालिकाले आफ्नो नगरलाई पर्यटकीय नगर बनाउन लागेको हो । अर्जुनधारा नगरपालिका भित्र रहेको अर्जुनधारा मन्दिर बाहेक नगरमा रहेका अन्य पर्यटकीय क्षेत्रमा वर्षेनि हजारौं पर्यटक घुम्न आउने गरेका छन् । जसका कारण पर्यटकीय नगरका रुपमा अर्जुनधारालाई लिन थालिएको छ । रासस

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here