कोरोना भाइरस रोग भित्रिन नदिन पूर्वीनाकामा उच्च सतर्कता

0
1040

काँकरभिट्टा।

पूर्वीनाकाबाट नोवल कोरोना भाइरस रोग भित्रिन नदिन १२ घण्टे हेल्थ डेक्समार्फत विशेष सजगता अपनाइएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालय झापाको समन्वय तथा सहजीकरणमा काँकरभिट्टामा नोवल कोरोना भाइरस परामर्श सहायता कक्ष स्थापना गरिएको मेचीनगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । सहायता कक्षको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा नगरप्रमुख विमल आचार्यले नोवल कोरोना भाइरसले संक्रमित व्यक्ति नेपालमा देखिनुधेरै संवेदनशील भएकाले पुर्वीनाकाबाट रोग भित्रिन नदिन हेल्थ डेक्समार्फत विशेष सजगता अपनाएको बताउनुभयो ।

सहायता कक्षमा सक्रिय स्वास्थ्यकर्मीले यसनाका हुदै नेपाल प्रवेश गर्ने विदेशीहरुमा निगरानी बढाउने र कहि कतै भाइरसको लक्षण देखिए आवश्यक परामर्श र उपचार गर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले ज्वरो १ सय ४ डिग्रीमाथि आउनु, घाटी र टाउको दुख्नु, रुघा र खोकी लाग्नु तथा श्वासप्रश्वासमा समस्या देखिनु यो रोगको लक्षण रहेको बताउनुभयो ।

उहाँले नियमित सावुन पानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, जंगली तथा घरेलु पक्षीहरुको सम्पर्कबाट टाढा रहने, खोक्दा हाछ्यँ गर्दा नाक र मुख छोप्ने फ्लुको लक्षण देखिएका व्यक्तिबाट टाढा रहने मासु अण्डा राम्रोसँग पकाएर खाने यसबाट बच्ने उपाय रहेको जानकारी गराउनुभयो ।

विशेष गरी स्वास्थ्यकर्मी टोलीले शंकास्पद व्यक्तिको र्याल र रगतको नमुना परीक्षण गर्ने व्यवस्था मिलाउने छन् । चीन शासित हङकङले वुहानबाट देखिएको नोवल कोरोना भाइरसका कारण सोमबारसम्ममा ८१ जनाको मृत्यु र ३ हजारभन्दा बढीमा संक्रमण भेटिएको छ ।

उद्घाटन कार्यक्रममा मेचीनगर ४ नम्बर वडााक वडाध्यक्ष नवीन वराल, मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशीकला राई, स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईँ, काँकरभिट्टा स्वास्थ्य केन्द्र प्रमुख तालबहादुर खड्का, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here