सालबारीमा नगर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

0
698

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालय बाल क्लबको आयोजनामा बिहीबारदेखि दोस्रो वडाध्यक्ष नगर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि प्रदेश नं. १का सांसद् वृख प्रधानले उद्घाटन गरेका थिए ।
प्रधानाध्यापक मनबहादुर लिम्बूका अनुसार सामुदायिक र संस्थागत गरि आठ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद पुरस्कार १५ हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा आयोजक महारानीगञ्जसँगै भानु मा.वि., कालिस्थान मा.वि., सिंहदेवी मा.वि., लक्ष्मी मा.वि., एम्स एकाडेमी, शनिश्चरे मा.वि. र जनता मा.वि.को सहभागिता रहेको छ । आगामी माघ २४ गते फाइनल रहेको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरिने तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद एक हजार प्रदान गरिने बताइएको छ ।

त्यसैगरि कार्यक्रममा बिर्तामोड भेट्रान क्लबका अध्यक्ष किरण थापाले क्लबकोतर्फबाट प्रायोजन गरेको चार वटा फुटबल आयोजक बाल क्लबकी अध्यक्ष सलमा भारतीलाई हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा विद्यालय परिसरमा निर्माण हुने दुई कोठे भवनको प्रमुख अतिथि प्रधानले शिलान्यास गरेका थिए । मा.वि. तहको कक्षा सञ्चालन हुने उक्त भवनको लागि चालु आर्थिक वर्षमा प्रदेश क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख विनियोजन भएको हो ।

अर्जुनधारा–११ वडा समितिका अध्यक्ष भैरवबहादुर खड्का, वडा खेलकुद विकास समितिका संयोजक मोसेस खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवकुश गौतमलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक लिम्बूले गरेका थिए ।
सोही दिन सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा आयोजक महारानीगञ्ज माविलाई १–० गोल अन्तरले पराजित गर्दै भानु माध्यमिक विद्यालय सेमीफाइनलमा पुग्न सफल भएको छ ।

भानु माविको जितका लागि खेल सुरु भएको तीन मिनेटमा रोहन दनुवारले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याचसमेत घोषित निर्णायक गोलकर्ता दनुवारलाई वडा खेलकुद विकास समितिका संयोजक मोसेस खड्काले एक हजार प्रदान गरेका थिए ।

शुक्रबारको खेल कालिस्थान माध्यमिक विद्यालय र सिंहदेवी माध्यमिक विद्यालयबिच हुने आयोजक क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here