भारत हो कि नेपाल ?

0
1266

चिन्तामणि दाहाल,

हिजोअस्तीको कुरा हो मेरा एक पूर्वी पहाडका पुराना मित्र झापा आएका थिए । करिब ६० बर्षका ती मित्र पहिलो पटक झापा झरेका थिए । उनलाई झापा आउने काम परेकै थिएन रैछ । ताप्लेजुङ बसे पनि यातायातको सुविधाले उनलाई सबै कुरा ताप्लेजुङमै पाउन सहज भएको थियो । एक हप्ता घुमेपछि उनी ताप्लेजुङ फर्कने भए । फर्कने बेलामा मैले उनलाई प्रश्न गरें– मित्र तिमीलाई झापामा गजब लागेको कुरा के हो ?

उनले भने सबै कुरा त खासै अनौठो लागेन । तराई, मधेश समथर हुन्छ भन्ने थाहा थियो । झापामा चिया, धान, सुपारी, नरिवल, आँप, लिची लगयातको उत्पादन प्रशस्तै हुन्छ भन्ने सुने अनुसार नै हुँदोरहेछ भन्ने केही आफ्नै आँखाले देखेँ भने केही सुनेँ । तर, गजबै लागेको चाहिँ मैले झापा नेपाल हो कि भारतको एउटा कुनै प्रान्त हो भन्ने चाहिँ छुट्याउन गाह्रो भयो ।

मैले किन झापा त नेपालकै एउटा सिमान्त पूर्वी तराई मधेशको विविध जाति र संस्कृतिले सम्पन्न जिल्ला हो भनेर जवाफ दिएँ । उनले भने त्यो मुखले भनेर हुन्छ र व्यवहारमा देखिनु पो पर्छ त ? उनको प्रतिप्रश्न थियो । मैले फेरि भनें– यहाँका सबै सरकारी साइनवोर्डमा केहीमा नेपाल र धेरैमा प्रदेश १ झापा आदि लेखिएका छन् । उद्योग, व्यापार व्यवसायीका साइनवोर्डमा पनि धेरैमा नेपाल लेखिएका छन् । पत्र पत्रिकामा पनि त्यस्तै पाइन्छ । अनि कसरी भ्रम भयो मित्र तिमीलाई यो भारतको प्रान्त जस्तो लाग्ने ?

उनले भने यहाँको बोलीचाली पनि धेरै हिन्दी बोलेको सुनें । त्यो पनि विविध जातिका कारण भएको होला भनेर मानें । तर, राम्रा र टल्कने साना सवारी साधनदेखि मोटरसाइकल, जीप, कार, भ्यान, स्कुटी, ट्रक, ट्याक्टर समेत भारतीय नम्बर प्लेटकै बढी देखें ।

आक्कल झुक्कल मात्रै नेपाली नम्बर प्लेटका । ल ठिकै छ ट्रक त सामान पु¥याउन आएका होलान् भनेर ठिकै लाग्यो । तर, कार, जीप, भ्यान, मोटरसाइकल र ट्याक्टर समेत भारतीय नम्बरका त्यो पनि छ्यास्छ््यास्ती देखेपछि भनें मलाई लाग्यो झापा उहिल्यै पो भारतीय प्रान्तको एउटा भाग भएको हो भन्ने लागेर यो चाहिँ गजब लाग्ने कुरा भयो मेरा लागि उनको जवाफ थियो ।

राष्ट्रियताको सवाल :

उनको गजब लागेको कुरामा मेरो ध्यान पुगेकै रहेनछ । आज एउटा, भोलि दुईवटा, पर्सी तीनवटा गरेर भन्सारले दिएको हप्ते सुविधाको दुरुपयोग गरेर भारतीय नम्बर प्लेटका सवारी साधनले झापामा बारै महिना घुमेर टन्न कमाएको मलाई सामान्य लागेको रहेछ । उनको कुराले मेरो दिमागमा झिल्का पसेजस्तो भयो । अनि सोच्न थालें । मलाई सधैं देख्दा–देख्दा स्वभाविक लागेको कुरा त राष्ट्रियतासँग पो जोडिएको रहेछ ।

राष्ट्रियताको ठूला–ठूला कुरा गर्ने नेता, जनप्रतिनिधिदेखि कार्यकर्ता, व्यापारी, सर्वसाधारणसम्मले भारतीय नम्बर प्लेटका सवारीसाधन निर्वाध प्रयोग गरिरहेका रहेछन् । भारतीय नम्बर प्लेटकै सवारीसाधन गुडाएर भारत विरोधी नारा लगाएको पनि सुनेको सम्झिएँ । मलाई प्mल्यास व्याक जस्तो सबै कुरा सरसर्ती दिमागमा घुम्न थाल्यो । यो त बेथिती पो रहेछ । कानूनको दुव्र्याख्या गरेर भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग झापा मात्र होइन भारतको सीमाना जोडिएका तराई–मधेशका २० वटा शहर र सयौं गाउँपालिकामा त्यस्ता सवारीसाधन अनगिन्ती रहेछन् ।

