सहकारी अभियान : आवरण र यथार्थ

१७ माघ २०७६, शुक्रबार मा प्रकाशित

रामचन्द्र उप्रेती,

पञ्चायती समयमा पूर्णतः असफल भएको सहकारी अभियान बहुदल हुँदै गणतान्त्रिक अवस्थासम्म आइपुग्दा सर्वाधिक पैmलावट भएर चर्चाको चुलीमा पुगेको अभियान बन्न पुगेको छ । सहकारी ऐन २०४८ देखि सहकारी ऐन २०७४ र त्यसपछिको समयमा सहकारी अभियानमा धेरै उतारचढाव भएको छ । यही अवधिमा झण्डै ६५ लाख मानिस ३४ हजारभन्दा बढी सहकारी संघ–संस्थामा आवद्ध हुन पुगे । सहकारीले मात्रै देशमा खर्बौंको कारोवार गर्ने हैसियत बनाएको छ । वित्तीय बजारमा सहकारीको दरिलो उपस्थिति देखिएको छ । यसलाई कसैले पनि नकार्न सक्ने अवस्था छैन ।

नेपालको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सहकारीले राम्रो स्थान पायो । २०६९ मा सहकारी नीति आयो । सहकारीको ऐनसँगै सहकारी नियमावलीहरु बने । सहकारी मन्त्रालय बन्यो । सहकारीका केन्द्रीय निकायहरु बने । नेपालको सहकारी अभियान अन्तर्राष्ट्रिय सहकारी अभियानसँग सघनरुपमा जोडिन पुग्यो । टोल, वडा, गाउँ, नगर, उपमहानगर, महानगर, जिल्ला, प्रदेश र केन्द्रमा सहकारीका संरचना बने र सक्रिय छन् । टोलदेखि केन्द्रसम्म सहकारीका भेला, सभा, बैठक, निर्वाचन, सम्मान, पुरस्कार, भाषण, प्रशिक्षण, निर्देशन आदि बाक्लै हुने गर्छन् । सहकारी अभियानका कारण धेरैको जीवनमा सकारात्मक परिवर्तन भएको छ र थोरैले केही गुमाएका पनि छन् । यी सबै घटनालाई स्थानीयदेखि राष्ट्रियस्तरसम्मका सञ्चारमाध्यमले राम्रै गरि समाचार बनाउने गरेका छन् । यो सहकारी अभियानको देखिने, सुनिने, भोगिने र सबैले अनुभूत गर्ने धेरथोर आवरण हो ।

सहकारी अभियान हाम्रो समाजलाई देशलाई आवश्यक छ कि छैन भन्ने बहस अब जरुरी छैन । सहकारी अभियान आवश्यक छ भनेर नै निकै अगाडि बढि सक्यौं । विश्वले सहकारी अभियानलाई आत्मसाथ गरिसकेको छ । संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो संगठन सहकारी कै बनेको छ । आजका विकसित मुलुकको समृद्धि र विकासको आधार सहकारी बनेको छ । अब नेपालमा सहकारी अभियानको यथार्थ के छ ? के आवरणमा देखिए जस्तै भव्य र सभ्य छ यो अभियान ? यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ ? यो अभियानबाट समाजले, राज्यले गरेको अपेक्षा के हो ? के यो अभियानमा जोडिएका मानिस र यसको अगुवाई गर्ने नेताहरु सही बाटोमा सही उद्देश्यका साथ हिँडिरहेका छन् ? यी र यस्ता धेरै प्रश्नको उत्तर खोज्नुपर्छ भन्ने लाग्छ ।

सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा गर्न सहकारी एकदमै उपयुक्त माध्यम हो । किनकि यसले आर्थिक र सामाजिकरुपमा कमजोर वर्गलाई समृद्ध जीवनका लागि संगठित पार्छ, प्रेरित गर्छ, चलायमान बनाउँछ र सहयोग गर्छ । अभियानले सार्थकता त्यतिबेला मात्रै पाउँछ जतिबेला यो सही बाटोमा सही तरिकाले हिँडिरहेको हुन्छ । सही बाटोमा सही तरिकाले हिँड्नु भनेको धेरै भेग, बुझ्न समय लाग्ने, बुझ्न बुझाउन कठिन विषय होइन । सहकारीको मर्म भनेको यसले उस्तै–उस्तै आर्थिक र सामाजिक अवस्था भएका मानिसलाई संगठित गर्ने, उनीहरुलाई मिलेर आफ्नो हितमा सहकारीका मूल्य–मान्यता र सिद्धान्त अनुरुप काम गर्ने हो । यसको अगुवाई गर्ने मानिस अर्थात् सहकारी नेताले आफ्ना सदस्यको हितमा काम गर्ने हो । इमान्दारपूर्वक यही काम गर्दै जाँदा सदस्यको हित, समुदायको हित र सहकारी अभियान बलियो, सशक्त र सबैका लागि अपरिहार्य आवश्यक हँुदै जान्छ । विश्वमा यही आधारमा सहकारी अगाडि बढेको छ । जहाँ सहकारी अभियान बलियो र प्रभावकारी बनेको छ त्यहाँ सबैका लागि आर्थिक विकास र सामाजिक न्याय भएको छ ।

