एकातिर रोक्दा अर्कोतिर दोहन

0
575

पार्थ मण्डल  / भद्रपुर।

झापामा एकातिर चुरे क्षेत्र दोहन रोक्न खोज्दा अर्कातिर दोहन शुरु गरेको पाइएको छ । नदीजन्य पदार्थ उत्खनन्का लागि सङ्घीय तथा प्रदेश सरकारले बनाएको कानून र जिल्ला समन्वय समिति झापाको जिल्लास्तरीय नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा कार्यविधि लत्याउँदै स्थानीय तहले नदीजन्य पदार्थ जथाभाबी उत्खनन् गर्दै आइरहेको छ ।

स्थानीय तहले चुरे क्षेत्र र आईईई नगरेको स्थानबाट जथाभाबी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरी कर उठाइरहेको छ । इलाम र झापा जोड्ने रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाको तिरीङ चुरे बफर जोन क्षेत्रमा पर्छ ।

यहाँबाट ढुङ्गा उत्खनन् गर्न नपाउने सर्वपक्षीय सहमतिपछि निषेधित क्षेत्र तोकिएको छ । त्यस क्षेत्रमा ढुङ्गा उत्खनन् कार्य बन्द भएपछि अहिले बुद्ध शान्ति गाउँपालिकाको चुरे क्षेत्रबाट ढुङ्गा उत्खनन् कार्य धमाधम भइरहेको पाइएको छ । बुद्धशान्ति गाउँपालिकाले आफैं कर सङ्कलन गर्दै चुरे क्षेत्र दोहनमा लागीपरेको खुलासा भएको छ ।

ट्याक्टर नियन्त्रणपछि खुल्यो रहस्य

इलामको रोङ गाउँपालिकासँग जोडिएको झापाको बुद्धशान्ति गाउँपालिका भएर बग्ने बिरीङ खोला चुरे क्षेत्र भित्र पर्छ ।
चुरे क्षेत्र नै ढुङ्गाको खानी हो । चुरे क्षेत्रबाटै ढुङ्गा उत्खनन् हुँदा समेत बुद्ध शान्ति गाउँपालिकाका अध्यक्षसहित कर्मचारीले त्यसलाई रोक्न कुनै कानूनी कदम चालेको देखिएन । उल्टै सोही क्षेत्रबाटै ढुङ्गा उत्खनन् गरी गाउँपालिकाले बिल काटेर बेचिरहेको छ ।

चुरे निषेधित क्षेत्रबाट ढुङ्गा लोड गरी भद्रपुरतर्फ आइरहेको सात वटा ट्याक्टरलाई आइतबार बेलुका प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ । प्रहरीले ट्याक्टरसहित गाउँपालिकाले ढुङ्गा कर लिएको रसिद पनि फेला पारेको छ । ट्याक्टर चालकले बुद्ध शान्तिबाट ल्याएको ढुङ्गा आईईई नगरेको स्थानको भएकोे प्रहरी समक्ष स्वीकार गरेका छन् ।
निषेधित क्षेत्रबाट ढुङ्गा उत्खनन् गरी ल्याएको भन्दै आवश्यक कारबाहीका लागि प्रहरी चौकी चारआलीले सोमबार बिहान जिल्ला समन्वय समिति झापामा पठाएको छ ।

समन्वय समितिले ती ट्याक्टरलाई कानून बमोजिम जरिवाना तिराएर छाडेको समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । ‘स्थानीय तहले जिल्ला समन्वय समितिको नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा कार्यविधि अटेर गरिरहेको छ’ –उनले भने– ‘अब यस विषयमा सङ्घीय तथा प्रदेश सरकार हुँदै अख्तियारलाई समेत लिखित पत्राचार गर्नेछौं ।’ ‘चुरे क्षेत्र र आईईई नगरेको स्थानबाट नदीजन्य पदार्थ उत्खनन् रोक्ने विषयमा समन्वय समितिले सार्वजनिक सूचना पनि जारी गर्दैछ’– उनले भने ।

अर्थ विधेयक एकातिर गाउँपालिकाको दररेट अर्कोतिर

१ नम्बर प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको अनुसूची ५ र दफा ८ मा प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्कमा उल्लेख गरिए अनुसार ढुङ्गा र गिट्टीमा प्रतिकिबी फिट सङ्कलन दर २ रुपैयाँ र बिक्री दर ४ रुपैयाँ तोकेको छ । तर, बुद्ध शान्ति गाउँपालिकाले अर्थ विधेयक विपरीत तोकेको भन्दा कम दररेटमा ढुङ्गा बिक्री गरिरहेको प्रमाण फेला परेको छ । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर चालकसँग ढुङ्गाको बिल माग्दा तोकिएको भन्दा कम कर तिरेको रसिद भेटिएको छ ।

