‘साङ्लो’ गीतमा निकितालाई आँखा मार्दै विराज (भिडियो)

0
659
काठमाण्डौ,
अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत फिल्म ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतवार फिल्मको डान्सिङ नम्बरको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड छन् ।
निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोमा विराज र निकिताको नृत्यले ध्यान खिच्छ । रफ-टफ पहिरनमा देखिएका विराज र बोल्ड अवतारमा प्रस्तुत निकिताको केमेस्ट्री सुहाएको देखिन्छ ।
यो गीतको हालसालै काठमाडौंमा छायांकन गरिएको हो । यो गीतबाट निर्माण टिमले निकै आश बोकेको छ । माघ २४ गतेबाट प्रदर्शन हुने फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।
अभिनेता विराजका लागि यो फिल्म चल्नैपर्ने चुनौती छ । ४ वर्ष अगाडिको फिल्म ‘जय परशुराम’ असफल हुँदा धेरैले उनको स्टारडममाथि प्रश्न उठाएका थिए । यसको जवाफका लागि पनि ‘साङ्लो’ ले बक्सअफिसमा सफलता हात पार्न जरुरी छ । ट्रेलर हेर्दा फिल्मले दर्शक हलसम्म तान्न सक्ने देखिन्छ । मृगौला तस्करीको कथामा बनेको फिल्मबाट विराज निकै आशावादी छन् ।-फिल्मीखबर
https://www.youtube.com/watch?v=4HwI4j_5j0o&feature=emb_title

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here