‘सिद्धबाबा’लाई थुनामा राख्न उच्चको आदेश, बाबा भारत तर्फ फरार

१० माघ २०७६, शुक्रबार मा प्रकाशित

झापा ।

मोरङको विराटनगर स्थित विराटनगर उच्च अदालतले बलात्कार आरोपी ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ विहिबार उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला भारत तर्फ लागेका छन् ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ गएको बताइएको छ । सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो ।

स्रोतकाअनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा परेका छन् । केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए ।

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको बताइएको छ । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाइ बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाइ उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाइ बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।

बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा भने प्रहरी हिरासत बस्न परेन । उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए । अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरेर उपचार समेत गरिएको थियो ।

प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ’माइनर हटअट्याक’ भएको बताउँदै उपचार गरेका थिए । अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममै पुगेका थिए ।

बलात्कार जस्तो जघन्य अपराधमा समेत अदालतले साधारण तारेखमा छाडेको भन्दै आलोचना समेत भएको थियो । एकै प्रकृतिको मुद्धा खेपेका पूर्वसभामुख कृष्णबहादुर महरालाई कारागार जलान गर्नु तर ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर उन्मुक्ति दिने निर्णयले कानुनविद्को मत बाझिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here