गाउँपालिकाको खोला कर रसिदमा ढुङ्गाको ४५० रुपैयाँ तोकेको छ । प्रदेशको दररेट अनुसार ६ सय रुपैयाँ हुनुपर्ने हो । १५० रुपैयाँ छुट भन्दै गाउँपालिकाले चुरे क्षेत्र र आईईई नगरेको क्षेत्र दोहनलाई निरन्तरता दिँदै आइरहेको छ । अघिल्लो वर्ष अनुगमन गर्दा बुद्ध शान्तिको आईईई नगरेको खोला तथा चुरे क्षेत्र दोहन भइरहेको भेटिएको थियो । त्यस विषयमा गाउँपालिकालाई जिल्ला अनुगमन समितिले सचेत गराएको थियो ।

‘अनुगमन समितिले पटक–पटक बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिलाई चुरे क्षेत्र र आईईई नगरेको स्थानमा दोहन रोक्न आग्रह ग¥यौं’– समन्वय समितिका अध्यक्ष पोर्तेलले भने– त्यहाँका जनप्रतिनिधिले मानेनन्, जसकारण अहिले पनि चुरे क्षेत्र दोहन भइरहेको प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरबाटै प्रमाणित हुन्छ ।’

कसले गर्ने कारबाही ?

बुद्ध शान्ति गाउँपालिकाले खोला कर लिएको रसिद दिँदा पनि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपछि ट्याक्टर धनी आक्रोशित बनेका छन् । ‘गाउँपालिकाले ढुङ्गाको कर लिएको छ, अनि प्रहरीले बाटोमा ट्याक्टर नियन्त्रणमा लिने यो कहाँको कानून हो ?’– ट्याक्टर धनी ओम नेपालले भने ।’

‘गाउँपालिकाले निषेधित क्षेत्रबाट ढुङ्गा उत्खनन् गर्न दिँदा हामीले ढुङ्गा उठाएर ल्याएको हो’– उनले भने– ‘नेपाल सरकारको कानून नमान्ने गाउँपालिकालाई कसले कारबाही गर्छ ?’ ‘गाउँपालिकालाई पनि कर तिर्नु पर्ने, अनि कारबाहीमा परेपछि जिससलाई जरिवाना पनि तिर्नुपर्ने, देशमा यस्तो पनि कानून हुन्छ– अर्का ट्याक्टर धनी गणेश कार्कीले आक्रोश व्यक्त गरे ।

प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपछि अन्यायमा परेको भन्दै गाउँपालिका अध्यक्षलाई फोन ग¥यौं – उनले भने –‘उल्टै अध्यक्ष भन्छन् स्थानीय सरकारको आफ्नै कानून हुन्छ, गाउँपालिकाले काटेको रसिदले जहाँ पनि ढुङ्गा लैजान सकिन्छ, ट्याक्टर किन नियन्त्रणमा लिन्छ मलाई आएर नियन्त्रणमा लियोस् ।’

गाउँपालिकामा यी क्षेत्र आईईई स्वीकृत

बुद्ध शान्ति गाउँपालिकाले आव ०७६÷०७७ को लागि पेश गरेको टिमाई र बिरीङ खोलाको अद्यावधिक आईईई र हँडिया खोलाको आईईई प्रतिवेदन स्थलगत अनुगमनका आधारमा प्रारम्भिक वातावरणीय परीक्षण पुनरावलोकन तथा सिफारिस समितिबाट स्वीकृत गरिएको थियो । त्यस अनुसार हँडिया खोला पर्ने वडा नम्बर १ र ३ को पुलचोक क्षेत्र, वडा ३ को चर्चाबारी खण्ड १ देखि ५ सम्म, वडा नं.३ को सिमलडाँडा पूर्व तोकिएको छ ।

त्यस्तै विरीङ खोला पर्ने वडा नं. १ को सिद्दे विद्युतपोल उत्तर, गिद्दे विद्युतपोल दक्षिण, वडा २ को सिस्ने जयपुर सडक ५०० मिटर उत्तरदेखि र दक्षिण (पाँग्र) र टिमाई खोला पर्ने मेचीनगर ९ र बुद्धशान्ति ५ को आयाबारी क्षेत्र तोकिएको जिल्ला समन्वय समिति झापाले जनाएको छ । ती क्षेत्र बाहेक अरू सबै निषेधित क्षेत्रभित्र पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here