भूमि समस्याको समाधान जरुरी–राना

0
627

अमित खम्बू /अर्जुनधारा ।

प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले भूमि सम्बन्धी समस्याको उचित समाधान गर्न नसके ठूलो समस्या आउने हुँदा त्यसको समाधान गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अर्जुनधारा नगर कमिटीद्वारा सोमबार आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यमन्त्री रानाले सो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राज्यमन्त्री रानाले प्राथमिक समस्याकोरुपमा रहेको उक्त समस्यालाई समाधान गर्न बाँकी दुई वर्षमा अव्यवस्थित बसोबास, सुकुम्बासीलगायतका विषयमा बन्ने कानुन निर्माणसँगै त्यसको छिटो कार्यान्वयन गर्न सके समस्या समाधान हुने बताए ।

धरानमा सम्पन्न भएको उपनिर्वाचनमा पार्टीले हारेको प्रसङ्ग झिक्दै उनी भन्छन्–“पार्टी हार्नुको धेरैवटा कारणमध्ये मुख्य कारण निर्वाचित साथीहरुले अव्यवस्थित बसोबास सम्बन्धी समस्या समाधान गर्न नसक्नू हो”

एक्लै कुदेर एक्लैले मात्र मेहनत गरेर गरिबी न्यूनिकरण गर्ने कुरा असम्भव हुने हुँदा अहिले आफूसँग भएको चिजलाई सामूहिक उत्पादन पद्धतीमा नलगुनजेल गरिबी नियन्त्रण गर्न सक्ने अवस्था नभएको उनले जिकिर गरे । त्यसको लागि उत्पादन आ–आफ्नै जमिनमा गर्ने, एउटै ढाँचाको उत्पादनमा लाने, बेच्नको निमित्त एउटै किसिमको चिजविज फलाउन तयारी गर्ने र सहकारी बनाई त्यसले उत्पादन र बजारीकरणमा सहयोग गर्ने हो भने सबैलाई फाइदा पुग्ने उनले बताए ।

त्यसैगरि वैज्ञानिक भूमि सुधार सम्बन्धी प्रसङ्गमा राज्यमन्त्री रानाले कृषिको व्यवसायिकरण र कृषिबाटै औद्योगिकरणमा जानका निमित्त जमिनको चक्लाबन्दीले सजिलो अवस्था नहुने हुँदा वैज्ञानिक भूमी सुधारमा जाने कुरा तत्काल सजिलो नहुने बताए ।

नगर कमिटीका अध्यक्ष प्रेमसागर सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य नगर इञ्चार्ज नारदकुमार दुःखीले र कार्यक्रमको सञ्चालन सचिव राजु शेर्माले गरेका थिए ।
यसैबिच नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई लक्षित गरि नगरपालिकाले खरिद गरेको सिरक, स्वेटर र टोपी राज्यमन्त्री रानाले एक कार्यक्रमकोबिच हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा राज्यमन्त्री रानाले नगर खेलकुद विकास समितिका संयोजक दिलीप गुरुङ र नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयानाथ रेग्मीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

नगरपालिकाले दिएको जानकारी अनुसार यस वर्ष दुई सय थान सिरक, आठ सय थान स्वीटर र आठ सय थान टोपी वितरण गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here