कचनकबलमा विज्ञान, प्रविधि तथा कला प्रदर्शनी

0
1211

भद्रपुर ।

कचनकवल गाउँपालिकामा गाउँपालिकास्तरीय प्रथम विज्ञान, प्रविधि तथा कला प्रदर्शनी २०७६ को तयारी गरिएको छ ।

कचनकवल–६ बनियानीस्थित लक्ष्मी माविमा आइतबार एकदिने विज्ञान, प्रविधि तथा कला प्रदर्शनी हुन लागेको कचनकवल शिक्षा शाखाका प्रमुख छवि बस्नेतले जानकारी दिए । सो प्रदर्शनीमा गाउँपालिकासहित विभिन्न स्थानीय तहका २९ वटा सामुदायिक र १५ वटा निजी गरी ४४ वटा विद्यालयले सहभागिता जनाउने उनले बताए ।

कार्यक्रमको उद्घाटन झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले गर्ने बताइएको छ । सो प्रदर्शनीमा तीन वटा मावि, दुईवटा आधारभूत र एउटा प्राविका दरले जम्मा ८० वटा स्टल राखिने छ । भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले आविष्कार गरेको औजारहरू प्रदर्शनसँगै हिमाली मावि भद्रपुरको पशु विज्ञान सम्बन्धी र मोती मावि कचनकवलको बाली विज्ञान सम्बन्धी, पशुपति मावि बाह्रशीले स्मार्ट टाउन र सिग्मा इन्टरनेशनल हल्दिबारीको प्रदर्शनी रहने बताइएको छ ।

त्यस्तै स्यानेटरी सोलुसन उद्योग मेचीनगरको भेन्डिङ मेसिनसहित सहभागी विद्यालयहरूले हेलिकोप्टर, ड्रोन, रोबोट, परिस्कोप, पानीजहाज, धुँवा तान्ने मेसिन, रकेट, एटिएम मेसिन, हाइड्रोलिक ब्रिज लगायतको प्रदर्शनी हुने शाखा प्रमुख बस्नेतले बताए ।

प्रदर्शनी कार्यक्रम अघि शिक्षा शाखाले सहभागी विद्यालयहरूको स्थलगत अनुगमन गरी शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गरिसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here