पाइला–पाइलामा उपभोक्ता ठगिँदै: उपभोक्ताको हित रक्षा गर्ने सरोकारवालाको प्रतिबद्धता

१० माघ २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

पाइला–पाइलामा उपभोक्ता ठगिन थालेको शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले औल्याएका छन् ।

पछिल्लो समय ठगी बढेसँगै उपभोक्ताका अधिकार हनन भइरहेको उनीहरुले बताए । जिल्ला समन्वयन समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको छलफलका सहभागीले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनीहरुले राम्रो काम गर्ने व्यवसायीलाई पुरस्कृत र उपभोक्ता हित विपरीत काम गर्नेलाई दण्डित गर्ने परिपाटीको शुरुवात गर्न समेत सुझाए । संविधानले स्थानीय सरकारलाई उपभोक्ता हित रक्षाका लागि दिएको अधिकार कार्यान्वयन गर्न जिल्ला समन्वय समितिले मातहतका पालिकालाई चलायमान बनाउनुपर्नेमा सहभागीले सुझाव राखेका थिए ।

उपभोक्ता हितका लागि छलफलमा पाँच बुँदे निर्णय समेत भएको छ । उपभोक्ता हित रक्षाका लागि बजार अनुगमन लगायतका कार्य प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको अगुवाईमा जिल्ला तहमा छुट्टै संयन्त्र स्थापना गरी त्यसको मासिक बैठक र आवश्यक नीति निर्माण गरी अग्रसर हुने निर्णय गरिएको छ । त्यस्तै जिल्ला समन्वय समितिले १५ वटै पालिकाका अनुगमन समिति संयोजकको बैठक तत्काल बोलाइ आवश्यक काम अघि बढाउने बताइएको छ ।

चालू वर्षको पौष मसान्तसम्ममा पालिकामा भएका अनुगमनको विवरण र पालिकास्तरमा रहेका अनुगमन संयन्त्रको विवरण जिल्ला समन्वय समितिमा उपलब्ध गराउन पत्राचार गरिने समेत प्रमुख पोर्तेलले बताए । त्यस्तै उपभोक्तावादी संस्था, उद्योग वाणिज्य संघ तथा सरोकारवालाबीच समन्वयको कार्यलाई प्रभावकारी बनाइने समेत निर्णय गरिएको छ ।

फागुन मसान्तभित्रमा झापाका दुई पालिकामा सरोकारवाला समेतको समन्वय र सहकार्यमा विज्ञसहितको उपस्थितिमा नमूना बजार अनुगमन गर्ने समेत निर्णय भएको छ । छलफलमा सहभागी सरोकारवालाले विभिन्न क्षेत्रमा भइरहेको विकृति–विसंगति, उपभोक्ता ठगी लगायतका विषयमा कुरा राखेका थिए ।

छलफलमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, चेम्बर अफ कमर्श झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, राष्ट्रिय वाणिज्य संघका अध्यक्ष सुवास भट्टराई, उपभोक्ता मञ्च नेपालका अध्यक्ष वेदप्रकाश अग्रवाल, उपभोक्ता संरक्षण संस्थाका राजेन्द्र चम्लागाईं, विश्व उपभोक्ता महासंघकी अध्यक्ष सरस्वती चौलागाईं लगायतले छलफलमा आफ्नो धारणा राखेका थिए ।

छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो । जिसस प्रमुख पोर्तेलले झापामा उपभोक्ताको हित रक्षाका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कुनै पनि कार्य बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । सरोकारवाला संस्थाका प्रतिनिधिले समेत बजार अनुगमन, उपभोक्ता सचेतना लगायतका कार्यमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here