‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित’

0
750

झापा।

नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन तथा गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा मंगलबार नेपाल बार एशोसिएशनको सभाहलमा सूचना प्रविधि विधेयक र नागरिकको सावल विषयमा अन्तरिक्रया सम्पन्न भएको छ ।

कार्यक्रममा तीनै संस्था लगायत सहभागी नागरिक समाजका प्रतिनिधिहरुले प्रतिनिधिसभामा छलफलको क्रममा रहेको सूचना प्रविधि विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रतलाई कुण्ठीत पार्ने भन्दै त्यसलाई सच्याउन माग गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालमा भएका राजनीतिक परिवर्तनहरुमा यी संस्थाहरु लगायत नागरिक समाजको सक्रिय भूमिका रहेको बताउँदै अहिले आइरहेका विभिन्न विधेयकहरुले लोकतन्त्रको मूल अवधारणामाथि प्रहार गरेको बताए । उनले सूचना प्रविधि विधेयकका कतिपय प्रावधानहरुले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने बताउँदै तिनलाई सच्च्याउनु पर्ने र नसच्चिएसम्म पत्रकार महासंघ पछाडि नहट्ने बताए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारले विधेयकहरु ल्याउँदा सम्बन्धित सरोकारवालाहरुसँग संवाद र सहकार्य गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिए । उनले कानून आवश्यक छ भन्दैमा नागरिकको अधिकार कटौती हुने कानून मान्य नहुने पनि बताए । विधेयकमा सरकारले सूचना प्रविधि अदालत गठन गर्ने प्रावधान राखिएकोमा त्यो संविधानको धारा १२८ले न्याय निरुपणको अधिकार स्वतन्त्र न्यायपालिकालाई दिएकाले सो प्रावधान संविधानको विरुद्ध रहेको बताए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले अहिले सरकारले लगातार विभिन्न विधेयकहरु ल्याएर नागरिकको अधिकार कुण्ठीत गर्ने प्रयास गरिरहेकोमा सम्पूर्ण नागरिक समाज त्यसका बिरुद्ध एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । उनले जनतालाई अधिकार सम्पन्न बनाए मात्र लोकतन्त्र बलियो हुने भन्दै यो आन्दोलन जनताको अधिकार प्राप्तिका लागि भएकाले जनताको जीत हुने बताए ।

कार्यक्रममा सूचना प्रविधि विधेयकमाथि टिप्पणी गर्दैै नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोेख्रेलले सरकारले सूचना प्रविधि अदालत गठन गर्न खोज्नु सैद्धान्तिक रुपमा नै त्रुटिपूर्ण रहेको बताए । त्यसैगरी नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले लोकतान्त्रिक सरकारले ल्याएका विधेयकहरु जनताको आवाजलाई बन्द गर्न खोज्ने प्रवृत्तिका देखिएको बताए । त्यसैगरी गैरसरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीले सरकारले विगतका आन्दोलनमा साथै लडेका नागरिक शक्तिहरुलाई नियन्त्रण गर्न खोजेको देखिएको बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल खानेपानी उपभोक्ता महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, लगायतका संघ–संस्थाका प्रतिनिधिहरुले सबै क्षेत्रमा ल्याइँदै गरेका कानूनहरु नियन्त्रणमुखी देखिएकाले त्यसका विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए । त्यसका लागि पत्रकार महासंघ, बार एशोसिएशन, गैरसरकारी संस्था महासंघ जस्ता संस्थाहरुले नेतृत्व लिनुपर्ने उनीहरुको धारणा थियो ।

कार्यक्रममा सहभागीहरुले यो विधेयकले आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, गोपनीयताको अधिकार लगायतमाथि प्रहार गरेकाले यसमा संशोधन हुनुपर्ने माग राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here