आवरणमा यति आकर्षक देखिने नेपाली सहकारी अभियनानको आन्तरिक अवस्था चाहिँ कस्तो छ त ? यसका सवल पक्ष के हुन् र कमजोरीहरु कस्ता छन् भनेर ठम्याउन सकियो भने सबल पक्षलाई दुईगुणा गर्दै जाने र कमजोरीहरुलाई कम गर्दै शून्यमा झार्न प्रयत्न गर्ने कुराले नै हाम्रो सहकारी अभियान सही दिशामा अगाडि बढने छ । त्यसैले यसका कमजोरीको चर्चा गर्दा यसलाई नकारात्मक दृष्टिले हेरिनु हँुदैन ।

सहकारी अभियानका सबल पक्षको चर्चा यहाँ धेरै नगर्दा नै हुन्छ । यो लेखको उद्देश्य कमजोरीको उत्खनन् गरेर त्यसलाई सच्याउनु रहेको छ । माथि चर्चा गरिएको र आवरणमा देखिएको प्रभाव सबै सवल पक्ष हुन् । बचतका कार्यक्रम सञ्चालन गरेर साधारण मानिसमा पुँजी निर्माण गर्न सकिन्छ भन्ने विश्वास जगाउन सफल भएको छ । साधारण मानिसलाई चाहिने कर्जा सहज उपलब्ध गराउन सकेको छ । राष्ट्रिय पुँजी निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । सामाजिक तथा लैङ्गिक विभेद कम गर्न र पहुँच बढाउनमा निकै ठूलो योगदान गरेको छ ।

कमजोरीहरु के–के हुन् ?

सबै कमजोरीको यहाँ सविस्तारमा चर्चा हुन सम्भव छैन । विगतमा केही थोरै वित्तीय सहकारीहरु कारोवारमा असफल हुँदा त्यसको छिटा पुरै नेपालको सहकारी अभियानमा पर्न गयो । अहिले पनि झण्डै १० अर्ब (६ अर्ब ओरियण्टल सहकारीको मात्रै) निक्षेप सहकारीले फिर्ता गर्न नसकेको अनुमान गरिएको छ । अहिले यो खालको समस्या धेरै र ठूलो आकारमा नदेखिए पनि भविष्यमा यस्तो अवस्था आउँदैन भन्न सकिने अवस्था छैन । अभियानको नेतृत्व गरिरहेका सबै होइन, तर केही नेताका सहकारीको अवस्था नै राम्रो छैन भन्ने सुनिएको छ । विशेषगरी वित्तीय कारोवार गर्ने सहकारीहरुमा सुशासनको अभाव देखिएको छ । सञ्चालक र सीमित कर्मचारीको मनोमानीमा संस्था चलेको भन्ने सुनिन आएको छ ।

यस्ता संस्थामा सञ्चालकले सदस्यको पक्षमाभन्दा पनि आफ्नो अनुकूलतामा सहकारी संस्थाहरु सञ्चालन गर्ने गरेको भन्ने सुन्नमा आएको छ । नीति, विधि अनुसार नचलेका सहकारीहरुको नियमन गर्ने, सुझाव दिने र सिद्धान्त अनुरुप भए÷नभएको हेरेर सुधारको बाटोमा हिँडाउने संयन्त्र मुलुक संघीयतामा गएपछि तत्काललाई निकै कमजोर भएको छ । त्यही कुराको भेउ पाएर हुनुपर्छ काठमाडौंमा भएको नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)को साधारणसभाका वक्ता सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली र सहकारी विभागका रजिस्ष्टार डा. टोकराज पाण्डेले सहकारी संघ–संस्थामा सुशासन, सहकारी सिद्धान्तको प्रयोग र सहकारीको उद्देश्यलाई व्यवहारमा ठिक तरिकाले प्रयोग गर्न चुकियो भने अहिले देखिएको अभियानको आकर्षण र उचाई नरहने प्रष्ट पारेका छन् । नियमक निकायमा भएकाहरुको यो भनाई एक प्रकारले अभियानमा लाग्नेहरुलाई चेतावनी पनि थियो । यो त्यत्तिकै र बिना आधार उहाँहरुले बोलेको हो भन्ने म सहकारीको कखरा सिक्न चाहनेलाई लागेको छैन ।

