बिर्तामोड।

खेतीका लागि उर्बर भूमि मानिन्छ झापा । झापामा धान पछिको दोस्रो उत्पादन हो मकै । धान खेतीका लागि झापालाई सुपरजोन घोषण गरेर उत्पादकत्व बढाउन सरकार नै लागीपरेको छ । चालू आर्थिक वर्षदेखि झापालाई मकै जोन पनि घोषणा गरिएको छ ।
झापामा लामो समयदेखि मकैको व्यावसायिक खेती हुँदै आएपनि भारतबाट आयात हुने बस्तु मध्ये मकै चौथो स्थानमा रहेको छ । नेपालमा उत्पादित मकैले मूल्य नपाएर किसान चिन्तित भइरहेको अवस्थामा पूर्वी नाका काँकरभिट्टाबाट मकै नेपाल भित्रिने गरेको छ ।
नेपाल भित्रिने वस्तु मध्ये चौथो नम्वरमा भारतीय मकै रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुबराज विश्वकर्माले जानकारी दिए । उनले भने –मेची भन्सार हुँदै लाखौं मूल्यको मकै नेपाल भित्रिने गरेको छ ।
झापामा गत वर्ष बर्खे मकै १७ लाख ६९ हजार ९ सय २८ टन तथा हिउँदे २८ हजार २१० टन उत्पादन भएको थियो । झापामा बर्खे ३६ हजार ८६० हेक्टरमा तथा हिउँदे ४ हजार ५५० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।
कृषि पेशालाई बढावा दिँदै उत्पादकत्व बढाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि नेपालमा वर्षेनि मकैको वीऊदेखि तयारी मकै समेत भारतबाट ठूलो परिमाणमा भित्रिँदै आएको छ । यसका कारण नेपालको ठूलो धनराशि विदेश गइरहेको छ । झापाका अहिले व्यावसायिक मकै उत्पादन हुँदै आएपनि यहाँ उत्पादित मकैले समयमा बजार र मूल्य नपाउँदा किसान निराश छन् ।
झापालाई ‘मकै जोन’ घोषण गर्दै कनकाई नगरपालिका–५ र झापा गाउँपालिका वडा –६ मा गरी ५ सय हेक्टर क्षेत्रफलमा मकै जोन कार्यक्रम सञ्चालन गरिएको छ ।
झापास्थित जोन परियोजना कार्यान्वयन इकाईका प्रमुख रवीन्द्र सुवेदीका अनुसार मकै जोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा यसअघि धान सुपर जोन, सुपारी र रबर जोन कार्यक्रम सञ्चालित छन् ।
मकै खेतीका लागि चयन भएको क्षेत्रमा अध्ययन, अनुसन्धान, माटो तथा बाली संरक्षण शिविर, आकस्मिक बाली संरक्षण सेवा, प्रविधि प्रदर्शन, गोदाम घर निर्माण, कस्टम हायरिङ सेन्टर स्थापना, साना सिँचाइ, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिम, प्रचारप्रसार लगायत विभिन्न १२ वटा शीर्षकमा बजेट विनियोजन भएको सुवेदीले बताए ।
जिल्लामा दाना उद्योग खुल्ने क्रम बढेकाले मकैको खपत बढी भएको हुन सक्ने प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । तर, नेपालमा उत्पादित मकै दाना उद्योगले खरिद गर्न नमान्दा कृषक मारमा परेको किसानको गुनासो छ । झापामा किसानले गत वर्ष प्रति क्विन्टल ३ हजार रुपैयाँका दरले मकै बिक्री गरेका थिए ।
मानव खाद्य र पशुपक्षीको आहारका रुपमा प्रयोग हुने मकैमा झापा अझै आत्मनिर्भर हुनै सकेको छैन । यो क्रम एक दशकदेखि लगातार बढ्दो छ । खाद्यान्न बाहेक पशुपंक्षीको दाना बनाउन आवश्यक मूख्य कच्चा पदार्थ मकै हो । तर, स्वदेशी उत्पादनले मात्रै नेपालका ठूला पेलेट दाना उद्योगको माग धान्न नसक्दा यी उद्योगले भारतबाट मकै आयात गर्दै आएका छन् । मुलुकमै पर्याप्त मकै उत्पादन नहुँदा यो व्यवसायसमेत भारत लगायतका मुलुकमै निर्भर रहनु पर्ने बाध्यता रहेको उद्यमीको भनाइ छ ।
कुखुराको उमेर अनुसारको दाना बनाउँदा कम्तीमा ६० प्रतिशत हिस्सा मकै हुनैपर्छ । यस हिसाबले पनि नेपालमा उत्पादित मकैले सबै दाना उद्योग पूर्ण रुपमा चल्न सक्ने अवस्थामा नरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले बताए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २००९ जुलाईदेखि २०१९ जुनसम्मको एक दशकको अवधिमा नेपालमा ७१ अर्ब २१ करोड रुपैयाँबराबरको दुई अर्ब ९२ करोड ६५ लाख मेट्रिक टन मकै आयात भएको छ ।
