कचनकवल गोल्डकप माघ २७ बाट

0
925

भद्रपुर।

भ्रमण बर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

यही माघ २७देखि फागुन ५ गतेसम्म हुने फुटबल प्रतियोगिताको बारेमा मंगलबार कचनकवलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले यस्तो जानकारी गराएको हो ।

कचनकवल गाउंँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा बनियानी खेल मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी आठ वटा टिमले सहभागिता जनाउने क्लवका अध्यक्ष हरि बस्नेतले जानकारी दिए ।

उक्त प्रतियोगितामा आयोजक बनियानी युवा क्लव, जलथल फुटबल क्लव झापा, रेड हर्स फुटबल क्लव इलाम, उर्लाबारी फुटबल क्लव मोरङ, तालतलैया फुटबल क्लव सुनसरी, चर्च ब्वाइज युनाइडेट ललितपुर, युनाइटेड फुटबल क्लव दार्जीलिङ भारत र मानेभञ्जाङ फुटबल क्लव पश्चिम बंगाल भारतले सहभागिता जनाउने अध्यक्ष बस्नेत बताए ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा १ नम्बर प्रदेश सरकार अन्तर्गत प्रदेश सांसद कोषबाट बसन्त बानियाँले ४ लाख २५ हजार, कचनकवल गाउँपालिकाले ३ लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट संकलन गरिनेछ ।

प्रतियोगिताबाट बचत भएको रकम गाउँपालिकाको खेलकुद क्षेत्रकै स्तरोनन्तिका लागि खर्च गरिने उनले बताए । प्रतियोगिताका बिजेता टिमलाई नगद १ लाख ५० हजार र उपबिजेता टिमलाई १ लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाँउपालिका अध्यक्ष अन्जार आलमले भ्रमण बर्षलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस प्रतियोगिताले कचनकवलमा पर्यटन भित्र्याउन सहयोग पुर्याउने बताए । भ्रमण बर्ष सफल बनाउन फुटबल खेलसँगै गाउँपालिकाले आउँदो फागुन महिनामा कचनकवल महोत्सवको आयोजना गर्न लागेका छौं– उनले भने ।

नेपालकै होचो भूभाग कचनकवललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउन संघीय तथा प्रादेशिक सरकारले बजेट छुट्याउनु पर्ने उनको माग छ । कार्यक्रमको सञ्चालन क्लबमा सचिव शिवप्रसाद गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here