६०५ जना पक्राउ, २०८ वर्ष कैद सजाय

१६ माघ २०७६, बिहीबार मा प्रकाशित

झापा।

विभिन्न अपराध गरेर अदालतले कैद सजाय तोके पनि फरार रहेका व्यक्तिहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न शुरु गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत भन्दै सजाय तोकिएका व्यक्तिलाई पक्राउ गरेर अदालत हाजिर गराउन प्रहरीले सक्रियता देखाएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अपराध गरेर लामो समयदेखि फरार रहेका पुराना घटनाका प्रतिबादीहरुलाई धमाधम पक्राउ गरी अदालत बुझाउने काम भइरहेको प्रदेश प्रहरी प्रमुख डीआइजी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए । समाजमा कुनै पनि अपराधका घटना नै नहोस् भन्ने हाम्रो चाहना हो – उनले भने– यसमा सबैको साथ आवश्यक छ । लामो समयदेखि विभिन्न खालका घटनाहरु घटाएर फरार रहेका प्रतिबादीहरुलाई पछिल्लो समय प्रहरीले धमाधम पक्राउ गर्न विशेष अभियान नै सञ्चालन गरेको डीआइजी ज्ञवालीले बताए ।

प्रदेश–१का झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायतका १४ जिल्लाबाट ६ महिनाको अवधिमा ६ सय ५ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन गराएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अदालतबाट दोषी ठहर भई सजाय फैसला सुनाइएका कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी, हातहतियार खरखजाना तथा लागूऔषध लगायतका विभिन्न मुद्दाका फरार प्रतिबादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । फरार अभियुक्त खोजतलास तथा पक्राउ अभियान अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको विशेष निर्देशनमा मातहत प्रहरी कार्यालयहरुले फरार अभियुक्तहरु लुक्न बस्न सक्ने सम्भावित स्थानहरुमा विशेष निगरानी तथा कारवाही सञ्चालन गरी खोजतलासलाई अभियानकै रुपमा अगाडि बढाएपछि फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये केही दिन, महिना र बर्षदेखि लिएर आजीवन जेल सजाय तथा लाखौं रुपैयाँसम्मको धरौटी तोकिएका प्रतिबादीहरु रहेका छन् । पक्राउ परेकाहरुबाट दुई सय आठ बर्ष ५ महिना ६ दिन रहेको छ भने धरौटी बापत जरिवाना १६ करोड, ९८ लाख ६ हजार आठ सय सात रुपैयाँ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अपराध लुक्न सक्दैन र अपराध गर्ने जो कोहीलाई पनि ढिलो चाँडो प्रहरीले पक्राउ गरी छाड्ने प्रहरीले जनाएको छ । अदालतहरुबाट वर्षौदेखि फरार रहेकाहरुको सूची माग गरेर प्रहरीले अभियान नै सञ्चालन गरेर धमाधम फैसला कार्यान्वयन गरिरहेको जनाइएको छ ।

पछिल्लो समय विभिन्न अपराधका घटनाहरु बढी रहेको प्रहरीले जनाएको छ । विशेष गरेर साइबर अपराधका घटनाहरुमा वृद्धि भएको प्रहरीको भनाइ छ । समाजमा शान्ति सुरक्षा कायम गर्न समाजको महत्वपूर्ण भूमिका हुने भन्दै प्रहरीले समुदायलाई जागरुक गराउने उद्देश्यले समुदाय प्रहरी साझेदारीका कार्यक्रमहरु ल्याएको जनाइएको छ ।

समाजमा ठूला अपराधका घटनामा केही कमी आए पनि साना अपराधका घटनाहरु बढ्दै गएको प्रहरीले जनाएको छ । प्रहरीले अपराधको बर्गीकरण गरेर त्यसलाई रोक्न विभिन्न अभियान नै सञ्चालन गरिरहेको छ ।

समाजमा बर्षौ अघि अपराध गरेर कैद सजाय तोकिए पनि लुकिछिपी बस्नेहरुलाई धमाधम पक्राउ गर्दै कानूनको कठघरामा उभ्याउन शुरु गरेसंगै आपराधिक मानसिक भएका ब्यक्तिहरु निरुत्साहित हुने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अपराधमा संलग्न भएर अदालतबाट साजय तोकिए पनि विदेश गएर नेपाल फर्किएको अवस्थामा प्रहरीले पछि मात्रै थाहा पाएर पक्राउ गरेका घटनाहरु बाहिर आइरहेका बेला प्रदेश प्रहरी कार्यालय विराटनगरले भने १४ वटै जिल्लामा अभियान नै सञ्चालन गरेर फरार सूचीमा रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न शुरु गरेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here