अझ पछिल्ला वर्षमा वार्षिक १२ अर्ब रुपैयाँसम्मको मकै आयात हुने गरेको देखिएको छ । सबैभन्दा बढी मकै भारतबाट आउने गरेको छ । त्यसपछि अर्जेन्टिना, ब्राजिल, बंगलादेश, म्यानमार, युएई, अमेरिका, चीनलगायतका देशबाट मकैको आयात हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर औसतमा २.६९ मेट्रिक टन रहेको छ । यो दक्षिण एसियाली अन्य मुलुकको दाँजोमा न्यून उत्पादकत्व हो । सार्क कृषि केन्द्रबाट सन् २०१७ मा प्रकाशित एक प्रतिवेदनले बंगला देशमा सबैभन्दा बढी ६.९ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको जनाएको छ ।
पाकिस्तान ४.३ मेट्रिक टन, श्रीलंका ३.४ मेट्रिक टन, भुटान तीन मेट्रिक टन र भारत तथा नेपाल साढे दुई मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको मुलुकमा पर्छन् । तर, भारतमा सार्क क्षेत्रकै सबैभन्दा बढी भूभाग करिब ७९ प्रतिशत क्षेत्रफलमा मकै खेती हुने गरेको उल्लेख छ ।
कृषि तथा सहकारी मन्त्रालयको सन् २०१७÷२०१८ को तथ्यांकअनुसार मुलुकको करिब नौ लाख ५४ हजार एक सय ५८ हेक्टरमा गरिएको मकै खेतीबाट २५ लाख ५५ हजार आठ सय ४७ मेट्रिक टन मकै उत्पादन भएको छ । यो हिसाबले पनि नेपालमा उत्पादित मकैले प्रतिव्यक्ति प्रतिदिन मकैको उपलब्धता ९८ ग्रामलाई पूरा गर्नसमेत अपुग हुने देखिन्छ । मुलुकमा फलेको सबै मकैलाई पशु आहारा र अन्य प्रयोजनमा नल्याई सबै नेपालीले यही परिमाणमा मकैलाई खाद्यको रुपमा उपयोग गरेको खण्डमा समेत ६ लाख मेट्रिक टन अपुग हुन जाने तथ्यांकले देखाएको छ ।
कुखुराको दाना उद्योगको वार्षिक माग साढे ६ लाख मेट्रिक टन थपिँदा मकैमा परनिर्भरता घट्नुको साटो बढ्दै गएको बताइन्छ । नेपालमा अहिले एक सय पाँचवटा दाना उद्योग छन् । दैनिक उत्पादन क्षमता १० हजार मेट्रिक टन भए पनि हाल तीन हजार टनमात्रै उत्पादन हुँदै आएको छ । यही हिसाबले पनि हाल दाना उद्योगलाई दैनिक एक हजार आठ सय मेट्रिक टन मकै आवश्यक हुने गरेको छ ।
उत्पादित मकैको ८० प्रतिशत खपत पशुपंक्षीको आहारामा हुने गरेको एक अध्ययनले देखाएको छ । यसमध्ये ब्रोइलरको दानामा ६५ प्रतिशतसम्म खपत हुने गरेको छ । नेपालमा वर्षेनि कुखुराको दानाको माग ११ प्रतिशतका दरले वृद्धि भइरहेको छ । यस्तै, कुखुरापालन व्यवसाय पनि बर्षेनि करीब नौ प्रतिशतले वृद्धि भइरहेको छ । आगामी दशकसम्ममा नेपालको कुखुरापालन व्यवसाय हालको भन्दा तीन गुणाले बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रिय कृषि गणना २०६८ ले समेत मकै बालीमा १२ प्रतिशतले उत्पादन क्षेत्र घटेको देखाएको छ । खेती किसानीमा लाग्ने उमेरका युवा विदेशिने क्रम बढेपछि खेती पनि हुन छाडेको छ । गाउँमा भएकै किसानले समेत मकै खेतीमा जाँगर चलाउनै छाडेका देखिन्छ ।
झापामा २०६२÷०६३ साततिर झण्डै ४० हजार हेक्टरको हाराहारीमा गहँु खेती हुने गरेकोमा अहिले न्यून मात्रामा मात्रै गहुँ खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेको भएपनि करिब ९० हजार हेक्टर भूमिमा खेती हुदै आएको जनाइएको छ ।
जिल्लाको खेती हँुदै आएको जमिनको कूल क्षेत्रफल मध्ये करिब ३२ हेक्टर क्षेत्रफलमा मात्र सिंचाईको सुविधा रहेको बताइएको छ ।