भारतीय पर्यटकहरुले भारतीय नम्बर प्लेटका सवारीसाधन लिएर आउने कुरा त सामान्य हो । यस्तो सुविधा नेपाली नम्बर प्लेटका सवारीलाई पनि भारतमा जाने छ । तर, यसमा पनि एउटा फरक के छ भने नेपाली नम्बर प्लेटका सवारीसाधन भारतमा घुम्न नेपालस्थित भारतीय दुतावासबाट तोकेको शुल्क तिरेर अग्रिम स्वीकृति लिनुपर्छ । तर, भारतीय नम्बर प्लेटका सवारी साधनलाई भने प्रवेश विन्दुमै पास पाउने व्यवस्था छ ।

यसमा पनि विभेद छ । त्यो विभेदलाई पनि मतलबै नराखी नेपालीहरु नै भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्नमा गर्व गर्छन् । यसलाई उनीहरुले पैसासँग जोडेका छन् । भारतबाट नेपाल ल्याइने सवारीसाधनमा दुई सय प्रतिशतभन्दा बढी भन्सार लाग्छ । हप्ते सुविधालाई दुब्र्याख्या गर्ने बित्तिकै भन्सार तिर्ने रकमको व्याज पनि आधाले नै नेपालमा भारतीय नम्बर प्लेटका गाडी अत्यधिक सस्तोमा चलाउन पाउने भएकोले चलाउन बाध्य भएको उनीहरुको तर्क र विश्लेषण छ ।

अरु कुरामा राष्ट्रियता, सवारीसाधनमा भने राष्ट्रियता हुँदैन । यस्तो स्वांगे राष्ट्रियता भएका स्वनामधन्य नेता, कार्यकर्ता, जनप्रतिनिधि, व्यापारी, सामाजिक अभियन्ता, राष्ट्रवादीहरु लगायतकै मनोवृत्तिका कारण होला अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई पनि स्वभाविक देख्न थालेका छन् । पैसा आउँछ भने ….के को पनि टिप्ने र राष्ट्रियताको अपव्याख्या गर्ने गरिएको होला ।

स्वयम् अमेरिकी सुरक्षा अधिकारीले एमसिसी इन्डोप्यासिफिक सैन्य रणनीतिको अंग हो भन्दा भन्दै पनि नेपालका नेता र मन्त्रीहरु भने त्यस्तो होइन मात्र भन्दैनन् अमेरिकी राजदुतलाई विज्ञप्ती लेख्न पनि लगाउँछन् । अमेरिका जस्तो चलाख देशले आफ्नो राष्ट्रिय स्वार्थका लागि त्यस्ता राजदुतलाई सहजै प्रयोग गर्छ । यो कुरा खोई बुझेको ?

भन्सारको सुविधा :

भारतीय नम्बर प्लेटका सवारीसाधनलाई एक पटकका लागि सात दिनसम्म सामान्य शुल्क तिरेर प्रवेश दिने नियम छ । नेपाल भारतबीचको सन्धीमा नेपाली सवारीसाधन नजिकको रेल्वे स्टेसनसम्म लान पाउने सुविधा छ । त्यो भन्दा पर लानु पर्ने भए दुतावासबाट स्वीकृति लिनुपर्छ । जब कि भारतीय नम्बर प्लेटका सवारीसाधनले भारतस्थित नेपाली दुतावासमा पुग्नु पर्दैन ।

एकपटक सात दिनसम्म पस्न पाउने सुविधाको दुरुपयोग गरेर दैनिक भारतबाट नेपाल प्रवेश गरेको रेकर्ड देखाउन भन्सारमा रसिद काटेर नेपाल भित्र घुमिरहेका छन् भारतीय नम्बर प्लेटका सवारीसाधनहरु । यस्ता सवारीसाधन स्वयम नेपालीले चलाउँछन् । यस्तो दुर्वुद्धि स्वयम् भन्सारका कर्मचारीले सिकाउँछन् र प्रहरीले सहयोग गर्छन् ।

अहिले के रहेछ भने भारतीय नम्बर प्लेटका सवारी चलाउन भारतबाटै चालक अनुमति पत्र लिएको हुनुपर्ने व्यवस्था रहेछ । तर, यसको पनि अनुगमन भएको छैन । यसबाट एकातिर राष्ट्रियताको गम्भीर सवाल उठेको छ भने अर्कातिर सयौंको लोभमा करोडौंको राजस्व मरेको छ । सोझा र वास्तवमै राष्ट्रवादी भने बेवकुफ भएका छन्, नेपालकै नम्बर प्लेटका सवारी साधन चलाएर ।

अन्त्यमा, यो एउटा प्रसंग बहसका लागि पंक्तिकारले लेखेको हो । यसतर्फ नियामक निकायले ध्यान दिने हो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here