चुरे संरक्षणमा पक्षपात !

१७ माघ २०७६, शुक्रबार मा प्रकाशित

नारायण अर्याल / बुधबारे।

धान, मकै, गहुँ फल्ने समथर उर्वर भूमिदेखि चुरेका सुन्दर चुचुरा र डाँडाकाडाँले भरिपूर्ण झापा जिल्लाको उत्तरपूर्वमा अवस्थित एक सुन्दर गाउँपालिका हो– बुद्धशान्ति ।

झापाको तरकारीको राजधानीको रुपमा परिचित साविक शान्तिनगर र कुनै बेला नेपालकै धेरै धान उत्पादन हुने साविक बुधबारे गाउँ विकास समिति मिलेर बनेको यो गाउँपालिका भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा धार्मिक र पर्यटकीय विविधताले भरिपूर्ण छ । ७९ दशमलव ७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बुद्धशान्ति गाँउपालिकामा सात वटा वडाहरु रहेका छन् ।

जिल्लाको परिचयको जगका रुपमा रहेको ऐतिहासिक ठुटेबर, इलामको आग्र्यानिक उत्पादन पाउने पुरानो बुधबारे बजार, नेपालकै धेरै धान फल्ने हात्तीसुढे, पर्यटकीय स्थल धारागोला यसै पालिकामा पर्दछन् । ४२ हजार पाँच सय २५ कूल जनसंख्या रहेको यस पालिकाको पूर्वमा मेचीनगर नगरपालिका पश्चिममा अर्जुनधारा नगरपालिका उत्तरमा इलाम जिल्लाको रोङ गाउँपालिका र दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका रहेका छन् ।

यस गाउँपालिकाका अधिकांश बासिन्दा कृषिमा पेशामा आश्रित भए पनि पछिल्लो समय कतिपय स्थानीय क्रमिक रुपमा व्यापार, व्यवसाय लगायत अन्य पेशा समेत अँगाल्न थालेका छन् । यस गाउँपालिकामा उत्पादित अन्न केही वर्षअघिसम्म भारतमा समेत निर्यात हुने गरेको थियो । यस्तो अत्यधिक उर्भर भूमि र यसैमा आश्रित जनसंख्याको ठूलो हिस्सा रहेको यस बुद्धशान्ति गाउँपालिकाका स्थानीयले भौगोलिक अवस्थितिका कारण समय–समयमा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्दै आउनु परेको छ । जसले गर्दा गाउँपालिकाको कृषि उत्पादकत्वमा समेत ह्रास आउँदै गइरहेको छ ।

पालिकाभित्रका सात वटै वडा प्राकृतिक रुपमा अत्यन्तै संवेदनशील रहेको चुरे पहाड तथा भावर क्षेत्रमा अवस्थित रहेको छ । जसका कारण यस क्षेत्रलाई बर्षैपिच्छे बाढी– पहिरो, भू–क्षय जस्ता प्राकृतिक विपत्तीले पिरोल्दै आएको छ । इलामको दक्षिणी चुरे क्षेत्र हुँदै यस पालिकाको चुरे तथा भावर क्षेत्र भएर दक्षिण बग्ने गरेका केही ठूला खोला तथा खहरेका कारण पालिकाभित्रका खेतीयोग्य जमिन तथा मानव बस्तीहरुले हरेक बर्ष प्राकृतिक समस्या व्यहोर्न बाध्य छन् ।

पूर्वमा भारतको ब्रम्हापुत्र नदीदेखि पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको ‘शिवालिक भू–परिधि’ नेपालमा चुरे क्षेत्रका नामले परिचित छ । बुद्धशान्ति गाउँपालिकाभित्रको उत्तरी क्षेत्र यही भू–परिधीको आठ हजार दुई सय ९५ हेक्टर चुरेक्षेत्रमा अवस्थित छ । सामान्यतयाः पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । चुरेको यही संवेदनशिलताका कारण यस क्षेत्रका बासिन्दाले वर्षेनि बिभिन्न किसिमका प्राकृतिक विपत्ती व्यहोर्दै आएका छन् ।
वि. सं. २०६४ सालमा हडियाको भेलले किनार बस्तिका नरबहादुर रसाइलीको तीन कठ्ठा जमिन बगर बनायो । अहिले उनी अर्काको जग्गामा शरण लिएर बसेका छन् । लगत्तै अर्को साल सोही बस्तीका पबित्रादेबी चौधरी र सुकमाया दर्जीलाई हडिया खोलाले सुकुम्बासी बनायो । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको वडा नम्बर ३ को किनार बस्तीका ४० घर अझै प्रकोपमा देखिन्छन् । ‘खोलामा बाढी आउँदा उर्लेर आउँछ’ –बुद्धशान्ति–१ किनारबस्तीका विमलकुमार ल्वागुनले भने– ‘एकतिर बाँध बाँध्यो, अर्कोतिर हान्छ, बस्तीतिर खोला सरेकोसर्यै छ ।’

