गौंथलीको बाऊका प्रगतिशील रचना र माइला बाको झ्वाँक

४ माघ २०७६, शनिबार मा प्रकाशित

व्यंग्यनारान पाँडे,

“अस्ति क्या त, दुई हज्जार छयात्तर बिकरम् सम्मत् पउख मैनाको एक कोरी छ गते पर्तिपधा तिथिको सन्सरबारभन्दा अगिल्लो चइँ नओमी तिथिको सन्सरबार बेहान मैले तपइँलाई सुनाको ‘हामेरको नेपाल देश’ नाम्को पर्गगतिशील कवित् तेस दिन कम्रेट कान्चा साउको राएस मेलामा ती साउका मतारीको जन्म दिओस्का उपलच्छेमा मैले सुनाउँदा ख्याल खुशी भ’नन् सोर्ता भानुभाउहेरु क्या पाँडे भाइ !”— अविराम यसो भन्दै आएका गौंथलीको बाऊले कुर्सीमा बसेपछि एकाएक अनुहार अलिक बिसन्चो पार्दै थप भने— “तर, त्याँ सभागी टोट्टलमद्दे मेरा पच्छेका बौमतले पटटट थप्पडी मार्दा हामेरकै चइँ मेची कलेचको क्याम्पासका पोरपेसर बासिस सरका माइल्बा चइँ कुन टपिकमा हो कोनि उन्का छेउछाउ बसेकालाई बेजोड हँसाइराख्या थे । उनले एक्कैखेप प्याट्टसम्म थप्पडी बजा’नन् । आफै पनि थुक सर्काउँदै एत्रो हाब्डो खोलेर हा–हा–हा गरी–गरी मेरो कबित् पाठलाई स्यानो डिस्टन गरिराख्या थेनन् ।”

आज पनि उनको फुइँ लाउने विषय साहित्य नै रहेछ भन्ने बुझें मैले र अल्छी बोलीको सोधें— “ती माइला बालेले चाहिँ तपाईंको उस्तो खाँटी प्रगतिशील कवितालाई किन हेपेका रहेछन् भन्ने बुझ्नु भएन त ?”
उनले तुरुन्तै भने— “किन बुद्दिनथेँ ? बुजेँ नि । उनसँग भ्याङखर डिस्केस र झन्नै हात मिसामिस नै भो । मैले मेरो कबित् पाठ, मुक्तक पाठ र लगु कथा पाराइन गर्दाहुँदी लइन्–लइन्मा उत्रा सोर्ताले थप्पडी बजा’र चइनेकेर गोस्टी कार्रेकरम नै गुन्ज्या’र ‘राम्ररो ! अत्ति राम्रो !’ भन्दा अगि तपइँले चइँ किन थप्पडीको प्याट्टसम्म पार्नु भ’नौ, न त राम्रोको रा मात्तै पनि भन्नुभयौ हँ ? भन्र थर्काएँ । तर उन्ले अस्ति मुङसिरमा बे–सादीको मउसुम पर्खर भका ट्याममा एकै दिन नउ–नउ बे–सादीको भोज खाँदै आइमाई–मैला दिदी–बुइनीका नाङ्गा डँडाल्ना र अगाडिका क्वाटर चोला हेर्दा रामरमाइलो भको काहानी साथीभाइलाई भन्ने सुरमा मेरा पाठपाराइनतर्फ ध्यानै नग’को पस्टिकरन दिँदै फेरि पनि मुख च्यातिनेसम्म च्यातेर हाँसे पो ! मेरो पालो बेस्मारी कड्किँदै— यो पिण्ड खानुपर्ने उमेरमा एक्कै दिन नउ–नउओडा बे–सादीमा लखर–लखर चटारिँदै र समाभेसी कोटा खा’र छाला बाक्ला र किरिम–पउडरले गोराखिला भका मैला दिदी–बुइनीका नाङ्गा डँडाल्ना र साँगुउउउरा चोलाहुँदी हेर्दै बोइलारका चौटा, तारेका माच्छा, घिउसरि पुलाउ, परि–परिका तर्कारी र अच्चार–बिच्चारका सित्तन, रसगोल्लाका दाना हालेको दै हसुर्दै हिन्न कल्ले आलो तपइँलाई ? हामेरको बौमतको सर्खारको चन्द्रमा दाइनु भइराख्या एस ट्याममा अलिकति डिस्पिपिलनको हेक्का राखेर चइनेकेरे कि माइलेमालाई लग्नुपर्ने—उनले कन्टोल गर्नुहुथिन् अथबा मलाई नै साथी लग्य भा हुन्थ्यो । आफू चइँ बर्खाभरि खेतमा जोत्तिया गोरु जस्तो देश, रास्ट, समसकीर्ति, साइत्ते, मात्रिभूइँका लागि भोक्भोकै खट्नुपर्छ, रामरमाइलो चइँ न काममा हबिदले पर्तेपच्छे जइसो अन्भार परेकाले गर्ने ?….मात्तै भन्न भ्याइरथेँ बूढाले मेरो कठालामा झ्याप्प समा’र चइनेकेरे झ्याक्झ्याक् पार्दै हल्लाखल्ला मच्चिने गरी आँदी मच्चाइहाले नि । के फुइँयाँको साइत्ते गोस्टी ? बडो ठूलो कविकार–लेखककार हुँदो रच यो फ्याउरो । हेर्दा चोर–लुच्चो जस्तो तँ, मसित सिङ जोर्ने सम्मन पनि भने ! के–के भने–भने !”….
मैले खत्खत् हाँसोसँग स्वर गिजोल्दै भनें— “अनि तपाईंले पनि ती माइला बाको कठालो फिर्ती समाउनु नि । रीस उठेन ?”

