दल हाँक्न नेता कि नीति ?

८ माघ २०७६, बुधबार मा प्रकाशित

चिन्तामणि दाहाल,

थालनी :

विश्व राजनीतिमा व्यापक बहस भएको, अझै पनि भइरहेको र भविष्यमा पनि भइरहने विषय हो राजनीतिक दल हाँक्न नेता उपयुक्त हुनुपर्छ कि नीति । बहसका लागि सधैं ताजा रहने विषय भएकोले यसको सटिक उत्तर पाउन मुश्किल छ । कहिले नेता ठीक भएर राजनीतिक दलअघि बढेका हुन्छन् भने कहिले नीति ठीक भएपछि दलअघि बढेका हुन्छन् । कहिले नेता र नीति दुबै ठीक हुँदा सुनमा सुगन्ध भएको छ ।

पंक्तिकारले केही उदाहरण र घटना पेश गरेर यस विषयलाई बहसका लागि पाठक वर्गमै छोड्ने जमर्को गरेको छ । कुखुरा पहिला हो कि फुल भन्ने बहस जस्तै हुन्छ कि भन्ने लागेको छ पंक्तिकारका लागि नेता कि नीति पनि । यहाँहरुलाई के लाग्छ पंक्तिकारले थाहा पाउने कुरा भएन । तर, यो सबैमा अलमल भएको विषय भने पक्कै हो ।

नीति र नेता :

टाढा नजाउँ । नेपाल कै राजनीति हेर्ने हो भने राणाकालमा उनीहरुको निरंंकुशताको विरोध गर्न गठित प्रजापरिषद्ले आम नेपाली जनताको साथ पायो । त्यसलाई सञ्चालन गर्ने चारजना नेता राणाहरुबाट मारिए । उनीहरुले शहादत प्राप्त गरे । वि.सं. १९९७ सालमा मारिएका चार जना नेतामा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गंगालाल थिए । त्यसबेला काजीका नाति भएकाले मृत्युदण्डबाट जोगिएका गणेशमान सिंह र ब्राम्हण भएकाले बाँचेका टंकप्रसाद आचार्य थुनामा परेका थिए । जेल तोडेर भागेका गणेशमान पछि कांग्रेसका नेता भए भने आचार्य भने प्रजापरिषद्कै नेताको रुपमा कांग्रेसको विकल्पको रुपमा तत्कालीन राजा महेन्द्रले प्रयोग गरेर २०१३ सालमा प्रधानमन्त्री बनाए ।

२००७ सालअघिसम्म प्रजापरिषद्को नीति पनि ठीक थियो र नेता पनि । नेतामा प्रजातन्त्रका लागि त्याग, समर्पण र बलिदान दिन तयार हुनुपर्छ भन्ने सोच प्रबल थियो भने दलको नीति निरंकुश शासन व्यवस्था फालेर संवैधानिक राजतन्त्रको स्थापना गरेर प्रजातान्त्रिक व्यवस्था अन्तर्गत जनप्रतिनिधिमूलक संसदबाट शासन व्यवस्था सञ्चालन गर्नुपर्छ भन्ने थियो । यी दुबै कुरा भएकोले सुनमा सुगन्ध थियो ।

नीति मात्र ठीक :

तर, २००७ सालपछि दलको नीति ठीक भए पनि नेता स्वार्थी भए । साना लोभमा परे । दलका नेता कार्यकर्ताहरु सत्ताको मोहमा फँस्न थाले । परिणाम प्रजापरिषद् हरायो । नीति ठीक भएर पनि नेता ठीक नहुँदा दल समाप्त हुँदो रहेछ भनेर उदाहरण दिनुप¥यो भने प्रजापरिषद्लाई दिने गरिन्छ । प्रजापरिषद् अहिले पनि छ । तर, कहाँ छ खोजेर पत्ता लगाउन गाह्रो छ ।

अर्को उदाहरणमा २००४ सालमा स्थापित र २००६ सालमा पुनर्गठित नेपाली कांग्रेसमा त्यसबेला वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई र गिरीजाप्रसाद कोइरालाको नेतृत्व थियो । उनीहरुमा प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि त्याग, तपस्या, बलिदान र संघर्षको सोच थियो । एकतन्त्रीय जहानियाँ निरंकुश राणा शासनको अन्त्य गरी राजालाई संवैधानिक बनाई देशमा जनप्रतिनिधिमूलक संसदको माध्यमबाट जनताको शासन व्यवस्था स्थापना गर्ने महान अभियान थियो ।

नेता र नेताको सोच पनि ठीक थियो भने त्यसलाई कार्यान्वयन गर्ने दलको सिद्धान्त र नीति पनि ठीक थियो । त्यसैले कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्ति सफल भयो । त्यसबीच सत्ता ठूलो भन्नेहरु कांग्रेस छोडेर अरु दल गठन गरेर सत्तामा गए । जस्तो मातृकाप्रसाद कोइराला प्रजातन्त्र कांग्रेस पार्टी गठन गरेर प्रधानमन्त्री भए ।

कांग्रेसमै बस्ने नेताहरु र नीति ठीक भएका कारण २०१५ सालमा आम निर्वाचन हुँदा कांग्रेसले दुई तिहाई ल्यायो । वीपी कोइराला प्रधामन्त्री भए । उनलाई डेढ वर्षमै राजा महेन्द्रले पदच्युत गरेर प्रजातन्त्र नै मासे । जुन दलले क्रान्ति गरेर राणाहरुले खोपीमा सिमित गरेका राजाहरुलाई बाहिर निकाल्यो त्यही दलको शासन व्यवस्था फाल्ने काम राजाले गर्दा जनतामा राजतन्त्र पनि बदनाम भयो र आखिर राजतन्त्र नै समाप्त भयो । कांग्रेसमा वीपीको अवसानपछि कांग्रेसका नेताहरुले दलको प्रजातान्त्रिक समाजवादको नीतिलाई कमजोर बनाउँदै लगे पनि नेताहरु ठीक भएकोले उनीहरु २०७२ सालसम्मै जनतामा जसोतसो स्थापित भए पनि सातसाले त्याग तपस्या भएका नेताहरुको अवसानले नीति ठीक भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेताहरुमा कमजोरी देखियो ।

