चीनबाट सिक्ने कुरा

१७ माघ २०७६, शुक्रबार मा प्रकाशित

सम्पादकीय

एसिया महादेशमा शक्ति राष्ट्रका रुपमा स्थापित चीनले भौतिक विकासमा पनि किर्तिमान बनाउन थालेको छ । पछिल्लोपटक पाँच दिनमा एक हजार जना विरामीलाई एकसाथ बेडमा राखेर उपचार गर्न सक्ने अस्पताल सञ्चालन नै गरेर यस्तो किर्तिमान बनाएको हो । विश्वकै नौलो मानिएको कोरोना भाइरसको संक्रमणका कारण झण्डै दुई सय मानिसको ज्यान गइसकेको सन्दर्भमा चीनले सोही संक्रमणमा परेकाहरुका लागि मात्रै उपचार गर्ने गरी अस्पताल सञ्चालन गर्ने निर्णय ग¥यो । त्यसलगत्तै पाँच सय कामदारहरुले अहोरात्र खटेर निर्धांरित समयसीमा अगावै अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

एक हजार शैय्या रहेको अस्पताल मंगलबारदेखि सञ्चालन भएको छ, जहाँ कोरोना भाइरसबाट संक्रमितहरुको उपचार हुन थालेको छ । अस्पतालमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारसहितको अत्याधुनिक प्रविधि र उपकरण जोडिएको छ । यसले चीन सरकार आफ्ना नागरिकको सुरक्षाका लागि सदासर्वदा प्रतिबद्ध छ भन्ने देखाउँछ । यही अवस्था र जिम्मेवारीबोधसहित अग्रसरता नेपालका शासकहरुले पनि देखाउन सके देशको मुहार उजिल्याउन समय लाग्ने थिएन । छ हजार जनामा कोरोना भाइरसको संक्रमण फैलिँदासम्ममा चीन सरकारले देखाएको यो गतिशीलता र जिम्मेवारीप्रतिको समर्पित भाव हाम्रा नेताहरुमा पनि सञ्चार होस नागरिकको अपेक्षा छ ।

हाम्रो देशमा कुनै पनि विकासका आयोजनाहरु निर्धारित समयसीमाभित्र सम्पन्न भएको उदाहरण भेट्न पाइँदैन । जबकि हाम्रा अगुवा, जनप्रतिनिधि र सरकारमा सामेल दल र व्यक्तिहरु चीनबाटै प्रेरित छन् । अझ यसबेला इतिहासकै बलियो सरकारले देशको ‘बागडोर’ सम्हालेको छ । स–सानादेखि ठूल्ठूला विकास निर्माणका कार्यहरु अत्यन्त सुस्त गतिमा छन् भने कतिपय गतिहीन छन् । यथासमय निर्माण सम्पन्न नगर्नेहरु शासन–सत्ताका नजिक घुमिरहन्छन् । त्यसैले उनीहरुले दण्डित हुनु पर्दैन । विकासमा तीव्रता चीनको आह्रिस गर्नुपर्ने विषय हो, जस्ताको तस्तै नक्कल गर्नुपर्ने घटना हो, तर त्यसको स्पर्शले पनि पोल्छ नेतृत्व वर्गलाई ।

बिर्तामोड–गरामनी सडकखण्डको दुर्दशाले हाम्रो नेतृत्वलाई अझै गिज्याएको छैन । अनेक विरोध, दवाव, प्रदर्शन र प्रकाशन–प्रशारणले पनि सम्बद्ध निकाय र सरोकार पक्षलाई सजग तुल्याउन सकेको छैन । सानो निर्माण कार्यमा भएको यस्तो लापरवाही, गैरजिम्मेवार भूमिकामा लज्जाबोध नगर्ने हाम्रा अगुवाहरुले हजार शैय्याको अस्पताल पाँच दिनमै सञ्चालनमा ल्याउने चिनीया सरकारको कर्मबाट ऊर्जा प्राप्त नगर्ने हो भने उसको खकिलामा रमाउने विचार त्यागे हुन्छ । दश दिनको काम पाँच दिनमा सञ्चालनमा ल्याउने चीन सरकारको यो कर्मठता हाम्रा अगुवाहरुमा सरोस्, वाद र विचारले मात्र समृद्धि र सुशासन आउँदैन भन्ने हेक्का रहोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here