चार शहीदको पूर्ण कदको शालिक निर्माण

0
837

काठमाडौँ,

शहीद सप्ताह चलिरहँदा काठमाडौँ महानगरपालिकाले चार शहीदको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ । यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथे र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको थियो ।

शहीद सप्ताहको तेस्रो दिन आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण गरिएको छ । विसं १९९७ मा प्रजातन्त्रका लागि शहादत प्राप्त गर्ने चारै शहीदको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको हो ।

महेश तुलाधरले निर्माण गर्नुभएको शालिक नगर प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले अनावरण गर्दै व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि शहादत प्राप्त गर्ने शहीदलाई चीरकालसम्म सम्झना गरिरहन पूर्ण कदको शालिक निर्माण गरिएको बताउनुभयो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने औँल्याउनुभयो । हुकुमी शासनका विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । विसं १९६० असार १७ गते बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो ।

त्यस्तै विसं १९७५ मा रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । राणा शासनविरुद्ध लागेको भन्दै शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मारिएको थियो । शास्त्री विसं १९५० बनारसमा जन्मनुभएको थियो ।

विसं १९६६ असोज १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन राणाशासनका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । यही माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ । महानगरपालिकाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here