पर्यटन महोत्सवमा सिक्किमका मुख्यमन्त्री आउने

0
330

झापा।

काँकरभिट्टामा हुने एशियन ग्रामीण पर्यटन महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पीएस गोले आउने भएका छन् ।
आयोजकले बुधवार गोलेलाई भेटेर निम्तो दिएपछि उनले आफू आउन इच्छुक रहेको बताएका हुन् ।

महोत्सवको छैठौं संस्करण यही माघ २६ गतेदेखि काँकरभिट्टामा आयोजना हुने भएको छ । सन् २०१२ बाट शुरु भएको महोत्सवको पाँचवटा संस्करण बाहुनडाँगीमा सम्पन्न भएको थियो ।

सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई समेत ध्यानमा राख्दै काँकरभिट्टामा महोत्सव आयोजना हुने भएको छ । महोत्सव पहिलोपटक बाहुनडाँगी बाहिर हुन लागको आयोजकले बताएको छ ।

माघ २६ देखि ३० गतेसम्म काँकरभिट्टाको देवकोटा पार्क र आसपासको बजार क्षेत्रलाई महोत्सव क्षेत्रका रुपमा रहने गरी आयोजना हुने महोत्सवका आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीले बताए । कार्कीका अनुसार यसपटकको महोत्सव मौलिक हुनेछ । नेपालले पर्यटन वर्षका रुपमा सन् २०२०लाई घोषणा गरेको अवस्थामा महोत्सवको महत्व र व्यापकताका लागि स्थान परिवर्तन भएको आयोजकले जनाएको छ ।

पर्यटन वर्षलाई समेत लक्षित गरेर आयोजना गर्दा राम्रो हुन्छ भन्ने सुझावका आधारमा काँकरभिट्टामा गर्न लागेका हौं– अध्यक्ष कार्कीले भने– यसपटक महोत्वसलाई सँधैभन्दा फरक र प्रभावकारी बनाउने छौं । महोत्सवमा नेपाल भारत, भुटान, बंगालदेश, लगायतका ग्रामीण पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने बताइएको छ । महोत्वसको तयारीका लागि ५१ सदस्यीय मूल आयोजक समिति समेत गठन भएको अध्यक्ष कार्कीले बताए ।

महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पीएस गोले अतिथिका रुपमा आउने भएका छन् । महोत्सव आयोजक समितिको एक प्रतिनिधि मण्डलले बुधवार सिक्किमको जोरथाङमा मुख्यमन्त्रीसँग भेट गरी महोत्सवको निम्तो दिएको थियो । निम्तो ग्रहण गर्दै मुख्यमन्त्रीले आउन इच्छुक भएको बताए । उहाँले हाम्रो निम्तोलाई हार्दिकतापूर्वक स्वीकार गर्नुभयो– मुख्यमन्त्रीले आवश्यक प्रक्रिया पूरा गरेर महोत्सवमा सहभागी हुन इच्छुक रहेको बताउनुभएको छ ।

भिजिट नेपाल मेचीनगर जागरण अभियानका टोली नेता डिल्लीराम घिमिरेले भने– हामीलाई उहाँले पक्का आउँछु भन्नुभएको छ । भिजिट नेपालको जागरण अभियानको तर्फबाट मुख्यमन्त्रीलाई भिजिट नेपालको लोगो अंकित टिसर्ट र व्याज हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here