बिर्तामोड ।

अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आउने भक्तजन शनिवार औधी खुशी देखिए ।
उनीहरु खुशी देखिनुको कारण थियो निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नु । उनीहरुलाई उक्त सेवा प्रदान गरेको थियो बिर्तामोडमा रहेको निलकण्ठ डाइग्नोष्टिक क्लिनिकले ।
शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा गत माघ १ गतेदेखि ४४औं वार्षिकोत्सवको रुपमा सञ्चालन भइरहेको श्रीमद् अग्नि महापुराण कथा प्रवचन , महालक्ष्मीलक्ष्यार्चनात्मक विराट महायज्ञमा कथा श्रवण गर्न आउने भक्तजनहरुलाई बिर्तामोडमा रहेको निलकण्ठ डाइग्नोष्टिक क्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।
महायज्ञमा कथाश्रवण गर्न आउने भक्तजनहरुलाई निलकण्ठ डाइग्नोष्टिक क्लिनिकका वरिष्ठ पेट कलेजो रोग विशेषज्ञ तथा डा.दिपेन्द्रप्रकाश ओलीलगायतको टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
शिविरमा सहभागि भक्तजनहरुको ग्याष्ट्रिक ,अल्सर ,सुगर ,प्रेसर ,कलेजो , दम ,वाथ रोग सम्वन्धी निःशुल्क जाँच गर्नुका साथै औषधि समेत निःशुल्क वितरण गरिएको निलकण्ठ डाइग्नोष्टिक क्लिनिककी निर्देशक दिक्षालक्ष्मी ओलीले जानकारी दिइन् । उनले शिविरमा सहभागि भक्तजनहरुलाई केही समस्या भएर निलकण्ठ डाइग्नोष्टिक क्लिनिक आए सात दिन सम्म त्यही पूर्जामा निःशुल्क ओपिडी सेवा प्रदान गर्नुका साथै अन्य उपचारमा २० प्रतिशत छुट दिइने बताइन् ।
शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य सम्झेर महायज्ञमा कथा श्रवण गर्न आउने भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेकोमा निलकण्ठ डाइग्नोष्टिक क्लिनिकलाई धन्यवाद दिएका थिए ।

निलकण्ठ डाइग्नोष्टिक क्लिनिकका संस्थापक ज्ञानेन्द्रप्रकाश ओली , निर्देशक दिपालक्ष्मी ओली प्रसाईं , ओमभक्त प्रसाईं लगायतले आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताएका थिए । गत माघ १ गतेदेखि शुरु भएको श्रीमद् अग्नि महापुराण कथा प्रवचन , महालक्ष्मीलक्ष्यार्चनात्मक विराट महायज्ञ आगामी माघ ११ गतेसम्म सञ्चालन गरिने शंकराचार्यपीठका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिए ।































