प्रहरी अगुवाईमा पुनःस्थापना केन्द्र

0
809

बिर्तामोड।

प्रदेश नम्वर १ का आन्तरिक, मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लागू औषध नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रदेश सरकारले ‘म अघि बढ्छु’ कार्यक्रम अन्तरगत लागू औषध नियन्त्रणका लागि विद्यालयस्तरबाटै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । आगामी वैशाखदेखि लागू औषध सम्वन्धि छुट्टै कार्यक्रम घोषणा गरेर प्रदेश १ का सबै स्थानीय तहमा लागू गर्ने तयारी भइरहेको उनले बताए ।

कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख (डीआइजी)ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सबै ठाउँमा पुग्न नसक्ने भएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सबैलाई जिम्मेवार बनाउन खोजिएको बताए । प्रमुख जिल्ला अधिकारी उदय राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपाल सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले झापालाई लागूऔषध मुक्त जिल्ला बनाउनका लागि सबैसंँग हातेमालो गर्न सहारा नेपाल तयार रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाले सहारासंँगको सहकार्यमा लागूऔषध नियन्त्रणका कार्यक्रमहरु शुरु गरेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए । झापाका १५ वटै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

यसैबीच झापामा लागूऔषध दुव्र्यसन पुनःस्थापना तथा सुधार केन्द्र सञ्चालनका लागि महेन्द्रकुमार गिरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

सो समितिले जमिन जुटाउँदै पुनस्थापना केन्द्र सञ्चालनको काम गर्ने बताइएको छ । समितिको सह संयोजकमा विष्णु खरेल, नवीन गट्टानी, लीला चिमरिया, ज्ञानुराम प्रसाई, एक स्थानीय तह र सदस्य सचिवको रुपमा जिल्ला प्रहरी कार्यालय रहने बताइएको छ ।

त्यस्तै १५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख समितिको सल्लाहकार रहने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्रकुमार पोखरेलले जिल्लाको लागू औषध प्रयोगकर्ताको अवस्थाका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here