उनले गाई–बाच्छालाई नून–भूस चटाउने गरेको र तिनै गाई–बाच्छाले कुल्चेर थोत्रिएको हलुङ्गेको थाल झैं अनुहार कुच्याएर भने— “काँ रीस बउठ्नु हउ हन ? रननन कान तातेर, जीउ थर्थर काँपेर, रीसैले होला झन्नै सुरालमै पेसाप सुइँकेको ! उत्रा ठूलो बिल्डिङ र रङ–रोकनले चिरिच्याँट्ट कलेचको क्याम्पासका पोरपेसर बासिस सरका निजै माइल्बालाई हात छोड्न मेरो नइतिक बुद्धिले देओस् त थुक्क ! नभा म तिन्का दाँत झारेर कौडा नखेली–तिन्का आँखा फुकालेर गुच्चा नखेली के छोड्थेँ । …हुन ता बासिस सरले बारम्बार भन्नुहुन्थे—इ माइल्बा सँद्दै खोर्सानीको खाजा खा’ जस्तै पीरा–खरा छन् भन्र । तेइ सम्जेर मैले हात थाम्या नभादेखुन् उन्को अन्भारलाई ठामका ठाममै सुकेको सख्वाको बोक्रो जस्तोमा उल्था गर्दिन्थेँ म । रीस नउठ्ने त कुरै नट् नि ।”….
मैले हाँस्तै भनें— “बुद्धि पुर्याउनु भएछ र धन्न माइला बाको बाङ्गे लौरोका स्वाँठहरुको नीलडाम परेनछन् हातगोडा र करङतिर । टाउकामा टुटुल्का पनि देख्तिन म र दाइलाई ज्यूँका त्यूँ सग्लै देख्न पाएछु मैले । होइन त दाइ ?”
उनी खल्तीबाट खोसेल्टा कागजको स–सानो बिटो निकाल्दैथे र शायद मेरो सोधाइको पर्वाह नै नगरी भने— “तेइ त भन्या । खरा हुनहुन्छन् ती माइल्बा ।”