नीति मात्र ठीक :

२०७४ सालको निर्वाचनसम्म आइपुग्दा कांग्रेसको सिद्धान्त र नीति वीपीकै नेतृत्वकालकै छ । त्यसैले ठीक छ । तर, नेताहरुको कार्यशैलीगत कमजोरी र सत्तामोह, नेतृत्व मोहमा फँस्ने प्रवृत्ति बुझेपछि जनता कांग्रेसबाट विमुख हुन थालेका छन् । त्यसैले कांग्रेस कमजोर हुन थालेको हो । गत आम निर्वाचनमा जनतालाई संविधान सभा मार्फत गणतन्त्रको संविधान दिन र माओवादीको हिंसापूर्ण राजनीतिबाट देशमा शान्तिपूर्ण राजनीति स्थापित गर्न महत्वपूर्ण योगदान दिने कांग्रेस अत्यन्त कमजोर प्रतिपक्ष हुनमा नीति होइन नेता ठीक नभएकोले हो ।

त्यस्तै उदाहरण मधेशवादी दलमा पनि देखिएको छ । मधेशको हित गर्छु भनेर नेता भएकाहरुले मधेश र मधेशीको भन्दा आफ्नो मात्र स्वार्थ हेरेपछि उनीहरुको नीति मधेश र मधेशी कै पक्षको भए पनि नेता ठीक नभएकोले क्रमशः बढारिँदै गएका छन् ।

यस्तो अवस्था कम्युनिष्ट पार्टीहरुमा पनि देखिएको छ । धेरै कम्युनिष्ट पार्टीहरु नाम मात्रका छन् भने अहिले सत्तामा भएको नेकपा गठजोड र तिकडमका कारण सत्तामा हावी भएको छ । यही अवस्थालाई जनताले पत्याएका कारण उनीहरु स्थापित भए पनि उनीहरुमा जनहितभन्दा जनताको स्वतन्त्रता खोस्ने सोच शुरु भइसकेकोले आउँदो निर्वाचन उनीहरुका लागि फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ ।

नेता ठीक :

अहिलेको सत्ताधारी कम्युनिष्ट पार्टीमा केही नेता ठीक भएकोले नीति निरंकुश शासन गर्ने नै भएकोले केही नेताको कमजोरी जनतामा पुग्ने बित्तिकै उनीहरुको हालत पनि कांग्रेसकै गतिमा पुग्ने देखिन्छ । नेकपामा केपी शर्मा ओलीको राष्ट्रवादी धार, कडक नेतृत्व, स्पष्टवादिता र अडानलाई आम जनताले पत्याए ।

ओलीको छविमै लुटपुटिएर आफ्नो छवि बचाउन एकीकरणको नाममा सिद्धान्त र नीति छोडेर नेकपामा समाहित भएका पूर्व माओवादी नेता प्रचण्ड नेता त ठीक हुन् । उनको प्रभाव धेरथोर आमजनतामा भएकैले नेकपा सत्तामा छ । तर, नेकपाले नीति छोडेको छ । समाजवाद हुँदै साम्यवादमा पुग्ने कम्युनिष्टको नीतिलाई उसले कायम गर्न सकेको छैन । यो कुरा आउँदो निर्वाचनसम्म जनताले बुझिसक्छन् । त्यसबेला उसको अहिलेको अहम् थला पर्छ ।

नेता ठिक :

यस्तै उदाहरण भारतीय राजनीतिमा पनि देखिएको छ । कांग्रेसले भारतमा एकछत्र ४० बर्ष शासन गरेको हो । जुनबेला कांग्रेसले नेता पनि पायो र नीति पनि छोडेको थिएन तब कांग्रेस अग्रगतिमा थियो । नेताहरुले कहिलेकाहीं बुद्धि बिगार्दा दल पछारिए पनि पुनः सम्हालिएको थियो । तर, जब नेता बिग्रन थाले तब कांग्रेस नाममात्रको भएको छ । हिजो चार सिट पनि जित्न नसक्ने विजेपी र साम्प्रदायिक आरोप लागेको विजेपी अहिले लगातार दुई तिहाइको सत्ता चलाउन पुगेको छ ।

यसको अर्थ उसको नीति ठीक भएर होइन नेता ठीक भएर हो । जब नेता बिग्रन थाल्छन् तब यो पार्टी धराशायी हुन्छ । कि नेता ठीक हुनुपर्छ कि नीति । दुबै ठीक भएन भने दल नै रहँदैन । कि नेता ठीक हुनुपर्छ कि नीति । तर, सत्तामा पुग्न भने नेता ठिक हुँदा सफल भएको पाइएको छ ।

अन्त्यमा,
यो लामो बहस हो । जसले पढ्छ उसलाई पनि विवादास्पद लाग्छ । किनभने यो विषयवस्तु नै त्यस्तै हो । तर, राजनीतिक सिद्धान्त ठीक भएको पार्टी पनि नेता ठीक भएन भने माथि जान सक्तैन । किनकि नीतिलाई कार्यान्वयन गर्ने र जनतामा पु¥याउने भने नेताहरु नै हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here