अहिले नेपालको राजनीतिक तथा सामाजिक अवस्था नै कस्तो छ भने भएका धेरै संघ–संगठन, संस्था, पार्टी, सार्वजनिक महत्वका निकाय आदिमा पारदर्शिता र सुशासनको अभाव छ । यो त्यहाँ हुने नेतृत्वको इमान्दारिताको कुरा हो । धेरै ठाउँमा भएको पद्धति भत्काएर र बिगारेर कतिपय उपल्लो तहका कर्मचारी एवम् नेता नै आफ्नो अनुकूलको निर्णय तथा काम गर्ने चाहना राख्छन् । सुशासन र विधिको शासन लागू गर्ने र लागू हुने अवस्था भनेको नेतृत्वमा रहनेहरुको इच्छाशक्ति, त्याग, निरन्तरको प्रयास, कमजोरी माथि निर्मम प्रहार आदिमा भरपर्ने गर्छ । नीति विधिको पूर्णपालना हुँदा व्यक्तिका व्यक्तिगत स्वार्थहरु पूरा हुन सक्दैनन् । बरु सामुहिक हित र संस्थागत हितको रक्षा हुन्छ । हाम्रो जस्तो समाजमा व्यक्तिका महत्वकांक्षा र स्वार्थ नजोडिएको नेतृत्व पाउन मुस्किल पर्छ । जो मरिहत्ते गरेर नेता हुन चाहन्छन् तिनमा धेरै व्यक्तिगत स्वार्थ भएको देखिएको छ ।

तर, जो इमान्दार र स्वच्छ छविका छन् ती नेताहुन लडाई झगडा गर्र्दैनन् । जो झगडा, तिकडम्, जोरजुलुम, चाकडी आदि गरेरै भए पनि नेता हुन मरिहत्ते गर्छन् । तीनमा इमान्दारिता, सुशासन र स्वच्छ छविको अभाव अहिलेको तितो यथार्थ हो । जब यो प्रवृत्ति समाजमा, राजनीतिमा जताततै छ भने सहकारीमा नहुने कुरै भएन । सहकारीको पनि प्रारम्भिक सहकारीमा नेतृत्वका बारेमा जति समस्या छ त्योभन्दा धेरै समस्या जिल्ला, प्रदेश हँुदै केन्द्रमा झन् धेरै छ । जसको आफ्नै प्रारम्भिक सहकारी संस्थामा सुशासन कायम भएको छैन तिनले नेता भएर अरुका सहकारीमा अर्थात् सबै सहकारीमा अनुशासन र नितिविधिको पालना गराउने नैतिक बल नै राख्न सक्दैनन् ।

नेपालमा सफल भनिएका, देखिएका र प्रभावशाली बन्दै गएका भनेको धेरैजसो वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरु हुन् । त्यस्ता संस्थामा नेतृत्व स्वार्थी, अपारदर्शी भयो भने संस्था जोखिममा पर्छ । संस्था जोखिममा पर्नु भनेको सदस्यको निक्षेप, सदस्यको सम्पत्ति जोखिममा पर्नु हो । कतिपय संस्थामा सञ्चालकको निश्क्रियता र असक्षमताले पनि संस्था जोखिममा पर्न सक्छन् । कतिपय संस्थामा सञ्चालकहरुको आपसी अविश्वास र टकरावका कारण पनि समस्यामा परेका हुन सक्छन् । यस्तै अर्को कारणमा संस्थाको निक्षेपलाई कमाउने गरी सदस्यलाई लगानि गर्नुपर्नेमा ठूलो देखिन र देखाउन औकातभन्दा ठूलो घर बनाउने र धेरै स्थिर सम्पत्ति जोड्ने कारणले पनि संस्थामा जोखिम हुन्छ । यस्ता कारणको पत्ता लगाएर निर्देशन दिने, सम्झाउने, जोखिममा पर्नबाट जोगाउने निकाय लगभग निश्क्रिय जस्तै छन् । यो बेलामा सहकारीको जोखिम झन् धेरै बढेको छ । हुन त सहकारीमा सदस्यले नै नियमन गर्ने र निर्देशन दिने निकाय, संयन्त्र हुन्छ । बनाउने गरिन्छ, तर त्यो प्रभावकारी हुन सकेको छैनभन्दा हुन्छ ।

अहिले पनि अवस्था कस्तो छ भने धेरै सहकारीहरु सदस्यको भन्दा पनि सीमित सञ्चालकको कब्जामा छन् । सदस्यहरु पनि कुनै एउटा संस्थालाई आफ्नो ठानेर आपूm सदस्य भएको संस्थामा योगदान गर्ने, चासो राख्ने, संस्थाको बारेमा बुझ्ने, असल नेतृत्व निर्माणमा योगदान गर्ने, आपैm नेतृत्व लिन प्रयास गर्ने गर्दैनन् । बरु दुई–चार वटा संस्थामा सदस्य बनी राख्ने । कुन संस्थाले कति बढी नाफा बाढ्यो, बाढ्छ भनेर दौडिने प्रवृत्ति हावी छ । त्यसो त धेरै संस्थाले राम्रो नै गरेका छन्, तर यी र यस्ताखालका कमजोरीलाई सच्याउन सबैको ध्यान नजाने हो भने कुनै पनि समयमा सहकारीमा ठूलै खैलाबैला हुने र पहिरो जाने खतरालाई नकार्न सकिँदैन । यदि यस्तो अवस्था आयो भने त्यसले वित्तीय क्षेत्रमा ठूलो विपत्ति नै सृजना नगर्ला भन्न सकिँदैन । त्यसैले सहकारीको अभियानलाई सही बाटोमा उद्देश्य र सिद्धान्त अनुरुप हिँडाउन सबैले बेलैमा यथोचित प्रयास गर्नैपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here