उनले झिकेका कागजका पाना घुँडामा फैलाएर त्यसमाथि हल्केलाले दलेर सोज्याउँदै भने— “खएर तेस टपिकमा नकुरा गरम् अब ।….र यो कवित् अस्ति नै तपइँले सुनेकै परो…. र यो मुत्तक अनि यो लगु कथा गर्दा तिन्टा मेरो साइत्ते सुनेसि ती माइल्बा र उन्का गफेडामा अल्जेका कतिपए बाएक धेरैपएले—‘अब गङ्गापर्सात उर्पेति कम्रेटको टरम सक्केसि गोबरम्यानले तपइँलाई डाइरेक नेपाल पर्याँ पर्तिस्टानको कुल्पतिमा भर्ति नगरी धरइ नपाउने लच्छिन पायौं हामेरले । अब हामेररु जम्मै कम्रेट एक जइन् भ’र तपइँको नाम सिपारिस गरेर पेसर पनि गर्छम’ सम्म पनि भने ।… र अब तपइँ सिरेसली भऊ र मेरा तिनै मुत्तक र लगु कथा पनि सुन”—
उनले जीउ यताउता ढल्याकढुलुक मर्काएर मिलाएपछि प्रतियोगितात्मक साहित्य गोष्ठीहरुमा उपस्थितहरु सबैलाई सर्काएर—फुक्र्याएर सम्बोधन गरी पुरस्कार जिप्ट्याउन खप्पिस चङ्खे–चतुरेकै ढाँचामा भन्न थाले— “उपस्थित साइत्तेलाई प्राणपिर्रे ठानी मेरो साम्ने बसेका मेरा गाम्का अमूल्ले रत्न पाँडे भाइ ! तपइँ भामट कुरो बुद्ने व्याक्ति भकाले म मेरा असङ्खे पर्गतिशील मुत्तकमद्दे एउडो पाठ गर्न लागिराँछु । एस मुत्तकको हेटिङ छ ‘उडुस र नर्क’ । लौ सुन्ने किर्पा गर—

