कम्युनिस्ट अनुशासन र नेकपाको ११ बुँदे आचारसंहिता

0
749

तीर्थराज खरेल,

माक्र्सवादी लेनिनवादी मार्गदर्शनमा आबद्ध संसारभरका कम्युनिस्टहरु आदर्श र अनुशासनलाई कम्युनिस्ट पार्टीको कार्यकर्ता र नेता हुनका लागि अनिवार्य आधारका रूपमा लिन्छन् । सर्वसाधारण तथा सचेत मानिसहरू पनि नैतिकता र अनुशासन भनेको कम्युनिस्टलाई मात्र लागू हुने र अन्यका लागि होलोखुकुलो हुने झैं कुरा गर्छन् ।

नियतवश वा अञ्जानमै कुनै कम्जोरी भएमा कम्युनिस्ट पार्टीको सदस्य कडा आलोचना र प्रश्नको सामना गर्ने अवस्थामा पुग्छ र उसको पार्टी जीवन समाप्त हुनसक्छ । अनुशासनको डण्डाले तीन–चार दशकदेखि कै भए पनि पार्टीमा गरेको लगानी र शिक्षा आर्जन छोडेर, व्यापार, व्यवसाय, इलम छोडेर पूर्णकालीन कार्यकर्ता भएर गरेको समर्पण र त्याग निमेशभरमा समाप्त हुन्छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालका कम्युनिस्ट पार्टी भित्र पटकपटक आर्थिक अनियमितता, नैतिक विचलन र अनुशासन उल्लंघनका प्रश्न उठाइएका छन् । पार्टीभित्र उठाइने यी र यस्ता अनुशासन र आदर्श नमानेका कुरा आन्तरिक खिचातानी र अस्वस्थ प्रतिस्पर्धाका विषय बनेका सयौं उदाहरण छन् । नेपालमा पनि महिलासँग जोडेर गरिएका विषय वा राजनितिक विषय जे भए पनि कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले कार्वाही भोग्नुपरेको तीतो सत्य घाम झैं छर्लङ्ग छ ।

लगभग दुई तिहाइको संसदको समर्थनसहितको कम्युनिस्ट सरकार छ नेपालमा यतिबेला । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता अबदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने भएको छ । नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता कार्यकर्तालक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको हो । हालैमात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता कार्यकर्तालाई अनुशासनमा बाँध्न पार्टी कमिटीहरु मार्फत सर्कुलर जारी गर्दै आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ । हाल नेकपाका आठ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रति सदस्य अरु थप चार जना बनाएर ३२ लाख सदस्य पु¥याउने योजना अघि सारेको छ । तर, सदस्य संख्या बढाउनुअघि पार्टीले तयार पारेको विशेष परिपत्रमा नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता तय गर्दै उनीहरुलाई संविधान, पार्टी विधान र नियमावलीप्रति जवाफदेही बनाउने प्रयास थालेको छ । इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको र नेकपासँग समयले सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढ्न माग गरेको बताइएको छ । नेकपाले पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई ११ बुँदे आचारसंहिता जारी गर्दै पालना गर्न समेत भनेको छ । वास्तवमा जनअपेक्षा अनुरुप जनअधिकार स्थापित गर्न आफ्ना नेता कार्यकर्ता सहयोगी नरहेको र उनीहरुमा सुविधाभोगी प्रवृत्ति बढ्दै गएर जनमत र जनसमर्थन गुम्ने सम्भावनाका बीच प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गरेको छ । पछिल्लो समय श्रम नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकाल्दै नेकपाले यस्तो व्यवस्था गरेको बताइएको छ ।

त्यस्तै आचारसंहिता कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरुको भएको उल्लेख छ । आचारसंहितामा कुनै पनि पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःशर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्ने भनिएको छ । त्यस्तै नेकपाले आफ्ना पार्टी सदस्यहरुलाई ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याउन सचेत गराएको छ । ‘भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितता जस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ’, नेकपाको आचारसंहितामा भनिएको छ । त्यसैगरी नेकपाले आफ्ना पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफूले गरेको श्रमबाट आर्जित कमाइबाटै राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने भनिएको छ । ‘पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ’ नेकपाको आचारसंहितामा भनिएको छ ।

नेकपाले सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने तथा बेला–बेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने स्मरण गराइएको छ । त्यस्तै आचारसंहितामा १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्ने र त्यसो गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्ने भनिएको छ । नेकपाले जारी गरेको पार्टी आचारसंहितामा परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्ने उल्लेख छ भने बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनु हुँदैन भनिएको छ । ‘उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछुत पूर्णरुपले अन्त्य गर्नुपर्छ’, आचारसंहिताको एक बुँदामा नेकपाले भनेको छ– ‘चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

त्यस्तै परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने, कसैलाई पनि हेलाहोचो तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्ने नेकपाको आचारसंहितमा उल्लेख छ । ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनी जस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ’ –नेकपाको नयाँ आचरसंहितामा भनिएको छ । आचारसंहिताको अन्त्यमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको भन्दै यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुन्ने सदस्यलाई कानूनसँग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

अहिले सरकार नेकपाकै छ । सरकारमा बस्नेले सरकारी खर्चमा मितव्ययिता ल्याउनुपर्ने, सरकारी सम्पत्तिको दुरूपयोग गर्न नहुने र जनपक्षीय काम गर्नुपर्ने आचारसंहिताको मर्म छ । दैनिक भट्टीमा पस्ने, उम्मेदवारी चयनमा रकम असुल्ने, विभिन्न बहानामा चन्दा लिने, सुरक्षाका नाममा सरकारी रकमवाट प्रहरी राख्न नपाउने, बिलासिता र जिमीन्दारी नेता हुन नहुने, अपराधमा न्यायालयमा बिचाराधीन मुद्दा हँुदाहँुदै उच्च तहमा नियुक्ति नगर्ने, बिलासिता गाडी त्याग गर्ने, सरकारी सुबिधा लिनेलाई पार्टीको पदीय जिम्मेवारी नदिने जस्ता आचरण सुधारको नियम लागू गर्न पनि यो आचासंहिताले सहयोग पु¥याउनेछ ।

जनताको सेवा गर, जनताबाट लेऊ र जनतालाई नै देऊ, अनुमति बिना जनताबाट सियोसम्म पनि नलेऊ लगायतका माओका नियम र अनुशासनका आदर्शबाट हुर्केका नेपालका कम्युनिस्टका लागि न यो आचारसंहिता जारी गर्नु अप्रत्याशित हो न पालना गर्न अनिच्छा देखाउने र सार्वजनिक रुपमा यसकाविरुद्धमा कसैको विमति नै आउला । तर, प्रश्न के हो भने के यो आचारसंहिता लागू होला ? के यो आचारसंहिता माथिल्लो तहसम्म पहुँच नभएका तल्ला तहका कार्यकर्तालाई मात्र हो कि साँच्चै पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताका हकमा पनि लागू हुन्छ ? यो आचासंहिता दीर्घकालीन महत्वको छ र यो पुरानो पनि हुँदैन, तर केही समयपछि यसको प्रभाव हराउँदै जाने र इतिहासको गर्तमा कतै विलिन हुने त होइन ? अबको मूल प्रश्न कार्यान्वयनको हो । सत्तारूढ नेकपा यतिबेला योजना सुनाउने होइन राम्रा नीति–नियम, कानून र योजना बनाउने र जनताको साथ लिएर ती सबै योजना लागू गर्ने ठाउँमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here