भारतको कारगिल युद्धमा शहीद भएका सुरेश र महेशको स्मृतिमा नेपालमा गुरुकुल सञ्चालनमा

0
635

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

भारतको कारगिल युद्घमा शहीद भएका झापा मेचीनगर १ भोर्लेनीका सुरेशकुमार क्षेत्री र उनका दाजु महेश क्षेत्रीको स्मृतिमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुल विहीबारबाट सञ्चालनमा आएको छ । सन् १९९९ जुलाई ७ तारीखका दिन कारगिलमा भएको युद्घमा थापाले शाहदत प्राप्त गर्नुभएको थियो ।

शहीद थापा परिवारको १ करोड १० लाख बढि रुपैयाँमा लागतमा निर्माण भएको उक्त गुरुकुलको श्री पञ्चमीको अवसर पारेर मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

उदघाटनका क्रममा प्रमुख आचार्यले शहीद परिवारले समाजमा देखाएको यो कदमको प्रशंसा गर्नुभयो । उहाँले शहीद परिवारले निर्माण गरिदिए पनि यो संरचना नगरकै गहना भएकोले यसको संरक्षण तथा सम्वद्र्घन गर्ने दायित्व हरेकको भएको बताउनुभयो । गुरुकुल सञ्चालनमा चुनौती हुने भएकाले पनि यसमा हरेकको साथ सहयोग आवश्यक रहेको उहाँको भनाई थियो ।

स्थानीय सरकारका नाताले यसको अपनत्व नगरपालिकाले पनि गर्ने र स्थानीय सरकार प्रमुखको हैसियतले आफुले समेत यसको विकासका लागि हरेक काम गर्ने उहाँको भनाई थियो । अब हरेक मानिस मानविय सेवामा लाग्नुपर्ने भन्दैं प्रमुख आचार्यले अहिले विभिन्न कारणले हाम्रा धर्म संस्कृति लोप हुदै गएकाले यिनको संरक्षणका लागि गुरुकुल कोशेढुङ्गा सावित हुने धारणा राख्नुभयो ।

हरेक मान्छेले आफ्नो धर्मकर्म धार्मिक संस्कार विर्सन नहुने उहाँको भनाई थियो । नगरभित्र पर्ने बाहडाँगी विभिन्न दृष्टिकोणले महत्वपुर्ण मानिएको भन्दैं नगरप्रमुख आचार्यले यसलाई अब शैक्षिक पर्यटकीय स्थलका रुपमा पनि विकास गर्न जोड दिनुभयो । बाहुनडाँगी धार्मिक एवम् साँस्कृतिक पर्यटकीयरुपमा विकास भएकाले अब शैक्षिक पर्यटकीयक्षेत्रका रुपमा अघि बढन गुरुकुलले इटा थप्ने काम गरेको बताउनुभयो । जसरी कृष्णथुम्की, वोटवृक्ष मिनि माउण्टेन हेन आन्तरिक एवम् बह्य पर्यटक आउछन अब धार्मिक शिक्षा ग्रहण गर्न पनि बाहुनडाँगी आउने उहाँले बताउनुभयो ।


उपप्रमुख उप्रेतीले हरेक नागरिकले उचित शिक्षा र स्वास्थ्य पाउनु नैसर्गिक अधिकार भएको बताउँदै गुरुकुल शिक्षाको अभावमा अहिले धेरै धार्मिक कर्मकाण्ड गर्न पंण्डित नपाईने भएको धारणा राख्न्ुभयो । उहाँले अहिले गुरुकुल शिक्षाको आवश्यकता भएको भन्दैं प्राविधिक शिक्षामा समेत जोड दिन आग्रह गर्नुभयो ।

स्थानीय सुभद्रा राईले ४८ लाख रुपैयाँ मुल्य बराबरको १६ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि थापा परिवारले उक्त भवन निर्माण गरिदिएको हो । श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्लको सभापतित्वमा भएको उद्घाटन समारोहमा शहिद परिवारकातर्फबाट रामहरि थापाले गुरुकुलको आवश्यकताका बारेमा प्रष्ट पार्नुभयो ।

व्यवस्थापन समितिका उपाध्यक्ष नारदमणि काफ्लेले गुरुकुलमा योग शिक्षा, वेद, गीता, कर्मकाण्ड पढाई हुने बताउँदै यसलाई भविष्यमा शहीद स्मारक जडीवुटी उद्धान बनाउने बताउनुभयो । यो गुरुकुलमा विना भेदभाव, सवै जात, वर्ग समुदायका बटुकलाई भर्ना लिने र नेपालकै उदारहणीय गुरुकुल बन्ने धारणा राख्नुभयो । उहाँले कुनै एउटा धर्मले अर्काे धर्मलाई गाली गलौज गर्न नहुने सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय प्रेमलाल न्यौपानेले समेत गुरुकुलका लागि थप १ विगाह जग्गा निःशुल्क प्रदान गर्नुभएको बताउनुभयो ।

समितिका सचिव विशाल कृष्ण वास्तोलाले सञ्चालन गरेको कार्यक्रममा वृन्दावनका स्वामि आनन्द सागर, मेचीनगरका नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडानम्बर १ र ४ का वडाध्यक्षहरु क्रमस पासाङ तामाङ, नवीन वराल, धार्मिक व्यक्तित्व अशोक सुब्बा, महिला उद्यमी सविना बजगाईँलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here