युनिक क्याम्पसमा नवीनतम व्यवसाय सम्बन्धी प्रतियोगिता हुने

0
854

सुरुङ्गा ।

यूनिक बहुमुखी क्याम्पस सुरुङ्गाको आयोजनामा झापा जिल्ला स्तरीय नवीनतम व्यवसाय योजना निर्माण प्रतियोगिता हुने भएको छ । व्यावसायिक योजनाको प्रस्तावना पत्र तयारीका लागि पुस अन्तिम साताबाटै जिल्लाका २५ वटा सरकारी, निजी र सामुदायिक क्याम्पसहरुमा अनुरोध गरिएको थियो ।

विद्यार्थीहरुमाझ अन्तर्निहीत उद्यमशिलताको क्षमता र रचनात्मक सोचको विकास गर्ने मुलभुत उद्देश्य सहित झापा जिल्ला स्तरीय विभिन्न क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै युनिक बहुमुखी क्याम्पसले ईनोभेटिव विजनेस आइडिया च्यालेन्ज–२०२० आयोजना गरिएको क्याम्पस प्रमुख दीपक भट्टराईले बताए ।

प्रस्तावना पत्र पनि प्राप्त भइरहेको हुँदा विभिन्न चरण पार गरी माघ २६ गते यो प्रतियोगिताको अन्तिम निर्णायक कार्यक्रम गरिने सो क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष त्रिलोचन उप्रेतीले जानकारी दिए ।

यस किसिमको कार्यक्रमबाट स्नातक तहमा वाणिज्यशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई स्वउद्यमशीलताका लागि प्रेरित गर्ने , सैद्धान्तिक अध्ययन र तिनको ब्यवहारिक प्रयोजनको लागि साझा मञ्चको निर्माण गर्ने , विभिन्न वित्तीय संस्था , व्यवसायिक फर्म तथा अन्य निजी तथा सार्वजनिक निकायहरुसँग विद्यार्थीको अन्तरसम्बन्ध विकास गर्ने र नविनतम साना व्यवसायिक योजनाहरुको निर्माण र तिनिहरुको स्थापनाका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्ने जस्ता विषयमा सहयोग पुग्ने छ भन्ने उदेश्यले क्याम्पसले यो कार्यक्रम आयोजना गरेको र झापामा पहिलोपटक यो प्रतियोगिता हुन लागेको सो क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज अधिकारीले बताए ।

उद्यमशीलताको प्रवद्र्धनका साथै वित्तीय तथा वाणिज्य क्षेत्रहरुलाई आफूलाई आवश्यक दक्ष जनशक्तिको पहिचानका निम्नि समेत यस कार्यक्रमले अवसर प्रदान गर्ने सहायक क्याम्पस प्रमुख अधिकारीले आशा व्यक्त गरे । दुई चरणमा सम्पन्न हुने प्रतियोगितामा प्रथम चरणमा जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक क्याम्पसबाट व्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले पाँच÷पाँचजनाको समूह निर्माण आयोजकले तोकेको ढाँचा अनुसार नवीनतम व्यावसायिक योजनाको प्रस्तावना पत्र बुझाउने र प्राप्त प्रस्तावनाहरु मध्येबाट निर्णायक मण्डलले दोस्रो वा अन्तिम चरणका लागि उत्कृष्ट ५ वटा प्रस्तावना छनौट गर्ने कुरा कार्यक्रम संयोजक सहायक प्राध्यापक विनोद तिम्सिनाले जानकारी दिए ।

दोस्रो चरणमा पहिलो चरणवाट छनौटमा परेका प्रस्तावना तयार पार्ने समुहले आफ्नो व्यवसायिक योजनासँग सम्वन्धित पावरपोइन्टको तयार गरी माघ २६ गते निर्णायक साथै विभिन्न वित्तीय तथा व्यापारिक क्षेत्रसँग सम्बन्धित संस्था तथा व्यक्तिमाझ प्रस्तुत गर्नुपर्नेछ । जसमध्ये निर्णायक मण्डलले एक उत्कृष्ट योजनाको छनौट गर्नेछ । सो प्रतियोगितामा निर्णायकको रुपमा सम्बन्धित विषय विज्ञ, व्यावसायिक तथा वित्तीय क्षेत्रसँग आबद्ध व्यक्तिहरुलाई चयन गरिएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का संयोजक मिनप्रकाश मैनालीको संयोजकत्वमा एक्सल डेभलपमन्ट बैंकका क्रेडिट डिभिजन प्रमुख शिवकुमार गिरी र नेपाल बैंक लिमिटेड इलाम शाखाका प्रबन्धक कृष्णबहादुर नेपाललाई तीन सदस्यीय निर्णायक मण्डलमा चयन गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूह नगद २५ हजार सहित अवार्ड र प्रमाणपत्रबाट पुरस्कृत हुने छ भने सहभागी सबै समुहले प्रमाणपत्र प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here