कचनकवल स्तम्भ पुग्ने चारआली–केचना सडकको काम शुरु

0
1840

भद्रपुर।

भ्रमण वर्ष शुरु भए पनि सडक सञ्जालसँगै पर्यटकीय क्षेत्रबाटै ओझेलमा परेको नेपालकै होचो भू–भाग कचनकवल स्तम्भ पुग्ने चारआली–केचना रिङ रोडको काम शुरु भएको छ ।

आर्थिक वर्ष २०७३÷०७४मा ठेक्का लागेको चारआली–केचना रिङ रोडको बजेट संघीय वा प्रदेश सरकार कसले छुट्याउने भन्ने विषयमा विवाद भएपछि काम ठप्प बनेको थियो । अन्ततः ठेक्का लागिसकेको सो रिङ रोड संघीय सरकारले बनाउन बजेट बिनियोजन गरेपछि शुक्रवारदेखि काम शुरु भएको हो ।

झापाको कचनकवल गाउँपालिका–४स्थित नेपालकै होचो भू–भाग कचनकवल स्तम्भसम्मको गन्तव्य पुग्ने कालोपत्रे सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनै समस्या परेको थियो ।

भारतीय सीमावर्ती नाका नजिकै पर्ने कचनकवल स्तम्भको पर्यटकीय सम्भावनालाई ख्यालमा राख्दै नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ कचनकवल स्तम्भ भएर जाने रिङ रोड बनाउने योजना अघि सा¥यो । सोही योजना बमोजिम सरकारले ठेक्का लगायो । तर, सरकारले ठेक्का लगाएको चारआली–केचना रिङ रोडको काम बल्ल चार वर्षपछि शुरु भएको छ । केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडाँगीको चारआली–केचना सडकसम्म जोड्ने रिङ रोडको काम अहिले धमाधम भइरहेको छ । नेपाली कांग्रेसको सरकार हुँदा २०७३÷०७४ मा रकमको सुनिश्चित नगरी तत्कालीन सरकारले धेरै बहुबर्षीय योजनाका कामहरू शुरु गरेको थियो ।

सोही योजनामै परेका कारण यो सडक यतिका दिनसम्म ठप्प रहेको झापा क्षेत्र नम्बर ३बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनले बताए । ‘लामो मेहनतपछि नेपालकै होचो भाग जोड्ने कचनकवल स्तम्भको सडक बन्न लागेको हो’– संघीय सांसद लिङ्देनले भने– ‘यसअघि वर्तमान सरकारले यो सडक निरन्तरता दिने भनेर टुंग्याएको थियो, तर म लगायत विकास तथा प्रविधि समितिले बहुबर्षीय सबै योजनाहरू प्रदेश वा स्थानीय सरकारबाटै सञ्चालनका लागि सरकारलाई निर्देशन दिए पछि सडकको कामले तीव्रता पाएको हो ।’ सडकसँगै गाउँपालिकाको स्तम्भ बनाउने गुरुयोजना पूरा भएपछि गाउँपालिकामा पर्यटन भित्रिने लक्ष्य लिएको उनले बताए ।

डिभिजन सडक कार्यालय दमकले मेची राजमार्गको केचना–चारआली जोड्ने रिङ रोडको ठेक्का लगाएको हो । निर्माण कम्पनी लामा र वाम्तीर बल्र्ड जेभीले २०७३ साल माघ २२ गते ठेक्का सम्झौता गरेको थियो । १६ करोड ३६ लाख ५० हजार ७५५ रुपैयाँ लागत रहेको सो रिङ रोड निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी १२ करोड १२ लाख ९४ हजार २८१ रुपैयाँमा ठेक्का लिएको हो । ८ दशमलव २ किलोमिटरको रिङ रोडमा ह्युमपाइप तथा स्ल्याब कल्भर्ट निर्माण हुनेछ । रिङ रोड बनाउने काम संघीय कि प्रदेश सरकारले गर्ने दोधारमा रहेकोले यसको बजेट सुनिश्चित हुन नसक्दा लामो समयसम्म निर्माण कार्य रोकिएको डिभिजन सडक कार्यालय दमकका सब इञ्जिनियर सरोज सुवेदीले बताए ।

रिङ रोडको ग्राभेल सडक बनाइने पहिलो चरणको बेसको काम यसअघि नै सम्पन्न भइसकेको छ । सडकमा पने ह्युमपाइप तथा स्ल्याब कल्भर्टमध्ये केही निर्माण भइसकेको छ भने केही बनाउन बाँकी छ । अहिले सडकलाई सम्याउने काम धमाधम भइरहेको निर्माण कम्पनीका प्राविधिक वैद्यनाथ महतोले बताए । साढे ५ मिटरको कालोपत्रे बन्ने सडक निर्माण द्रुत गति अघि बढाइने उनको भनाइ छ ।

कचनकवल स्तम्भ जोड्ने रिङ रोडको काम शुरु भएसँगै गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीय हर्षित देखिएका छन् । स्तम्भ जोड्ने रिङ रोड बनेपछि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने सम्भावना धेरै रहेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । सो योजना बमोजिम अहिले कचनकवल स्तम्भ तथा केचना झिल व्यवस्थापन गुरु योजनामै गाउँपालिका जुटेको उनले बताए । उनका अनुसार माछा आकारको स्तम्भ बनाइसकेको र अहिले झिल व्यवस्थापनको कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here