तँ उडुस रगत चुसेर भइराख्या छस् पुटुस्स ।
मट्टितेलको एक थोपो मुखाँ पर्दै मर्छस् फुस्स ।।
तँ थिनस् मेरो मित्र भने किन पसिस् सिरकभित्र ?
तँ पढ्के रगत मात्तै खान्छस् बज्या अपवित्र ।।
मान्छेको रगत लुकीलुकी खाने तँ राच्छेस होस् ।
रातरातै छाउरा काड्छस् हन्मत साला तेरो जोश ।।
तँलाइ नमार्नु भन्र कुन तेरा बाजेले गर्छ तर्क ?
तेरा शाखासन्तान विनाश हउन् तँ अनि जा नर्क ।।
तँस् मोरालाई कस्सैले भन्दैन नर्कबड एतै फर्की ।
तेरी जोई आर्कासँग लागोस् तँबड तर्की–तर्की ।।”
उनले लगत्तै अर्को पन्ना सोज्याएर भने— “अब म मेरो लगु कथा पाराइन गर्ने अनमति लिन्छु । एस्को टाइटिल ‘बिउटी लाटी’ छ र यो कथा एस्तो छ—
पान्थर मेलबोटेमा झाक्री बा भन्ने एकजना खाइन्पाइन्ले रातापीरा बूढा बस्थे अरे । उन्का दोडी छोरीमद्दे जेठी चइँ हेल्लोके भन्ने मुठामुठै जुँगा भको खँदालसँग कान्छी भ’र गकी, बर्सेनीका चाडा छाउरा–छाउरी कोरलेसि एउडा पल्टनेसित पोइल गकी अरे । कान्छी चइँ नबोल्ने–नसुन्ने लाटी भा नि मुन–पेटकी उधुम बाठी र अलि टाढाबड चोख्खै हेर्दा सेनिमा खेल्ने हिरोनीमा भिल्लेन्नी जस्ती बिउटी थी अरे । निक्कै उमेर भउन्जेल बे–सादी नभको झ्वाँकमा तो केटी कोइसँग बिग्रिछ र पेग्नेन भइछ अरे । केटो को हो एई ? भन्र गाम्ले मौलाहर्ले केर्दा कैले उस्कै भूतपूर्वक भिनाजु बुजिने गरी जुँगाको र कैले झण्डा भको मटरगाडीमा गुड्ने मान्छे बुजिने इशारा गर्थी अरे । तेल्ले तेसखेप एउडो सोलिड छाउरो पाएसि फेरि आर्को उपद्रो चइँ देख्नमा आ’थेन अरे र तो छाउरोको जिम्मा पनि कस्सैले अङ्भर गर्या थेनअरे । इ सप्पै कैरन सुनेसि म सोएम् पनि तेल्लाई हेर्न र कुरो मिलो भने सँगै लेराइ उद्दार गर्न तेस्का घरमा हान्नेर पुगेछु अरे । तेस दिन झाँक्री बा निक्कै पल्ला गाम्मा एकजाना जङ्गली च्याउ खा’र उँधैउँधै सिरेसली भछ र इमरज्याम्सी धामी गर्न गका थेछन् अरे एस मौका–चानसमा डानस गर्ने आका दोडा झ्याप्ले लाठेसँग तो केटी छिल्लिराखेकी रछे अरे । तेसले मतिर हेर्दै हेरिन अरे र ती दोडा छिप्पेका भालुबाँस जस्ता हातगोडा भका भुस्तिग्रेहर्ले पनि मलाई ओभरलोड ठाने जस्तो मलाई मउसुप भकाले ‘बिरान् ठाममा क्या हो–कसो हो, हट्’ भन्र म त्याँड नउ–दो–ग्यार भई पल्ला गामममा बास बस्न गँछु अरे । तेस गाम्का घरगउँलेका अन्सार तो केटी पैला च्याक्सी थी अरे । छोरो पाएसि तेस्का गाला ठूलो फर्सी बीचमा चिरेको दुई फाला जस्ता भका र जीउ पनि दुहुनो गुजराँती भुइँसी र्जैसो थल्थल् भको अरे । तो केटी तिनै लोकलका लाठेहेरुसँगै सँद्दै रमाउँछे अरे ! थुक्क, तेस्ताको के खान उद्दार गर्नु भन्र म भोलिपल्ट भुक्भुके उज्यालो नहुँदै पइदलै घरतिर घुरें अरे । तेस्ता बिग्रेका ढोइ, घुस–कमिसिन खान पल्को जागिरे र सुइया–टपलेस एबङ भित्तीका पुच्छरले मात्ने ल्याङ्ठाहर्को उद्दार नगर्नु भन्र साश्रमा भन्या छ अरे । मैले लिखत गर्ने साइत्तेले निसदाबर्ती साश्रकै जैसो ग्यान दिन्छ अरे । इति–सुबम् ।”
म जोडले हाँसे र सोधें— “फेरि चाहिँ जानु भएन त्यो लाटीलाई भेट्न ?”

उनले एकछिन् मेरो अनुहार हेरे र प्रफुल्ल हुँदै भने— “हन कथाकी लाटी काँ जिउँदी भेटिन्थी र जानु हउ ? तर मलाइ सारै खुशी किन लागो भन्लाउ भने– मेरो पर्गतिशील लगु कथा सुनेसि तपइँको भाओनामा तो लाटी साँच्चिकै लाग्नु मेरो यो कथाको ठूलो सफलता–ठूलो ससेसफुलता हो भन्ने लागो । हामेरु ठूला दर्जाका कम्रेटका त जे लेखे पनि एस्सै पर्गतिशील–उस्सै पर्गतिशील हुन्छ नै, हामेरको बौमतको छेलोखेलो राज चलिराख्या यस ट्याममा साउँअछेर मात्तै चिनेका हामेरका भोटरसम्मले नि जे लेखो तेइ पर्गतिशील साइत्ते भइहाल्छ— चाए तिन्ले कोमसाश्रै लेखे नि, तेर्राख् कम्रेटको ‘सर्भजा’ र अरु के–के जस्ता पोस्तक लेखे नि अथवा जे खेले नि हामेरको गौबरम्यानका आँखा च्याट्ट तिनैमा— लु जा त ! अनि कालले बिर्सेका माइल्बाले मेरो साइत्ते सुनेर थप्पडी नमारेर के नै नाप्छन्, नापुन् न त । होइन्त ?”…..
म, बस्, धित मरुन्जेल हाँसें !……

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here