सञ्जयले बनाए ह्याचरी मेसिन

0
1089

बिर्तामोड ।

२० वर्षीय सञ्जय बाँस्तोला इञ्जिनियर होइनन् । उनी बिराटनगरको एउटा कलेजमा बीसीए पढ्दैछन् । कलेज बिदा भएको समयमा बुवाले सञ्चालन गरेको एसएन्डएस कृषि फर्ममा व्यस्त हुन्छन्–उनी ।

उनका बुवा डिल्लीरामले छ महिनाअघि बाट शुरु गरेको कृषि फर्ममा स्थानीय जातका कुखुरा, टर्की, तित्रा र बट्टाई छन् । रहु, नैनी र कत्ले माछा पनि छन् । डिल्लीरामले अर्जुनधारा–५ झापामा फर्म खोल्नुको खास उद्देश्य बाहिरबाट चल्ला ल्याएर हुर्काएर बिक्री गर्नु होइन ।

आफ्नै फर्ममा चल्ला उत्पादन गर्ने उनको व्यावसायिक योजना थियो । पोथीले ओथरा बसेर चल्ला काढ्दा ठूलो संख्यामा चल्ला उत्पादन हुन सक्दैन । त्यसका लागि चल्ला उत्पादन गर्न ह्याचरी मेसिन अनिवार्य हुन्थ्यो । बुवाले थालेको फर्ममा एकैपटक धेरै चल्ला कोरल्ने आइडियाको खोजीमा सञ्जय थिए । उनलाई ह्याचरी मेसिनबाट एकपटकमै सयौँ चल्ला उत्पादन गर्न सकिन्छ भन्ने थाहा थियो । बजारबाट मेसिन किन्नु भन्दा आपैmँ प्रयास गर्छु भनेर उनी ह्याचरी मेसिन बनाउने योजनामा लागे ।

परीक्षण उत्पादन

शुरुमा सञ्जयले माछा राख्न प्रयोग हुने थर्मो कार्टुन प्रयोग गरेर परीक्षण गरे । छोराले प्रयास गरिहेर्छु भनेपछि डिल्लीरामले पनि हौसला दिए । बुवाको प्रोत्साहन र छोराको लगावको प्रतिफल, मेसिनको प्रयोगबाट चल्ला कोरलिए । बुवाछोरा दङ्ग परे । अब भने सञ्जय मेसिनको निर्माणमा जुटे ।

कलेज र गुगलको सहयोग लिए । खोज अनुसन्धान गरे । केही पार्टपुर्जा कलेजबाट र केही बजारबाट खरिद गरे । करिब २० हजार रुपैयाँको खर्चमा ह्याचरी मेसिन बन्यो ।

सञ्जयले बनाएको ह्याचरी मेसिनले एकपटकमा पाँच सय अण्डाबाट चल्ला उत्पादन गर्ने क्षमता राख्छ । फर्मको एउटा कुनामा सञ्जयले अँध्यारोे कोठा बनाएर मेसिन राखेका छन् । जहाँ बट्टाईका चल्ला हुर्किंदैछन् । मेसिनभित्र पनि बट्टाईकै अण्डा राखेका छन् । बुवाको उद्देश्यलाई साथ दिन उनले बनाएको ह्याचरी मेसिनको चर्चा भएपछि केही फर्मले आफूहरुलाई पनि बनाइदिन आग्रह गरेका छन् । केही इञ्जिनियरिङ कम्पनीले कसरी बनाएको भनेर बुझ्न खोजे पनि उनले सूत्र नबताउने सुनाए ।

अग्र्यानिक फर्म

मासिक एक लाख ७० हजार रुपैयाँको जागिर छोडेर डिल्लीराम रिटायर्ड लाइफ बिताउन ३३ वर्षपछि गाउँ पसेका छन् । २०४३ सालमा गाउँ छोडेका उनी विराटनगर, काठमाडौँ हुँदै बिदेशिए । गाउँ फर्किनुको कारण, विषादियुक्त वातावरणबाट टाढा रहनु रहेको छ । अग्र्यानिकलाई प्रोत्साहन गर्नु पनि उनको उद्देश्य हो । बिराटनगरका डिल्लीरामले १० कठ्ठा जग्गा भाडामा लिएर फर्म शुरु गरे । उनलाई पत्नीले दरिलो साथ दिएकी छन् । ‘जीवनको उत्तराद्र्धमा स्वदेशमै केही गरौँ भन्ने मनमा पलायो’– ५३ वर्षीय उनले सुनाए– ‘फर्म भयो भने शरीर पनि तन्दुरुस्त हुने ।’

पसल वा अरु कुनै व्यवसायमा एकैठाउँ बसिरहनुपर्ने तर फर्ममा काम हुने उनको बुझाइ छ । उनले धेरैजनाले ब्रोइलर कुखुरा फर्म सञ्चालन गरेको देखेसुने पनि स्थानीय जात र अन्य प्रजातिको फर्म कम पाएका थिए । फेरि उनी अग्र्यानिकलाई बढी जोड दिन्थे । त्यही भएर १५ लाख रुपैयाँ लगानी गरेर उनले फर्म शुरु गरेका हुन् ।

उनले कालै अण्डा हुने कडकनाथ जातको कुखुरा पनि भित्र्याएका छन् । हुर्किएपछि चल्ला उत्पादन गर्ने योजना बनाएका छन् । पाँच हजारभन्दा धेरै बट्टाईका चल्ला उत्पादन गरिसकेका छन् । टर्की र कुखुराका चल्ला पनि उत्पादन गरिरहेका छन् । बजार हेरेर फर्मलाई अझ व्यवस्थित बनाउने सुरमा डिल्लीराम रहेका छन् ।

परिवारै प्रविधिमा

डिल्लीराम साउदी अरेबियामा प्राविधिक थिए । उनले १५ वर्ष एसी, फ्रिज प्राविधिक भएर काम गरे । साउदी अरेबियामा बस्दा तीनजना सन्तानलाई प्रविधिमा अब्बल बनाउनुपर्छ भन्ने उनले बुझेका थिए । त्यहीँको कमाइले उनले दुई छोरा र एक छोरीलाई इञ्जिनियरिङ पढाए ।

जेठो छोरा अमेरिकामा र छोरी इटहरी उपमहानगरपालिकामा इञ्जिनियर छन् । कान्छो सञ्जयले त आफ्नो क्षमता देखाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here