चुरे दोहनसँगै त्यसको प्रत्यक्ष प्राकृतिक असर बुद्धशान्ति गाउँपालिको बिभिन्न मानवबस्तीमा देखिन थालेको छ । बुद्धशान्ति कै वडा नम्बर १ को दामाबस्तीका २० घरपरिवारलाई दामा खोलाले बसाईं सर्ने अवस्थामा पु¥याएको छ । ४, ५, ६ र ७ नम्बर वडा हुँदै बग्ने टिमाई खोला दोहनका कारण खोला गहिरिएर वरिपारिका मानवबस्तिमा जोखिम बढ्दै गएको छ । शान्तिनगर, गडिगाउँ, शान्तिपुर, सुनमाई, बर्ने, बाँझो खेत, किरिङडाँडा, ढकाल गौँडा, सारु गाउँ, ऐयाबारी लगायतका गाउँ जोखिममा छन् । बुद्धशान्तिको पूर्वी सिमानामा रहेको खारखोलाले चुल्ठे, खारखोला गाउँ, बडाखाललाई हरेका साल बिझाउने गरेको छ । वडा नम्बर ५ हुँदै बग्ने कुरुङ खोलाको बिझाई पनि यस क्षेत्रका बासिन्दाका लागि कम छैन । दामा नजिकैको बुदुने खोल्साले राजपैनीलाई जीर्ण पार्दै लगिरहेको छ । बिरिङ खोलाको बाढीले भोटेटार, देउराली, गिद्ये र होक्से जाने पैनी हरेक बर्खा बगाएर लैजान्छ । यतिमात्रै होइन चुरे दोहनले खोला गहिरिँदा गाउँपालिकाका जमिन सिँचित गर्ने नहर, कुलोमा पानी उठ्न छाडेको छ । ‘खेतभन्दा खोला तल भयो’ बुद्धशान्ति–६ फेरेगाउँका खुसिंङवीर लिम्बूले भने– ‘के खानु उब्जाउ हुन छाड्यो ।’

यस गाउँपालिकाको पश्चिमी सिमानामा रहेको विरीङ खोला र शान्तिनगर र सुनमाईको बीच हुँदै बग्ने टिमाई खोलालाई यस पालिकाको दुःखका रुपमा हेरिएको छ । बिरीङ, टिमाई, हँडिया, दामा, कुरुङ र खारखोलाकोे कटानले आसपासका बस्ती र खेतीयोग्य जमिन नै जोखिममा पार्ने गरेको छ । इलामबाट वडा नम्बर १ र २ हुँदै बग्ने विरीङ खोलालाई झापाकै दुःखको रुपमा हेर्ने गरिएको छ । भोटेटार, देउराली, होक्से, गिद्धे, जयपुरका खोला नजिकका बस्तीका बासिन्दाको हरेक साल विरीङ खोलाले आँशु बगाउँछ । कहिले घर खेत बगाएर त कहिले परिवारका सदस्य नै बेपत्ता बनाएर । ‘यहाँका बासिन्दाले खोलाका कारण साह्रै दुःख पाएका छन्’– बुद्धशान्ति–३ का युगप्रसाद कोइरालाले भने– ‘यसको दीर्घकालीन समाधान खोज्न जरुरी भइसकेको छ ।’
हरेक वर्ष बर्षात्मा विरीङ नदी वारिपारी ठूला–साना दर्जनांै पहिरो जाने गरेको छ । हँडिया र दामा खोलाको कटान र बाढीको बिझाई पनि १ नम्बर वडाबासीको लागि कम छैन । वडा नम्बर १ र ३ को सिमाना हँुदै बग्ने हँडिया खोलाले हरेक वर्षजसो खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।

उक्त नदीको कटानका कारण बुद्धशान्तिका विभिन्न ग्रामीण बस्तीहरु तथा खेतीयोग्य जमिन बाढीको चपेटामा पर्दै आएको छ । यसलाई रोक्न जसरी विरीङ खोलामा जनताको तटबन्धन कार्यक्रमले बाँध बाँधेको छ त्यसरी नै बुद्धशान्तिका २ वटा खोलाहरुमा बाँध बाँध्न राष्ट–पति चुरे संरक्षण कार्यक्रमले योजना अघि सार्नुपर्ने बुद्धशान्ती गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले भनिन् ।
पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म रहेको चुरे क्षेत्रको समस्या समाधान गर्न र चुरे क्षेत्र जोगाउनका लागि सरकारले समेत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तर्जुमा गरी बार्षिक करोडौ रकम बिनियोजन गर्दै आएको छ । तर, यो कार्यक्रमले अहिलेसम्म बुद्धशान्तिका प्रभावित ठाउँहरुलाई भने छुन सकेको छैन । यो कार्यक्रम अन्तर्गतका योजनाहरु हरेक साल तत्काल प्रभावित क्षेत्रमा मात्र सञ्चालन हँुदै आएको छ । समस्याको मूल स्रोत र त्यसको समाधानमा लक्षित कार्यक्रम सञ्चालनमा नआउँदा समस्या ज्युँका त्युँ रहेको स्थानीय जनप्रतिनिधिको अनुभव छ । ‘हाम्रो मात्रै लगानीले बुद्धशान्तिका खोला नियन्त्रण गर्न सक्दैनौँ’ बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले भने– ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनले चुरे संरक्षण कार्यक्रमका योजना पहुँचका भरमा सञ्चालन भइरहेको आरोप लगाए ।

उर्वरभूमिसँगै वन, खोलानाला, खनिज, प्राकृतिक, स्रोतसाधान, पानीका मुहान र जंगली जनावरले भरिपूर्ण बुद्धशान्तिका प्रभाबित चुरे र भावर क्षेत्र बचाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले यस गाउँपालिकासँग तत्काल सहकार्य गरेर काम थाल्नुपर्ने देखिन्छ । यती गर्न सके मात्र बुद्धशान्त्ती गाउँपालिका साथै झापाका बिभिन्न स्थानमा बर्षेनी निम्तने प्राकृतिक विपत्तिको रोकथाम हुने देखिन्छ । जसले, सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत सार्थक बनाउन सहयोग पुग्ने पक्का छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here