आस्थालाई पक्राउ गरेर प्रहरीले सरकारलाई बद्नाम गराउने काम गर्‍योः नेकपा नेता

0
816

काठमाडौं,

सामान्य गल्तीमा गायिका आस्था राउत पक्राउ गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले विरोध जनाएका छन् । नेताहरुले सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको निष्कर्ष निकालेका छन् ।

पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले गायिका राउतलाई तत्काल रिहा गर्न माग गरेका छन् । पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हिरासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरेका हुन् ।

गायिका राउत दोलखाबाटै पटक पटक निर्वाचित भएका पोखरेलकै निर्वाचन क्षेत्रकी मतदाता हुन् । त्यस्तै नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले पनि आस्था राउतलाई माफी मगाएर सम्झाएर घर पठाउनुपर्ने भन्दै प्रहरीले आस्थामाथि उठाएको कदममा सहमत हुन नसक्ने बताएका छन् ।

सापकोटाले फेसबुकमा लेखेका छन्, ‘जसरी आस्था राउतको उत्ताउलोपनसँग सहमत हुन सकिएन त्यसैगरि पुलिसको आस्थामाथिको अतिमा सहमत हुन सकिन्न । उनको उत्ताउलोपनको माफी मगाएर, सम्झाएर घर पठाऊ ।’

सांसद नविना लामाले पनि राउत पक्राउको विरोध गरेकी छन् । उनले आस्था राउतमाथि अन्याय भएकाले महिला प्रहरीलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् । उनले भनेकी छन्, ‘आस्था राउत माथि अन्नाय भयो । सीसीटिभीमा प्रहरी महिलाको पनि गल्ती देखिन्छ । प्रहरीपक्ष लाई किन करबाही भएन ? नेपालको प्रहरीलाई नैतिक़ शिक्षाको प्रशिक्षण दिन जरुरी छ । पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको देखिन्छ ।’

सामाजिक सञ्जालमा अन्य नेताहरुले आस्था राउतको पक्षमा आवाज उठाएका छन् । उनीहरुले बलात्कार आरोप लागेका सिद्धबाबालाई कारबाही गर्न नसकेको भन्दै प्रहरीको आलोचना गरिरहेका छन् ।-काठमाण्डौंपाटी डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here